बिमा कम्पनीलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न निर्देशन

Read Time = 5 mins

काठमाडौंं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न सचेत गराउनुभएको छ । समितिद्वारा निर्जीवन बिमासम्बन्धी समसामयिक विषयमा निर्जीबन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग गरेको अन्तरक्रियामा उहाँले बिमा कम्पनीहरूलाई सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न, तोकिएको दरभन्दा कममा बिमा नगर्न, जोखिमांकनमा कमीकमजोरी हुन नदिन, तोकिएको समयमा बिमा दाबी भुक्तानी गर्न र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा गएर बिमाको प्रचारप्रसारमा समेत योगदान पुग्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

समितिले बिमा व्यवसायलाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको भन्दै कमीकमजोरी दोहोरिन नदिई सुधार गरेर अघि बढ्न पनि उहाँले निर्देशन दिनुभयो । समितिले विभिन्न विषयमा निर्णय गर्नु र निर्देशिका जारी गर्नुभन्दा अघि बिमा कम्पनीहरूसँग पर्याप्त छलफल गरी सुझाव लिएरमात्र गर्ने गरेको दाबी गर्दै समितिका निर्णय र जारी निर्देशिका बिमा कम्पनीहरूले कार्यान्वयन गर्नैपर्ने बताउनुभयो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बिमा व्यवसायमा देखिएका समस्याबारेमा छलफल गरी समस्या समाधान गर्दै जाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विशेष गरी कृषि तथा पशुपन्छी बिमामा दाबी भुक्तानी नपाएको धेरै गुनासा आउने गरेको र सम्पत्ति बिमा, सामुन्द्रिक बिमा तथा दुर्घटना बिमामा पनि समस्या देखिएको उहाँको भनाइ थियो ।

समितिका निर्देशक सुशिलदेव सुवेदीले बिमकको सुपरीवेक्षण, कृषि, लघु तथा पुनर्बिमा, निर्देशक पूजन ढुंगेल (अधिकारी) ले बिमालेखसम्बन्धी समस्या र समाधानका उपाय र निर्देशक दिनेशकुमार लालले जोखिमांकनमा देखिएका समस्या एवं चुनौती र समाधानका उपाय विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

बिमा क्षेत्रबाट पूर्वाधार र राष्ट्रिय महत्वका क्षेत्रमा लगानी नगरिनु, लगानी स्वीकृतिका लागि बिमा समितिमा पेश गर्दा जोखिमको विश्लेषण नगरिनु, तोकिएको रेटिङभन्दा कमसल पुनर्बिमा कम्पनीसँग कारोबार गरिनु, कृषि तथा पशुपन्छी बिमामा साना-साना दाबीको भुक्तानी नदिइनु, बिमालेख विकास गर्दा पर्याप्त अध्ययन एवं अनुसन्धान नगरिनु, समितिमा बिमालेख स्वीकृतिका लागि पेश गर्दा पर्याप्त कागजात पेश नगरिनु, जोखिम व्यवस्थापन प्रभावकारी नहुनु, सूचना प्रविधिको उचित प्रयोग नगरिनु, बिमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता नदिइनु बिमा कम्पनीहरूका कमजोरी औंल्याइएको छ । त्यस्तै शंकास्पद कारोबार पहिचानसम्बन्धी संयन्त्र स्थापना नगरिनु र बिमकले आफ्ना शाखा कार्यालयमा पर्याप्त अधिकार प्रत्यायोजन नगर्नुलगायतका समस्या पनि रहेका छन् ।

निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले भने समितिबाट भएका निर्णय र जारी निर्देशिका कार्यान्वयन गर्न कम्पनीहरू प्रतिबद्ध रहेको भन्दै राष्ट्रिय पूर्वाधारका क्षेत्रमा लगानी गर्न निर्जीवन बिमा कम्पनी तयार रहेको, कृषि तथा पशुन्छी बिमामा सरकारले घोषणा गरेको अनुदान आउन ढिलाइ हुने गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?