वर्षासँगै आत्तिन्छन् कोसीपीडित

Read Time = 7 mins

विराटनगर । उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ । सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका मानिस अहिलेसम्म घर फर्कन सकेका छैनन् । डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् ।

सुरक्षित स्थानबाट दिनहुँ भाटेपुल नजिकै आएर पीडित आफ्नो घर डुबेको देख्दा रोएर फर्किने गरेका छन् । कोसी नदीको पानीले अहिले डुबान गरेको त्यस क्षेत्रमा विसं २०४५ अघि कोसी नदीको मूलधार बग्ने गरेको स्थानीयवासी बताउँछन् । कोसी नदीले धार परिवर्तन गरेपछि कोसी नदी पूर्वतर्फ मूलधार भएर बगिरहेको छ । कोसी नदीले पूर्वतर्फ धार परिवर्तन गरेपछि त्यसक्षेत्रमा हजारौँ बिघा जग्गा बगरमा परिणत भयो । विस्तारै सो जग्गामा मानिसले घर बनाएर बस्न थाले ।

कोसीले मूलधार परिवर्तन गर्दा बराह क्षेत्र नगरपालिका–२ कोसी पश्चिम क्षेत्र श्रीलङ्का टापु निर्माण भयो । त्यहाँ अहिले पनि मानिस बसोबास गरिरहेका छन् । कुनै समयमा कोसी बग्ने ठाउँ अहिले मानिसका लागि जीविकोपार्जनको थलो बनेको छ । मानिसले सो क्षेत्रलाई फाँडेर खेतीपाती गर्दै आएका छन् । श्रीलङ्का टापु जान सरकारले चार वर्षअघि ८५ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरेको छ । झोलुङ्गे पुलले टापुमा बस्ने मानिसका लागि आवतजावत गर्न निकै सुविधा पुगेको छ ।

कोसी नदीले धार परिवर्तन गरेर बनेको सो क्षेत्रमा बस्ने मानिसले जग्गा उपभोग गरिरहेको भए पनि उनीहरूसँग जग्गाको धनीपूर्जा छैन । धान, मकै, तरकारीजस्ता बाली उत्पादन गर्ने किसानले रामै्र आम्दानी गर्दछन् । श्रीलङ्का टापुमा खेती गर्ने रामउदगार महतोका अनुसार अहिले पनि एकले भोगचलन गरेको जग्गा अरु मानिसलाई बिक्री गर्दा एक बिघाको रु चार लाखसम्म तिर्छन् ।

उहाँले निकै गरिबी अवस्थामा यहाँ आएर खेती सुरु गरेको उल्लेख गर्दै भन्नुभयो, “साइकलबाट सुरु गरेको यात्रा अहिले मसँग ट्र्याक्टर छन् । खेतीपाती गर्छु ।” परिवारलाई पाल्न र राम्रै आम्दानी गर्न सकेकोमा महतोले खुसी व्यक्त गर्नुभयो ।

बेलका–२ सिर्जना टोल अहिले पनि जलमग्न छ । पाँच सय घरधुरी रहेको सो क्षेत्रमा नेपाली सेनाका दुई वटा बोट र सशस्त्र प्रहरीका एक वटा बोटले पानी जलमग्न भएको क्षेत्रमा प्रवेश गरी घरभित्रका सामान सुरक्षित ठाउँमा लैजाने क्रम जारी रहेको छ ।

सिर्जना टोलकी विमला कटुवालले भन्नुभयो, “मेरो घर चुर्लुम्म डुबेको छ, मैले पालेको कुखुरा, सुङ्गुरको अवस्था थाहा छैन । घर मात्र देखिन्छ, यहाँ भाटेपुलनिर घर चियाएर हेर्छु र फर्किन्छु ।” उहाँले घर छोड्नुपर्दाको पीडा अत्यन्त कष्टकर भएको बताउनुभयो । “तर के गर्नु अर्को उपाय पनि छैन, अहिलेसम्म कुनै राहत पाएको छैन”, उहाँले भन्नुभयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उद्धार टोली दिनरात काम गरिरहेको उहाँले बताउनुभयो ।

यस्तै पीडा पवित्रा राईको पनि छ । उहाँले भन्नुभयो, “कोसीमा पानी घटबढले हाम्रो पीडा पनि त्यस्तै हुँदोरहेछ, कहिले घर फर्कन पाइएला भन्ने चिन्तामा छु ।” ।

प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले कोसी नदीले प्रभावित गरेको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन सय जना राहत र उद्धारमा खटिएको भन्दै आवश्यक परेमा थप जनशक्ति परिचालन गर्ने जानकारी दिनुभयो । उहाँले अहिलेसम्म त्यस क्षेत्रमा कुनै पनि मानवीय क्षति नभएको बताउनुभयो । उहाँका अनुसार उद्धार टोलीको ध्यान त्यस क्षेत्रमा केन्द्रित छ, कुनै पनि अप्रिय घटना हुन नदिन सबै शक्ति लगाउने र जनतालाई उद्धार एवं मद्दत गरिने छ ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले कोसीको पानीबाट डुबानमा परेका मानिसलाई सेती खोला मावि, कोसी जनता मावि, सागपत्रे र खसी बाख्रा सेवा केन्द्रमा राखिएको जानकारी दिनुभयो । उहाँले ती स्थानमा दुई सय ५३ जनालाई दिनरात मेस सञ्चालन गरेर खाना र बासको व्यवस्था गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस क्षेत्रका करिब सात हजार मानिस आफन्तकोमा आश्रय लिएर बसेका छन्, अत्यन्त सर्तकता अपनाएका छौँ, जनतालाई थप पीडा हुन नदिन दिनरात काम गरिरहेका छौँ ।” उहाँले उद्धार एवं राहतमा लाग्ने सङ्घ संस्थालाई धन्यवाद दिँदै कोसीको पानी वर्षामा निर्भर रहने भएकाले वर्षासँगै यस क्षेत्रका जनताको हाम्रो मन चिसो हुने बताउनुभयो ।
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?