भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर

हिमालय टाइम्स
Read Time = 3 mins

नयाँदिल्ली । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरुद्ध ५२८ मत प्राप्त गर्नुभएको थियो । १६औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गर्नु भएका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताउनुभयो । पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उहाँले जानकारी गराउनुभयो । उहाँ सन् १९७७ यता भएका उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै ठूलो मतान्तरले विजयी हुनुभएको हो ।

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो । बंगालको पूर्वगभर्नरसमेत बनिुसक्नुभएका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । देशका नवनियुक्त उपराष्ट्रपति जगदीप धनखरले ११ गते सपथ लिनेहुने छ । वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगष्ट १० मा समाप्त हुँदैछ ।

धनखर जुलाई २०१९ मा पश्चिम बंगालको राज्यपाल बन्नुभएको थियो । धनकरले मुख्यमन्त्री ममता बेनर्जीसँगको चिसो सम्बन्धका कारण राजीनामा दिनुभएको थियो । भारतको संविधान अनुसार उपराष्ट्रपति देशको दोस्रो ठूलो पद हो । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँ भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बन्नुभएको छ ।

उपराष्ट्रपति पुनद्वारा बधाई तथा सफल कार्यकालको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखरलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । उपराष्ट्रपति पुनले आइतबार शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना गर्नुभएको हो । उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?