पुस्तक : ‘देशको चित्र’ : पण्डितको लघुकथासंग्रह

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ सुशीला घिमिरे

रामकुमार पण्डित क्षेत्री नेपाली साहित्यका एकजना समर्पित साहित्यकार हुनुहुन्छ । उहाँका कथा, कविता र समीक्षाहरू प्रकाशित हुँदै आएका छन् । यसैक्रममा सबैभन्दा पछिल्लो पटक हालै उहाँको लघुकथासंग्रह प्रकाशित भएको छ ‘देशको चित्र’ शीर्षकमा । डिएमआई साइजको यस पुस्तकको प्रकाशक लघुकथा समाज बागमती प्रदेश समितिका लागि सुनिता पण्डित क्षेत्री रहनु भएको छ । सर्वाधिकार रचनाकारमा रहेको यस पुस्तकको यो प्रथम संस्करण हो जुन २०७९ सालमा प्रकाशित छ र यो १००० प्रति प्रकाशित भएको छ । पुस्तक ग्लोबल प्रिन्ट कनेक्सन प्रालिमा मुद्रण भएको छ ।

पुस्तकको छपाइ स्तरीय छ । अशुद्धिहरू कमै मात्र फेला पर्छन् । यस पुस्तकको आवरण चित्र टङ्कबहादुर आलेले तयार पार्नुभएको छ भने आवरण सज्जा वसन्तराज अज्ञातद्वारा तयार पारिएको छ । पुस्तकमा तौलयुक्त पहेँलो कागजको प्रयोग भएको छ । यो पुस्तक भूमिका खण्डसहित ११६ पृष्ठको छ र यसको मूल्य २५० रुपैयाँ राखिएको छ । भूमिका खण्डमा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको ‘हार्दिक शुभकामना’, लघुकथा समाज बागमती प्रदेश समितिका अध्यक्ष डा.विदुर चालिसेको ‘प्रकाशकीय’, त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रध्यापक डा.लक्ष्मणप्रसाद गौतमको ‘युगीन यथार्थपरक लघुकथाकृति–देशको चित्र’ र यस पुस्तकका लेखक रामकुमार पण्डित क्षेत्रीको ‘मेरो भनाइ’ छन् ।

यसपछि लघुकथा क्रम रहेको छ । पुस्तकमा ७२ वटा लघुकथाहरू छन् । जसमा एक शब्दका शीर्षक भएका ३८, दुई शब्दका शीर्षक भएका ३०, तीन शब्दका शीर्षक भएका तीन र चार शब्दका शीर्षक भएका एकवटा लघुकथा छन् । यसबाट लेखक पण्डितको आफ्ना लघुकथाहरूमा छोटा-छोटा शीर्षक राख्ने प्रवृत्ति रहेको पाइन्छ । यसैगरी उहाँका कथाको फैलावट हेर्दा एकै पृष्ठमा अटेका लघुकथाहरू ४६ वटा र दुई पृष्ठसम्म फैलिएका २६ वटा लघुकथा छन् । आवरणमा सेतो मधुरो पृष्ठभूमिमा मानिसको हत्केलो राखिएको छ र हत्केलामा नेपालका विभिन्न प्रदेश विभिन्न रङमा दिइएका छन् । हातका पाँच आंैलामा नेपालका विभिन्न जात, लिंग र क्षेत्रको प्रतिनिधित्व हुनेगरी मानव आकृति दिइएको छ ।

यस संग्रहमा समावेश भएका लघुकथाहरूले नेपालको अर्थव्यवस्था, नेपाली संस्कार र संस्कृति, मानव स्वास्थ्य र मानव जीवन, मानव व्यवहार, राष्ट्र र राष्ट्रियता, प्रविधि, अध्यात्म, आडम्बरप्रति छेडाछाड, प्रकृति, विकृति र विसंगति, वैदेशिक सम्बन्ध, प्राणी, वनस्पति जस्ता विविध विषय समेटिएर आएका छन् ।

पृष्ठ आवरणमा लघुकथाकार पण्डितको फोटोसहितको चिनारी दिइएको छ । जसअनुसार उहाँ २०३२ साल साउन १ गते काठमाडौंको बौद्ध सिमलटारमा पिता विनोदकृष्ण पण्डित क्षेत्री तथा माता नारायणीका पुत्रका रूपमा जन्मिनु भएको हो भन्ने थाहा हुन्छ । उहाँले स्ननातकोत्तर पूरा गर्नुभएको छ भन्ने पनि यहाँबाटै जानकारी पाइन्छ । उहाँले यो समेत विभिन्न विधाका ६ वटा पुस्तक लेखेर प्रकाशन गर्नुभएको छ भने विभिन्न पाँचवटा पत्रपत्रिकाको सम्पादनको जिम्मेवारी पूरा गर्नुभएको छ । लेखा व्यवसायीका रूपमा कार्यरत पण्डित दर्जनौं साहित्यिक संघसंस्थामा संलग्न हुनुहुन्छ । उहाँ अन्य गैरसाहित्यिक संघसंस्थामा समेत संलग्न हुनुहुन्छ । उहाँले विभिन्न मानसम्मान तथा पुरस्कार पाउनु भएको जानकारीसमेत यस पृष्ठबाट पाउन सकिन्छ ।

रामकुमार पण्डितको यस पुस्तकमा रहेका लघुकथामध्ये धेरैजसो विभिन्न पत्रिपत्रिकामा पहिले नै प्रकाशित भइसकेका छन् । नारीस्वर, कपन–बानेश्वर, बैजयन्ती, कौशिकी, प्रहरी, शब्द संयोजन, सौर्य दैनिक, सम्प्रेषण, इरामयाब, सुलेख, बनिता, नागरिक आवाज, युवामञ्च, अभिनव, संसाक, भानु, कालीको सुसेली, नागरिक आवाज, दोभान, समकालीन साहित्य, शब्दाङ्कुर, हिमाली गुराँस, महामण्डल, पूर्णिमा, अक्षर मार्ग, शुक्लाफाँटा, नव-नेपाल टाइम्स, महिला प्रहरी स्मारिका, नवसिर्जना, शालमली, नागरिक समाचारलगायत पत्रपत्रिकामा प्रकाशित भइसकका छन् यी लघुकथाहरू । ‘देशको चित्र’ क्रमाङ्क ३४ मा रहेको लघुकथा हो जो यस संग्रहको शीर्ष लघुकथा हो ।

यस संग्रहमा समावेश भएका लघुकथाले नेपालको अर्थव्यवस्था, नेपाली संस्कार र संस्कृति, मानव स्वास्थ्य र मानव जीवन, मानव व्यवहार, राष्ट्र र राष्ट्रियता, प्रविधि, अध्यात्म, आडम्बरप्रति छेडाछाड, प्रकृति, विकृति र विसंगति, वैदेशिक सम्बन्ध, प्राणी, वनस्पति जस्ता विविध विषय समेटिएर आएका छन् । पुस्तकका लागि रामकुमार पण्डित क्षेत्रीलाई बधाई तथा पुस्तकको सफलताको शुभकामना । साथै उहाँको साहित्यक यात्राको निरन्तरता र अन्य कृति सिर्जनाका लागि शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?