हाम्रो नाम निर्धारणको तात्पर्य

Read Time = 14 mins

✍️ डा. नारायणप्रसाद निरौला
व्यक्तिलाई परिचित गराउने संज्ञा नाम हो । हाम्रा थुप्रै नाम छन् । ती नामका भिन्नाभिन्नै अर्थ पनि रहेका छन् । सामन्यतः नामकरण (न्वारन) गरेर नाम राख्ने हाम्रो परम्परा रहेको छ । यसरी नामकरण संस्कार गर्नुपूर्व उक्त नाम ज्योतिषय गणना पद्धतिअनुसार गणना गरिन्छ र सोही आधारमा संस्कारकर्मपूर्वक नाम निर्धारण गरिन्छ । यसरी निर्धारण गर्ने नामको वैज्ञानिक आधार के हो ? ज्योतिषशास्त्रनुसार नामको निर्धारण कसरी गरिन्छ भन्ने विषयका साथै नाम निर्धारणसम्बन्धी ज्योतिषीय उपपत्ति यो ओखमा प्रस्तुत रहनेछ ।

सामन्यतः ज्योतिषीले हिसाब गरेर जुराएको नाम राखिन्छ भन्ने पनि उत्तर हुनसक्छ । तर, ज्योतिषीले नाम जुराउने आधार के हो ? किन त्यही अक्षरबाट नाम राखियो भन्ने विषयमा पनि जिज्ञासा रहनसक्छ । हाम्रो नामसँग आकाशीय ग्रह तारा अन्तर्निहित रहेका छन् । हाम्रो नामले दिक (दिशा), देश (स्थान) र काल (समय) को पनि प्रतिनिधित्व गरिरहेको हुन्छ । यसरी अन्तरिक्षसँग पनि हाम्रो नामको अन्तरसम्बन्ध रहेको छ । सामान्यत संसारमा सबैले आफ्ना देवी देवताका नामबाटै आफ्ना सन्ततिको नाम राख्ने चलन पाइन्छ । वैदिक विधि विधानअनुसार राखिने नाम पनि देवी देताकै नामबाट राखिन्छन् । शास्त्रमा पनि यस्तै प्रमाण पाइन्छ । जसका पछाडि अन्तरिक्षका साथै भूगोलको पनि आत्मिक तत्त्वसँगको साक्षात्कार अन्तर्निहित रहेको छ । ज्योतिषशास्त्रअनुसार नक्षत्रका आधारमा नामको निर्धारण गरिन्छ । नक्षत्र भनेका आकाशका ताराका समूह हुन् । आकाशमा असङ्ख्य तारा छन् ।

आकाशीय तारामण्डलअन्तर्गत जुन नक्षत्रमा चन्द्रमा पुग्छन् सोही नक्षत्र उक्तदिनको प्रतिनिधित्व गर्ने हुन्छ । अश्विनी नक्षत्रका दिन चन्द्रमा पनि अश्विनी नक्षत्रमा नै पुगेका हुन्छन् । जसको प्रत्यक्ष अवलोकन आकाशमा गर्न सकिन्छ ।

तीमध्ये हाम्रो पृथ्वीको वरिपरि दृष्टिपथमा आउने विशेष तारपुुञ्जको समूहलाई आधार मानेर स्वरूप र आकृति सदृश नक्षत्रको नामकरण गरिएको छ । यिनै नक्षत्रको समूहलाई राशि भनिन्छ । अर्थात् ताराको समूह मिलेर नक्षत्र र नक्षत्रको समूह मिलेर राशि बन्ने गर्दछ । वर्षौसम्म एउटै स्थामा स्थिर रहने भएकाले ‘न क्षरतीति’ अर्थात् नचल्ने तारा विशेषलाई नक्षत्र भनिएको हो । आकाशमा ग्रहकक्षाभन्दा माथि नक्षत्रको कक्षा रहेको छ । पृथ्वीको वरिपरि रहेका विशेष ताराका २७ समूह नक्षत्र हुन् । आकाशको वरिपरि ३६० अंशमध्ये एक नक्षत्रले ३ अंश (डिग्री) २० कला (मिनेट) को कोणीय अवस्थितिलाई प्रतिनिधित्व गर्ने गर्दछ ।

