भारतलाई एक खेल अगावै सिरिज

Read Time = 3 mins

नयाँदिल्ली । भारतले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज एक खेलअगावै जितेको छ । चौथो टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले शृंखलामा कब्जा जमाएको हो । भारतले पाँच टी-२० आई खेलको सिरिज ३-१ ले जितेको हो ।

जितका लागि १९२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९.१ ओभरमा १३२ रनमा अल आउट भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन र रोभम्यान पावेलले सर्वाधिक २४-२४ रन बनाउनुभयो । पुरनले आठ बलमा एक चौका र तीन छक्का प्रहार गर्नुभयो । पावेलले १६ बलमा एक चौका र दुई छक्का प्रहार गर्नुभयो ।

ओपनर ब्रेन्डन किंग १३, काइल मेयर्स १४, डेभन थोमस एक, शिम्रन हेटमायर १९ र जेसन होल्डर १३ रनमा आउट हुनुभयो । भारतका अर्शदीप सिंहले ३.१ ओभरमा १२ रन खर्चेर तीन विकेट लिनुभयो । आवेश खानले चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिनुभयो । अक्षर पटेल र रवि विश्रोईको नाममा दुई-दुई विकेट रहृयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । भारतका सञ्जु स्यामसन २३ बलमा दुई चौका र एक छक्कासहित ३० रनमा अविजित रहनुभयो । अक्षर पटेल आठ बलमा दुई छक्का र एक चौकासहित २० रनमा अविजित रहनुभयो । विकेटकिपर ऋषभ पन्त ३१ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनमा आउट हुनुभयो ।

भारतलाई ओपनर रोहित शर्मा र सूर्यकुमार यादवले ४-४ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । स्पिनर अकिल हुसैनले रोहितलाई १६ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा बोल्ड आउट गर्नुभयो । अल्जारी जोसेफले सूर्यलाई २४ रनमा एलबिडब्लु आउट गर्नुभयो । उहाँले १४ बलमा एक चौका र दुई छक्का प्रहार गर्नुभयो ।

दीपक हुडा १९ बलमा दुई चौकासहित २१ रनमा आउट हुनुभयो । अल्जारी जोसेफले चार ओभरमा २९ रन खर्चेर दुई विकेट लिनुभयो । ओबेद म्याकोयले चार ओभरमा ६६ रन खर्चेर दुई विकेट लिनुभयो । भारतसँग दोस्रो खेलमा ६ विकेट लिँदै म्यायकोय टी-२० आईमा वेस्ट इन्डिजबाट उत्कृष्ट प्रदर्शन गर्ने बलरसमेत बन्नुभएको थियो । भारत पहिलो खेलमा ६८ रनले विजयी भएको थियो । दोस्रो खेलमा भारत ५ विकेटले पराजित हुँदा तेस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?