भारतको एकेडेमीमा नेपाली प्रशिक्षक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतको केरलास्थित एल्टिएस इन्टरनेसनल फुटबल एकेडेमी (आइफा) को प्रशिक्षकका रूपमा नेपालका एएफसी ‘सी’ लाइसेन्स प्राप्त प्रशिक्षक समीर विष्ट अनुबन्धित हुनुभएको छ । आइफाले विष्टलाई एक वर्षका लागि सम्झौता गरेको हो ।

आपसी समझदारीमा सम्झौता लम्ब्याउन सकिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार विष्ट एकेडेमीको युवा टोलीको प्रमुख प्रशिक्षकका रूपमा रहनुहुनेछ । विष्टले एएफसी ‘बी’ लाइसेन्स कोर्स पनि पूरा गरिसकेको र छिट्टै प्रमाणपत्र प्राप्त गर्नेक्रममा रहेको बताउनुभयो ।

विष्टले आइफासँग आबद्ध हुन पाउँदा खुसी लागेको बताउनुहुँदै नेपाली फुटबल र भारतीय फुटबलबीच सम्बन्ध स्थापना गर्न अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

विष्टले नेपालको शीर्ष क्लब थ्री स्टार, फ्रेन्ड्स र जावलाखेल युथ क्लबबाट खेलिसक्नुभएको छ । चोटकै कारण खेल जीवनबाट टाढिँदै प्रशिक्षण करिअरमा उहाँ लाग्नुभएको थियो । सन् २०१७ मा फ्रेन्ड्स क्लबको खेलाडी रहँदा नै उहाँले एएफसी ‘सी’ लाइसेन्स प्राप्त गर्नुभएको थियो ।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङलाई भारतका फुटबल अफिसियल सौरभ चाम्लिङ राईमार्फत् प्रस्ताव आएपछि अनिलले विष्टको नाम सिफारिस गर्नुभएको थियो । त्यसपछि क्लबसँगको छलफलपछि सम्झौताले अन्तिम रूप लिएको उहाँले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?