चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनबीच औपचारिक सहमति, सिट बाँडफाँटको लागि कार्यदल गठन, गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने भद्र सहमति

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता-साझेदार दलहरूबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय भयो । तालमेलका लागि फेरि बैठक बस्छ । व्यवस्थित र न्यायपूर्ण तालमेल गर्ने सहमति भएको छ ।’

तालमेल गर्ने औपचारिक निर्णयमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ । बैठकमा नेताहरूबीच गठबन्धनमा आबद्ध दलबाहेक अन्य दलसँग तालमेल नगर्ने भद्र सहमति भएको छ ।

गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले साउन २ गते सम्पन्न केन्द्रीय समिति बैठकबाट आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने संस्थागत निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रको गत साता बसेको स्थायी कमिटी बैठकले पनि वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेको थियो । नेकपा एकीकृत समाजवादीको साउन ३ गते बसेको सचिवालय बैठकले पनि वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गर्दा जनता समाजवादी पार्टीको गत असार अन्तिम साता वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले वर्तमान पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको थियो । सरकारले बिहीबार मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा गरेको थियो ।

सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन
चुनावी तालेमल गर्ने औपचारिक निर्णय गरेको सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । गठबन्धनले भदौ पहिलो साताभित्र सिट बाँडफाँटको खाका तयार गर्ने म्याण्डेटसहित कार्यदल गठन गरेको हो । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाउन कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई-दुई जनाको प्रतिनिधित्व रहने गरी ११ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । कार्यदलमा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र वर्षमान पुन हुनुहुन्छ भने नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा हुनुहुन्छ । कार्यदललाई भदौ पहिलो साताभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन बुझाउन भनिएको छ । प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबण्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।

सिट बाँडफाँटमा चुनौती
सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि सत्तारूढ पाँच दलीय गठबन्धन सिट बाँडफाँटको गृहकार्यमा जुटेको छ । प्रतिनिधिसभाका १६५ र प्रदेशका ३३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भए पनि सहमति जुटाउन सत्ता गठबन्धनलाई निकै चुनौती छ । एकातिर सत्ता गठबन्धनभित्रै सिटका लागि रणनीतिक प्रतिस्पर्धा छ भने अर्कातर्फ पार्टीहरूमा आन्तरिक व्यवस्थापन मिलाउने चुनौती छ । सत्ता गठबन्धनका सबै दलमा आन्तरिक शक्ति सन्तुलन मिलाएर भागबण्डा गर्ने जटिलता पनि उत्तिकै छ । गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा यो समस्या अझ बढी छ । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षीय नेताले गठबन्धन गरेर चुनावमा जाने निर्णयलाई सहज रूपमा अझै स्वीकार गरेका छैनन् । माओवादी र एकीकृत समाजवादीभित्रको एउटा समूह अझै पनि वाम गठबन्धनको पक्षमा छ ।

माओवादी केन्द्रमा वर्षमान पुन, देव गुरुङ लगायतका नेताहरू अझै पनि वाम एकताकै पक्षमा छन् । नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाल समूह पनि वाम तालमेलकै पक्षमा छ । कुन पार्टीले कति सिट पाउने निक्र्योल भएपछि पनि कहाँ-कहाँ पाउने भन्ने अर्को जटिलता आउने देखिन्छ । विवेकपूर्ण ढंगले गठबन्धनमा सिट बाँडफाँट हुने जिकिर गर्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘कार्यदलले तयार पारेको ढाँचाका आधारमा न्यायोचित हिसाबमा सिट बाँडफाँट हुन्छ । विवादरहित ढंगले सिट व्यवस्थापन गर्ने र गठबन्धनलाई व्यवस्थित गर्ने दिशामा हाम्रो ध्यान केन्द्रित भएको छ । स्थानीय तहको निर्वाचन र अघिल्लो संसदीय निर्वाचनमा प्राप्त मत र स्थानीय स्थितिलाई समेत आधार मानेर सिट बाँडफाँटको ढाँचा तयार हुन्छ ।’

अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् । २०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउने कतिपय नेताहरूको भनाइ छ । कार्यदलले मापदण्ड तय गरेपछि मात्र सिट बाँडफाँटको काम सुरु हुन्छ । १६५ निर्वाचन क्षेत्रमध्ये ९९ सिट आफूलाई राख्ने गरी तालमेलको प्रस्ताव अगाडि सार्ने कांग्रेसको तयारी छ । यता, माओवादी केन्द्रको ५० सिटको दाबी गर्ने तयारी रहँदा एकीकृत समाजवादी २५ र जसपा १५ सिट पाउनुपर्ने अडानमा छन् । राष्ट्रिय जनमोर्चाको एउटा सिट निश्चित जस्तै छ । बाबुराम भट्टराईको नेतृत्वमा नवगठित नेपाल समाजवादी पार्टीलाई पनि समेटेर जानुपर्ने गठबन्धनलाई चुनौती छ ।

निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत : रावल
सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै दिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भीम रावलले गठबन्धनका दलहरूले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत भएको टिप्पणी गर्नुभएको छ । गठबन्धनमा आबद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएकोले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत हुने जिकिर गर्दै नेता रावलले भन्नुभयो, ‘आमनिर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ । अहिले जो जो नेताहरू त्यो पाँच दलको सबैभन्दा माथिल्लो तहमा हुनुहुन्छ । उहाँहरूले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरूले यो दलीय प्रतिस्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरूको प्रतिबद्धता थियो भन्ने कुरा यतिबेला उहाँहरूले स्मरण गर्नुपर्छ ।’

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता गर्ने सहमति
तत्कालीन नेकपा माओवादीमा रहेका दुई कम्युनिष्ट घटकबीच एकता हुने भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेकपा बहुमतबीच पार्टी एकता हुने भएको हो । शुक्रबार दुवै पार्टीका शीर्ष नेतृत्व सहभागी बैठकमा पार्टी एकता गर्ने सहमति भएको छ । बैठकपछि महासचिव वैद्य र संयोजक बास्तोलाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा पार्टी एकताका लागि संयोजन समिति गठन गरिएको जनाइएको छ । नेकपा बहुमतका संयोजक बास्तोलाले दुवै पार्टीबाट ६-६ जना गरी १२ जनाको संयोजन समिति बनाएको जानकारी दिनुभयो । समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहनुभएको छ । नेकपा बहुमतबाट समितिमा संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी रहनुभएको छ । तत्कालीन नेकपा माओवादीबाट पहिलोपटक वैद्य समूह २०६९ साल असार ४ मा विभाजित भएको थियो । शान्ति र संविधानको बाटो कि जनविद्रोहमा जाने ? भन्ने विषयले माओवादीमा विभाजन शृंखला सुरु भएको थियो । नेकपा बहुमत भने अघिल्लो महिना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?