यसैगरी एक राशिमा ३० अंश हुन्छ । यसरी हेर्दा एक राशिअन्तर्गत दुई नक्षत्र र तेस्रो नक्षत्रको एक चौथाई मान आउन जान्छ । नक्षत्र स्थिर रहन्छन् । प्रवह नामको वायुले स्थिर नक्षत्रसहितको आकाशीय परिवृत्तलाई दिनमा एक फन्को पश्चाभिमुखी (घडीको सुईको दिशातिर) घुमाइरहेको हुन्छ । यसैले प्रतिदिन सूर्योदय हुने गर्दछ । यो क्रम निरन्तर चलिरहन्छ । आधुनिक मतमा भने पृथ्वी घुम्छ र प्रवह वायुको परिकल्पना छैन । यसरी रहने आकाशीय तारामण्डलअन्तर्गत जुन नक्षत्रमा चन्द्रमा पुग्छन् सोही नक्षत्र उक्तदिनको प्रतिनिधितव गर्ने हुन्छ । अश्विनी नक्षत्रका दिन चन्द्रमा पनि अश्विनी नक्षत्रमा नै पुगेका हुन्छन् । जसको प्रत्यक्ष अवलोकन आकाशमा गर्न सकिन्छ ।

घोडाको स्वरूप जस्तो आकृति अश्विनी नक्षत्रको छ । यसैले यसको नाम अश्विनी रहेको हो । यस्तै २७ वटै नक्षत्रका स्वरूप र आकृतिअनुसारका नाम रहेका छन् । यसरी नक्षको एक चक्रलाई चन्द्रमाले परिभ्रमण गरिसकेपछि एक चान्द्र महिना हुन्छ । चन्द्रमा जुन नक्षत्रमा रहन्छन् सोही नक्षत्रबाट हाम्रो नाम पनि निर्धारण गरिएको हुन्छ । चन्द्रमा अश्विनी नक्षत्रको पहिलो चरणमा जुन समयमा रहन्छन् उक्त समयमा जन्म लिने व्यक्तिको नाममा पनि सोही नक्षत्रको सोही चरण हुन्छ । जस्तो अश्विनी नक्षत्रको पहिलो चरणमा चन्द्रमा पुगेका छन् भने उक्त समयमा जन्मलिने व्यक्तिको नाम ‘चू’ बाट हुन्छ । यसरी नाम रहनुमा आकाशीय नक्षत्र तारा र चन्द्रमा प्रत्यक्ष साक्षी रहेको कुरा जान्न सकिन्छ । हाम्रो नाम कुनै काल्पनिक आधारमा राखिएको हुँदैन । कुन तारामा चन्द्रमा पुगेका छन् सोही आधारमा मात्र निर्धारण हुन्छ । यसरी निर्धारण गर्ने माध्यम स्वर हुन् । हाम्रो व्यवहार भाषामार्फत् चलेको छ । भाषामा स्वर र व्यञ्जन वर्ण छन् । यिनै स्वर र व्यञ्जन वर्णले सम्बोधन गर्ने संज्ञा विशेष नै नाम हुन् । जसले व्यक्तिको ऐतिहासिक अवस्थितिको अंकनका साथै आफ्नो पूर्ण खगोलीय एवं भूगोलीय पहिचान पनि वहन गरेको हुन्छ । उक्त नक्षत्रमा कहिले चन्द्रमा पुगेका थिए भन्ने कुराको गणना पनि सहजतः जान्न सकिन्छ ।
पृथ्वीको कुन स्थानबाट, कुन समयमा कहिले चन्द्रमा उक्त नक्षत्रको स्थानमा थिए र उक्त अवस्थाको कोणीय स्वरूप के हो भन्ने बारेमा पनि सहजतः पहिचान गर्न सकिन्छ । यसैले हाम्रो नाम निर्धारणमा आकाशीय ग्रह तारा साक्षीका रूपमा रहने गर्दछन् । नामका अक्षर राख्ने पनि विशिष्ट आधार छन् । हाम्रा नाम १०८ वटा अक्षरमध्येबाट नै निर्धारण भएको हुन्छ । २७ नक्षत्रका चार पाउ हुन्छन् । २७×४=१०८ । १०८ अक्षरको प्रतीक हो । १+०+८=९ हुन्छ । नौ अङ्कलाई पूर्णाङ्क परब्रहृमको प्रतीक मानिन्छ । ब्रहृमस्वरूप नौ अङ्कमा नै व्यप्त छ । व्यवहारमा पनि अङ्क जम्मा नौवटा नै छन् । यिनै नौ अङ्कमा सम्पूर्ण गणना केन्द्रित रहन्छन् । शून्य स्वतन्त्र अङ्क होइन ।

यसैले अवकहडा चक्रमा पनि यही व्यवस्थालाई केन्द्रीकृत गरिएको छ । अभिजित् नक्षत्रलाई स्वतन्त्र नक्षत्रको संज्ञा दिइएको छैन । उत्तराषाढाको अन्तिम चतुर्थांश (१५ घडी) र श्रवणको प्रथम पञ्चदशांश (४ घडी) मिलेर अभिजित नक्षत्रको मान १९ घडी हुन्छ । अभिजित नक्षत्रको छुट्टै स्वतन्त्र अस्तित्व नभएकाले नक्षत्र संख्या २७ नै हो । नक्षत्रका स्वमी चन्द्रमा हुन् । यसैले चन्द्रमा जुन नक्षत्रको जुन खण्डमा पुग्छन् सोही नक्षत्रको चरण नै व्यक्तिलाई सम्बोधन गर्ने समय र उक्त समयलाई सम्बोधन गर्ने नाम हुन्छ ।

