पाठ्यक्रम निर्माण र पठनपाठनमा जोड दिँदै स्थानीय सरकार

Read Time = 6 mins

-डम्मर बुढा मगर
बागलुङ । स्थानीय तहलाई माध्यामिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार समेत छ । सोही अनुसार बागलुङका स्थानीय तहले पाठ्यक्रम बनाएर पठनपाठनलाई तीव्रता दिन थालेका छन् । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेको छ ।

यहाँका पालिकाले कृषि, कला संस्कृति, भाषा, धर्म, रीतिरिवाज, पर्यटन, जडीबुटी, सम्पदा लगायतका विषयवस्तु क्षेत्र समेटेर स्थानीय तहले पाठ्यक्रम बनाइरहेका छन् । आफ्नै पाठ्यक्रम बनाएर लागू गर्नेमा गाउँपालिका अगाडि देखिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले पाठ्यक्रम बनाएर पढाउन थालेका हुन् ।

आगामी वर्ष कक्षा ५ सम्मको पाठ्क्रम लागू गर्ने तयारी भएको गाउँ शिक्षा अधिकारी पूर्णबहादुर घर्तीले बताए । ताराखोला गाउँपालिकाले पनि गत शैक्षिकसत्र बाटै पाठ्यक्रम बनाएर पढाउन थालेको हो । ताराखोलाको पाठ्यक्रममा स्थानीय उत्पादन र मगर संस्कृतिबारे बढी सामग्री संकलन गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर बिकले बताउनु भयो ।

बरेङले गत शैक्षिक सत्रदेखि पाठ्यक्रम लागू गरेको हो । बरेङले पहिलो चरणमै कक्षा १ देखि ३ सम्मको ‘हाम्रो बरेङ’ पाठ्यक्रम बनाएर पढाउन थालिसकेको शिक्षा अधिकारी सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । ‘कक्षा १० सम्मै पुग्ने लक्ष्य छ, २०८० सालमा कक्षा ७ सम्मको पढाइ थाल्छौं’ उहाँले भन्नुभयो तमानखोलाले छन्त्याल संस्कृतिलाई पाठ्यक्रममा जोडेको छ ।

‘पर्यटकीय क्षेत्र भनेर पोखरा र लुम्बिनी मात्रै पढेका बालबालिकाले आफ्नै पहाड र तालको नाम पनि जान्न पाएका छन्’ स्थानीय भवीन्द्र पुनले भन्नुभयो । यसले बालबालिकालाई आफ्नै माटोमा जोडेको उनले बताए । बडिगाड, निसीखोला र काठेखोला गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रमको तयारी गरेको बताएका छन् । मस्यौदा लेखनको काम भैरहेको र त्यसपछि छलफल गरेर अन्तिम रुप दिने योजना बनाएको बडिगाडकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।

सदरमुकामस्थित बागलुङ नगरपालिकामा भने अझै स्थानीय पाठ्यक्रमको सुरसार छैन । गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाले पनि पाठ्यक्रममा प्रगति गर्न सकेका छैनन् । साधन स्रोत धेरै भए पनि नगरपालिका तहमा स्थानीय पाठ्यक्रमबारे चासो नै नभएको अभिभावकले बताए ।

‘कर्मचारी र जनप्रतिनिधिमा केही गरौं भन्ने भावना भएन भने कुरा मात्रै ठूला हुन्छन्’ स्थानीय प्रेम मगरले भन्नुभयो । अन्य काममा जिल्लाका नगरपालिका भन्दा गाउँपालिका अगाडि देखिएको उहाँले बताउनु भयो। मस्यौदा बनाएको बागलुङ नगरपालिकाले पाठ्यक्रमको पुस्तिका तयार गर्न सकेको छैन । ‘विभिन्न छलफल र कार्यशाला मार्फत प्रारम्भिक मस्यौदा बनाएका छौं’ बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भन्नुभयो, ‘पाठ्यपुस्तक बनाउने बजेट नभएर रोकिएका हौं ।’

जैमिनी नगरपालिकामा अहिलेसम्म पाठ्यक्रमबारे सुरसार छैन । पाठ्यक्रम तयारी समिति मात्रै गठन भएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताउनु भयो । ‘अब हामी लाग्छौं’ आचार्यले भन्नुभयो, ‘आगामी बर्षदेखि कक्षा १ को भए पनि पाठ्यक्रम लागू गर्छौ ।’ गलकोटमा पाठ्यक्रमबारे सामान्य छलफल मात्रै भएको छ ।

निसीखोला गाउँपालिका जिल्लामै छुट्टै भाष भएको पालिका पनि हो । यस पालिकाका मगर समुदायले ‘मगर खाम भाषा’ भोल्ने गर्छन् । भाषा, संस्कृति र परम्परालाई संरक्षण र प्रवद्र्धन समेत गर्ने गरि पाठ्यक्रम निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?