प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्दैछ ।

आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर आजदेखि दल दर्ता खुला गरेको हो । चुनावको लागि साउन ३१ गतेसम्म दल दर्ता गर्न सकिने छ ।

आयोगका अनुसार दल दर्ताको निवेदनका लागि दलको विवरण, केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्यासहित वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाउनु पर्नेछ ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा सात वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले भनेको छ ।

त्यस्तै, दुई वा सो भन्दा बढी दलले एकल चिन्ह लिई निर्वाचनमा भाग लिने भए निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली-२०७४ को अनुसूची १३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने पनि आयोगले जानकारी गराएको छ ।

निर्वाचन आयोगमा अहिलेसम्म दर्ता भएका ११६ वटा राजनीतिक दलहरूले समेत पुनः दर्ता गर्नुपर्ने व्यवस्था छ । दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत कार्यालय खुला हुने आयोगले बताएको छ ।

प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दलले एउटै चुनाव चिह्नसमेत लिन पाउने छन् ।

तालमेल गरेका दलले एउटै निर्वाचन चिह्नमा निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने आयोगले जनाएको हो । यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनु पर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?