सेयरमा दोहोरो अंकको वृद्धि

Read Time = 3 mins

काठमाडौं । साताको पहिलो दिनको सेयर कारोबारमा नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो साता भने सेयर बजार घटेको थियो । आइतबार नेप्से १०.२७ अंकले बढेर बजार २१२३.८२ अंक पुगेको छ भने दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बिमा ०.७५ र व्यापार उपसमूह ३८ अंक बढेका छन् भने जीवन बिमा चार अंक घटेको छ ।

कुल एक सय १८ कम्पनीको सेयरमूल्य बढेकोमा ५९ को घटेको छ भने तीन कम्पनीको स्थिर रहेको छ । मनकामना स्मार्ट लघुवित्तको सबैभन्दा धेरै १० प्रतिशतले सेयर मूल्य बढको छ । कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको शिवम् सिमेन्टको १३ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ ।

यसैबीच डिम्याट खाता खोल्नेको संख्या ५३ लाख नाघेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को तथ्यांकअनुसार २०७९ साउन २२ गतेसम्ममा डिम्याट खाता संख्या ५३ लाख नौ सय ३१ पुगेको छ ।

डिम्याट खाता नेपाल धितोपत्र बोर्डले अनुमति दिएका विभिन्न बैंक, बैंकका सहायक कम्पनी (मर्चेन्ट बैंकर) तथा ब्रोकर कम्पनीमार्फत् खोल्न सकिन्छ । यस्तो खाता खोल्न बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटोसहित स्वयं व्यक्ति नै उपस्थित हुनुपर्छ ।

डिम्याट खाता खोलेपछि निक्षेप सदस्यले १६ अंकको डिम्याट खाता नम्बर प्रदान गर्ने गर्छन् । सो नम्बरपछि मात्रै लगानीकर्ताले प्राथमिक सेयर भर्न वा दोस्रो बजारबाट खरिदबिक्री गर्न सक्नेछन् । पछिल्लो समय दुईभन्दा बढी डिम्याट खाता खोल्न पाइँदैन । दुईभन्दा बढी खाता खोलेमा रद्द हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?