निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा हाल सत्ता गठबन्धनले यो गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जाने सहमति गरेको छ । केपी ओलीले सहमतिको पालना नगरेको भनेर नेकपाका सहभागी वरिष्ठ नेताहरू माइतीघर मण्डलामा हामी यहाँ छौँ भनेर पुग्नु भएपछि नेकपाभित्रको सहमति उल्लंघन सडकमा पोखिन पुगेको थियो । आजका दिनसम्ममा नेपालको राजनीतिमा अनेकौँ उतारचढाव देखिन आए । २०७४ सालको निर्वाचनबाट दोस्रो पार्टी बन्न पुगेको नेपाली कांग्रेस पाँच वर्षसम्म सरकारमा जाने कल्पनाबाट टाढा बसिरहेको अवस्थामा पनि अकल्पनीय अवस्थामा उक्त पार्टीले सरकारको नेतृत्व गर्न पाएको छ ।
यसबाट कांग्रेसको लोकप्रियता खस्किन्छ, त्यस कारण सरकारमा जानु हुँदैन भन्ने नेपाली कांग्रेसकै एउटा पक्षको कुरा कांग्रेसको अर्को पक्षले स्वीकार गरेन । आफ्नो घर बिगार्न छिमेकी गुहारेको शैलीमा पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि अनुरोध गर्न पुगेपछि उहाँले हालसम्म सरकारको नेतृत्व गरिरहनु भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अहंले तत्कालीन राजनीतिक परिदृश्य बिथोल्न सहयोगी भूमिका खेलेको थियो । उहाँले झम्टा मारीमारी दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चको निर्णयबाट प्रतिनिधिसभा पुनःस्थापना र केपी ओलीलाई बहिर्गमनको बाटो तय गरिदियो ।
यसपछि बनेको वर्तमान सरकार आगामी निर्वाचन गराउने जिम्मेवारीमा पनि रहेको छ । यस सरकारका लागि यो एउटा मौका हो । हुन त यसरी नेपाली कांग्रेसकै सरकारले अघिल्लो निर्वाचन पनि गराएकै हो तर आफैँले गराएको निर्वाचनमा समेत नेपाली कांग्रेस दोस्रो पार्टी बन्न पुगेको थियो । तैपनि सरकारमा आफैँ बसेर निर्वाचन गर्ने मैकालाई गठबन्धनमा रहेका दलहरूले परिणाम आफ्ना पक्षमा पार्ने अवसर हो भन्ने ठानेकै हुन्छन् । तर, प्रतिस्पर्धी बलियो भएका खण्डमा उक्त प्रतिस्पर्धामा सत्ताबाहिरको दलले पनि विजय हासिल गर्नसक्छ । हाल सत्तामा रहेका दलहरू गठबन्धन कायम राखेरै विभिन्न निर्वाचन क्षेत्रहरूमा आपसी तालमेलबाट उम्मेदवारी कायम गरेर निर्वाचनको मैदानमा जाने भएका छन् ।
माथि नै भनियो एमाले सत्ताबाहिर र ऊ लगभग एक्लै जस्तो छ तैपनि उसलाई सत्तारूढ दलहरूले कमजोर ठान्नु हुँदैन । एमालेले अरूसँग गठबन्धन गरे पनि ती साना र कमजोर दलहरू मात्र हुनेछन् । भोलिका दिनमा गठबन्धन टुट्न पनि सक्ला किनभने भविष्य कसैलाई पनि थाहा हुँदैन तर हाल वर्तमान सत्तारूढ गठबन्धन कायमै राख्ने र आपसी तालमेलबाट निर्वाचनमा जाने गरी भद्र सहमति भएको भनिएको छ जो पछि निर्वाचनसम्मै कायम रहृयो र यसबाट सबैले चित्त बुझाउन सक्ने वातावरण बनिरहृयो भने निश्चित छ वर्तमान सत्ता गठबन्धनले नै बहुमत ल्याउने छ तर फरक-फरक पार्टीले आफ्नो दुई चार सिट बढ्छ कि भनेर यताउता लाग्ने अवस्था आयो भने कसैको पनि बहुमत नआउन सक्छ ।
अर्को के पनि निश्चित छ भने विभाजित भएर जाने हो भने सबै पार्टी कमजोर सावित हुनेछन् । त्यसबेला नेपाली कांग्रेसकै अग्रता रहने पक्का छ । त्यसैले पनि अरू पार्टीले कांग्रेससँगको एकता कायम गर्न चाहेका छन् । संसद् विघटनकारी पार्टी र हालका दिनहरूमा राजतन्त्र पुनःस्थापनाको समेत फाट्टफुट्ट आवाज उठाएका कारण नेकपा एमालेप्रतिसमेत जनविश्वास खस्किँदै गएको र सत्तारूढ दलको एकताको कारण सत्ता बाहिरका दलहरू पछि पर्ने निश्चित छ । हालको सत्ता गठबन्धन बाहेकका दलहरूसँग तालमेल नगर्ने गरी गरिएको भद्र सहमतिले पनि सत्तारूढ दलहरू नै लाभान्वित हुनेछन् ।
उनीहरूको उद्देश्य पनि यही हो । स्थानीय निर्वाचनमा पनि सत्तारूढ दलहरूले यसरी नै तुलनात्मक रूपमा बढी लाभ लिन सकेका थिए । यसैले नेपाली कांग्रेसलाई गाली गरी गरी पनि नेपाली कांग्रेसकै सामिप्य उनीहरू खोजिरहेका छन् भन्ने पनि देखिन आएको छ । त्यसैले अझै सुदृढ भए बढीभन्दा बढी फाइदा लिन चाहने हो भने एकअर्कालाई गाली गरेरभन्दा बलियो एकता कायम गरेरै जानुपर्ने हुन्छ । प्रतिगामी आवाजहरू उठ्न थालेको यस अवस्थामा संघीयता र गणतन्त्र विरोधीहरूलाई परास्त गर्न गठबन्धन लर्बरिनु हुँदैन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका