भोजपुर प्रहरीद्वारा मोटरसाइकल चोरीमा संलग्न ६ जना सार्वजनिक

Read Time = 4 mins

-निरोज कोइराला
भोजपुर । भोजपुरबाट हराएका मोटरसाइकल चोरीमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ परेका छ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले चोरी भएका ४ वटा मोटरसाइकल सहित आइतवार उनीहरुलाई सार्वजनिक गरेको हो ।
चोरी भएका चार वटा मोटरसाइकल नम्वर प्लेट परिवर्तन गरी प्रयोग भएको सुचनाको आधारमा प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी सहितको टोलीले संखुवासभा प्रहरीसँगको समन्वयमा मोटरसाइकल र संलग्न ब्यक्तिहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरमा प्रहरी प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिनुभयाे । संखुवासभाको पाँचखपन, बाह्रबिसे, धुपु लगायतका स्थानहरुमा स्थलगतरुपमा खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरेको थियो ।

प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइल सहित खाँदवारी नगरपालिका १ का २६ वर्षीय निराजन गौतम र पापापँचखपन गाउँपालिका ३ का २५ वर्षीय टिकाराम तिवारीलाई पक्राउ गरेको हो । असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइल सहित संखुवासभाको पाँचखपन नगरपालिका २ का २३ वर्षीय रबीकिरण राई, गत जेठ ८ गते भोजपुरको देउरालीका बालम राईको चोरी भएको मोटरसाइकल सहित संखुवासभाको खाँदबारी नगरपालिका ७ बस्ने २५ वर्षीय मौसम आलेमगर तामाङ र सभापोखरी गाउँपालिका ३ का २८ वर्षीय उपेन्द्र तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख डिएसपी राईले बताउनु भयाे ।

यस्तै भोजपुर नगरपालिका ७ बाट हराएको गिरेन्द्र खड्काको मोटरसाइल चोरी गर्ने खाँदबारी नगरपालिका १ का ४० वर्षीय रोहितमान राईलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले मोरङबाट चोरी भएको एउटा मोटरसाइकल समेत बरामत गरेको छ । चोरीका मोटरसाइलहरु २५ हजार देखि ७० हजारसम्ममा विक्री गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका मुख्य योजनाकारलाई समेत इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको बताउँदै प्रहरी प्रमुख डिएसपी राईले पक्राउ परेको सवैलाई चोरी मुद्धा अन्तर्गत अनुसन्धान सुरु गरिएको बताउनु भयाे ।

जिल्लाबाट दिनानु दिन पार्किङ गरेको मोटरसाइकल हराउने क्रम बढेकोमा प्रहरीले अनुसन्धान तथा खोजी सुरु गरेको थियो । प्रहरी प्रमुख डिएसी राईले भन्नुभयाे, “चोरीमा संलग्न पक्राउ गर्न प्रहरी सफल भएको छ, नियन्त्रणमा आएकाहरुबाट अरु पनि घटनाहरु खुल्दै जाने छ ।” मुल सडक भन्दा भित्री बाटो प्रयोग गरि उनीहरुले मोटरसाइकल जिल्लाबाट बाहिर लगेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?