को बढी कामात्तुर ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ‘काम’ शब्दको अर्थ ‘सहवासको इच्छा’ हो । यस्तो इच्छाबाट आतुर व्यक्तिलाई ‘कामातुर’ भनिन्छ । कामातुर अवस्थामा पुगिसकेपछि मानिसलाई डर पनि हुँदैन, लाज पनि हुँदैन यस्तो अवस्था पुरुष तथा महिला जोसुकैका लागि पनि असह्य हुनसक्छ ।

सहवासको इच्छाले पीडित नारीलाई कामातुरा नभनेर ‘कामुकी’ भन्ने चलन छ । यसै त कामवासनामा अति आशक्त पुरुषलाई पनि ‘कामलम्पट’ अथवा ‘कामुक’ पनि भन्ने गरेको पाइन्छ ।

संस्कृत भाषामा प्राचीन र मध्यकालीन विद्वानहरूले पुरुषभन्दा नारीहरू कामुक हुन्छन भन्ने धारणा व्यक्त गरेका छन् । ‘कामश्चाष्ट गुणस्मृतः ।’ अर्थात् नारीहरुमा कामेच्छा पुरुषको भन्दा आठगुना बढी हुन्छ । यस्तै यस्तै धारणाहरू तत्कालीन पाश्चात्य ग्रन्थहरूमा पनि व्यक्त भएका पाइएका छन् । नारीहरूलाई पुरुषको कामेच्छा शान्त गराउने साधन ठान्ने र कामेच्छा शान्त भएपछि वासनात्मक ज्वार भाटाका उत्पादिकाका रुपमा तुरुन्तै तिनै नारीलाई गाली दिने परम्परा इतिहासमा मातृसत्तात्मक समाजको विघटनपछि स्थापित र विकसित हुँदै आएको वुझिन्छ । हिन्दू पुराणका एक सन्त दत्तात्रेयले ‘नारीको स्तनदेखि गुप्तांगसम्मको भाग नरकको महासागर हो, त्यहाँ परेपछि मान्छे डुव्छ’ भनेका छन् । यसरी हाम्रा विद्वान, पूर्वजहरुले आफ्नो शालनिता प्रमाणित गर्न निरन्तर रुपमा आफ्नी आमालाई समेत तथानाम गाली दिँदै आएका छन् ।

रामायणमा सीतालाई जगज्जननी भनि लेख्ने आदिकवि भानुभक्त आचार्यले फुटकर कवितामा नारीलाई ‘नरकको द्वार’ भनेर नराम्रोसित होच्याएका छन् । उनको विचारमा नारीलाई यसघर्तीमा मुसुक्क हाँस्ने सम्मको अधिकार पनि छैन । कुनै नारी मुसुक्क हाँसिन भने त्यो सौन्दर्य देखेर आफ्नो जंगली कामुकतालाई थाम्न सकिन्न कि भन्ने डरले थर्कमान छन् शायद विचरा भानुभक्त !

रातभर नारीसित सहवास गर्ने र दिनभरी नारीलाई घृणा गर्ने पवित्र परिपाटी छ पुरुष प्रधान समाजमा । यसै परिपाटीका व्यास र वाल्मीकिहरूले पुरुषलाई ‘संयमी’ र नारीलाई ‘कामातुर’ खतराको रुपमा उहिल्यै देखि चिरण गर्दै आएका छन् । यसै क्रममा पुरुष भन्दा नारीमा कामभावना आठ गुणा बढी भएको धारणा अभिव्यक्त हुन आएको हो । यथार्थमा नारीहरु पुरुषका तुलनामा लज्जाशील हुन्छन् । संयमी हुन्छन् । आक्रमक हुँदैनन् ।

नारीहरूको सहनशीलता समुद्रको गहिराइसित तुलनालायक हुन्छ । यस्तो यथार्थ ज्ञात र अनुभूत हुँदा हुँदै पनि पुरुषहरू नारीमाथि कामुकताको दोषारोपण किन गर्छन् ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?