ताइवानमा ठूलो संकट सिर्जना नगर्न अमेरिकालाई वाङको चेतावनी

Read Time = 3 mins

नामपेन्ह । चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानमा ठूलो संकट सिर्जना नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले तनाव सिर्जना गरेको उहाँले आरोप लगाउनुभएको हो । कम्बोडियामा आसियानका विदेशमन्त्रीहरूबीचको बैठकको साइडलाइनमा बोल्दै वाङले समस्या खडा गरेर उद्देश्य प्राप्त गर्ने अमेरिकी तरिका चीनसामु सफल नहुने उहाँले बताउनुभयो ।

‘अमेरिकाको रणनीति के हो भने उनीहरू पहिले समस्या सिर्जना गर्छन् र त्यो समस्यालाई प्रयोग गरेर आफ्नो उद्देश्य पूरा गर्छन् । तर, यो तरिका चीनसामु काम लाग्दैन,’ वाङले भन्नुभयो । ‘हामी अमेरिकालाई चेतावनी दिन्छौँ, हडबडीमा उसले ठूलो संकट सिर्जना नगरोस्,’ उहाँले थप्नुभयो ।

कम्बोडियामा बोल्दै वाङले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको सार्वभौमसत्तालाई चुनौती दिएकाले बेइजिङले सो प्रतिक्रिया दिन जरुरी भएको बताउनुभयो ।

‘हाम्रो सैन्य अभ्यास खुला र पारदर्शी छ । यो घरेलु कानुन, अन्तर्राष्ट्रिय कानुन र अभ्यासअनुसार छ । यसको उद्देश्य अपराधीलाई चेतावनी दिनु र ताइवानको स्वतन्त्रता चाहने शक्तिलाई सजाय दिनु हो,’ वाङले भन्नुभयो, ‘यदि आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई बेवास्ता गरियो भने अमेरिकाले अझ सनकी तरिकाले अन्य मुलुक, खासगरी साना र मध्यम आकारका मुलुकलाई धम्क्याउनेछ ।’

२५ वर्षपछि अमेरिकी सभामुखले मंगलबार ताइवान भ्रमण गरेपछि चीन र अमेरिका बीच तनाव चुलिएको छ । भ्रमणको जवाफमा चीनले ताइवान घेरेर विशाल युद्ध अभ्यास गरिरहेको छ । त्यस्तै, चीनले अमेरिकासँग अनेकौँ फोरमका संवाद रोकेको छ । ताइवानले भने चिनियाँ सेनाले आक्रमणको पूर्वाभ्यास गरेको आरोप लगाएको छ । एससिएमपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?