चिकित्सा क्षेत्रका अनियमितताविरुद्ध डा. केसीका ६ बुँदे माग, सम्बोधननभएभदौ १२ देखि सत्याग्रह बस्ने चेतावनी

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ताप्रा.डा. गोविन्द केसीले भदौं १२ गतेदेखि अनशन थाल्ने घोषणा गर्नुभएको छ । सरकारले आफूले अघि सारेका माग पूरा नगरे र विगतमा भएका सम्झौता कार्यान्वयन नगरे भदौं १२ गतेदेखि सत्याग्रह थाल्ने उहाँको उद्घोष छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा हालै नियुक्त हुनुभएका कांग्रेस नेतृ डा. डिला संग्रौलाका श्रीमान् सूर्य संग्रौलालाई नियुक्ति गरेपछि आक्रोशित बन्नुभएका डा. केसी धरान पुगेर अनसन बस्ने घोषणा गर्नुभएको हो । डा. संग्रौलाको वीपीको रजिष्ट्रार बन्न योग्यता नै नपुगेको चर्चा चलिरहँदा डा. केसी देउवा सरकारसँग आक्रोशितहुँदै अनशन बस्ने तयारीमा जुट्नुभएको हो । डा. केसीले सरकारलाई भदौं १२ गतेसम्मको अनशन बस्ने अल्टिमेटम दिँदै भागबण्डाका आधारमा हालै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएका नियुक्तिहरू तत्काल सच्याउन र प्रतिष्ठानका उपकुलपतिलगायत भ्रष्ट पदाधिकारीलाई बर्खास्त गरी कारबाही गर्न माग राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘हामीले शेरबहादुर देउवा सरकार बने यता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेका कारण हामी अब धैर्य गर्ने अवस्थामा छैनौं । हाम्रा मागहरू आगामी तीन साताको अवधिमा पूरा नभएमा भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौं ।’
यस्तै डा. केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न पनि माग गर्नुभएको छ । तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाउन माग गर्नुभयो । त्यस्तै जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने डा. केसीको माग छ । संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने माग गर्नुभयो ।

सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने, स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानीगर्ने व्यवस्था माग गरिएको छ । देशभरि दीगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायीचिकित्सक र स्वास्थ्यकर्मीहरूको नियुक्ति गरिनुपर्ने डा. केसीको माग छ । डा. केसीले भन्नुभयो, ‘सरकारी स्वास्थ्य संस्थाहरूका वरिपरि च्याउझैँ खुलेका तर मापदण्ड नपुर्‍याई जथाभाबी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरू बन्द गरेर दोषीहरूलाई दण्डित गरिनुपर्छ । प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरूलाई गैरचिकित्सक नभई चिकित्सकहरूको मात्र नेतृत्वदिने व्यवस्थागर्न सरकारसँग माग गर्छु ।’

आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने डा. केसीको माग छ । उहाँले भन्नुभयो, ‘विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभावपुर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरियोस् ताकि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउनुपर्छ । यस अगाडि हामीसित सम्झौता भएबमभोजिम इलाम, उदयपुर र डडेलधुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस् ।’
चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै डा. केसीले यसअघि १९औं पटकसम्म अनशन बसिसक्नुभएको छ । १९औँ अनशन जुम्लामा गएर सुरु गर्नुभएको थियो । सरकारसँग आठ बुँदे सहमतिपछि डा. केसीले २८ औं दिनमा अनशन तोड्नुभएको थियो ।

अनियमितता विरुद्ध डा. केसीको अविरल लडाइँ
नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि एक दशकमा झन्डै २७० दिन अनशनमा बस्नुभएका डा. केसीले अनियमितता विरुद्ध एक्लै भएपनि निरन्तर आवाज उठाउने सत्याग्रहीको छवि बनाएको पाइन्छ । राज्यले पटकपटक सम्झौता गरे पनि उहाँले उठाएका मागहरू अझै पूरा हुन सकेका छैनन् । चिकित्सक केसीको अनशनपछि चिकित्सा शिक्षा ऐन आएको, विद्यार्थी भर्ना र कलेज सम्बन्धनमा हुने गरेका अनियमितता रोकिएको, एमबिबीएस शुल्क जथाभावी असुल्ने परिपाटी रोकिएको, वरिष्ठताका आधारमा डीनको नियुक्ति हुने अभ्यास अघिबढेको जानकारहरू बताउँछन् ।

सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीनदशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गर्नुभएको छ । सरकारी कोटामा छात्रवृत्तिपाएर पढेको हुनाले आफूले देश र जनताका लागि केहीगर्नुपर्ने बलियो अठोट डाक्टर केसीले राख्ने गरेको पाइन्छ । उहाँ अविवाहित हुनुहुन्छ । अनि उहाँले आफ्नो तलब र अहिले निवृत्ति भरणबाट आउने रकम पनि विपन्न मानिसको उपचारमा खर्च गर्दै आएको बताइन्छ ।

डा. केसीले नेपालमा लगभग सबैजसो जिल्लामा दुईदेखि तीनपटक निःशुल्क स्वास्थ्य सेवा दिइसक्नुभएको छ । त्यसबाहेक १५ वटा देश पुगेर उहाँले बिरामीहरूलाई उपचार र औषधि उपलब्ध गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?