यसैगरी स्वर र व्यञ्जन वर्णको पनि विशिष्ट महत्व रहेको छ । स्वर र व्यञ्जनको स्तम्भ निर्माण गरी उक्त स्तम्भमा पर्ने स्वर कृत्तिका नक्षत्रबाट क्रमशः निर्धारित छन् । स्वरलाई चन्द्र र सूर्यको स्वरूप मानिन्छ । सूर्यमा तापीय र चन्द्रमामा शीतलीय वृत्ति विद्यमान छ । शिवस्वरोदयमा स्वरमा ईश्वरको वास हुन्छ भनिएको छ । चन्द्रमा र सूर्यको माध्यमले हाम्रो प्राणवायु चल्ने गर्दछ । (स्कन्दपुराण) स्वरद्वारा नै नामको सम्बोधन गरिन्छ । यसैले नामसँग स्वरको विशेष सम्बन्ध रहने गर्दछ । नाम स्वरमार्फत् उच्चारण गरिने र उक्त उच्चारण गरिने नामका पछाडि व्यक्तिको दिक्, देश र कालको पनि स्वतः प्रतिनिधित्व हुने भएकाले नाममा नक्षत्र, चन्द्रमा आदि खगोलीय विषयवस्तु अन्तर्सम्बन्धित रहने गर्दछन् ।

पृथ्वीको कुन स्थानबाट, कुन समयमा कहिले चन्द्रमा उक्त नक्षत्रको स्थानमा थिए र उक्त अवस्थाको कोणीय स्वरूप के हो भन्ने बारेमा सहजतः पहिचान गर्न सकिन्छ । यसैले हाम्रो नाम निर्धारणमा आकाशीय ग्रह तारा साक्षीका रूपमा रहने गर्दछन् ।

हामीले लिने श्वास र त्याग गर्ने प्रश्वासबाटै स्वरको निर्माण हुन्छ । जसमा सूर्य र चन्द्रत्त्व विद्यमान रहेका हुन्छन् । सूर्य चन्द्रतत्व रहनु भनेको स्वरमा ऊर्जाको प्रवाह हुनु हो । उक्त ऊर्जामा व्यक्तिको पहिचान अन्तर्निहित हुने गर्दछ । स्वासप्रशसमा वहने नाडीले स्वरको उदय गराइरहेका हुन्छन् । यसैले नाममा स्वरको उपयोग गरिएको हो जसले अनन्त ऊर्जाको प्रवाह गरिरहेको हुन्छ । यसरी व्यक्ति जन्मेको दिक् देश र कालसहित आकाशमा कुन नक्षत्र ताराका समीपमा चन्द्रमा छन् सोही आधारमा हाम्रो नामको निर्धारण हुने गर्दछ । कुनै नक्षत्रको कुनै चरण भन्नु भनेको उक्त जन्मस्थानबाट आकाशीय परिवृत्तमा चन्द्रमा उक्त नक्षत्रको सोही चरणमा विद्यमान हुनु हो । यसरी रहने नाक्षत्रीय अवस्थितिका आधारमा हाम्रा नाम निर्धारण भएका हुन्छन् । जसलाई ज्योतिषका सूत्रमार्फत् गणित गरिन्छ । उक्त गणनाले जुन नक्षत्रको जुन चरण मिल्छ सोही चरणबाट नाम निर्धारण हुने गर्दछ ।

यसरी गणना गरिसकेपछि नामको वास्तविक स्वर एवं अक्षरको पहिचान भएपछि विधिपूर्वक नामकरण संस्कार सम्पादन गर्नुपर्दछ । जसलाई न्वारन भनिन्छ । जन्म भएको एघारौँ दिनमा नामकरण संस्कार गर्नुपर्ने शास्त्रीय विधि निर्देश पाइन्छ । सोही आधारमा सुनको शलाकाले पीपलको पातमा नाम लेख्ने र श्रवण गराउने पद्धति रहेका छन् । जसले पनि व्यक्तिको वास्तविक पहिचानाई वहन गरेको हुन्छ । यही जन्मसमयका आधारमा अन्य ग्रहको अवस्थिति र तद् आधारमा व्यक्तिको फलादेश पनि हुने गर्दछ । मूलतः नामले व्यक्ति, भूगोलीय अवस्थिति र खगोलीय परिचयको पनि प्रतिनिधित्व गराएको हुन्छ । जसमा सूर्य र चन्द्रमाको नित्य ऊर्जा प्रवाहित भएको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?