नेपाल बैंक गुलरिया शाखाका अधिकृत फरार

Read Time = 2 mins

दीपककुमार शर्मा/हिटा
बर्दिया । ग्राहकको आइपिएस प्रयोग गरी आफन्तकोमा रकमान्तर गरेको आरोपमा सम्पर्कविहीन भएका नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रमुख धवेन्द्र न्यौपानेको खोजी कार्य जारी रहेको छ । न्यौपाने करिब तीन महिनाअघि मात्रै गुलरियास्थित नेपाल बैंकको शाखामा सरुवा भएर आएका थिए । सुर्खेतबाट सरुवा भएर आएका न्यौपाने गत बुधबारदेखि कार्यालयबाट सम्पर्कविहीन भएको नेपाल बैंकका केन्द्रीय सूचना अधिकारी प्रकाशकुमार अधिकारीले बताउनुभयो ।  अधिकारीका अनुसार बैंकको कसुर गरेको देखिएको छ तर के-कति रकम हो वा कसको हो भन्नेबारेमा खुल्न सकिरहेको छैन । अनुसन्धानका लागि दुईजना कर्मचारी गुलरिया पठाइसकेकाले प्रतिवेदन आएपछि मात्रै थप जानकारी हुन सक्ने उहाँले बताउनुभयो ।

सुर्खेतबाट सरुवा भई गुलरिया गएका न्यौपानेलाई बुधबार नै सुर्खेतको शाखामा केही गडबडी देखिएपछि सुर्खेत शाखाले सम्पर्क गरी कुरा हँुदै गर्दा मोबाइल अफ भएको र आफूहरूले पनि सम्पर्क गर्न खोज्दा सम्पर्क नभएकाले खोजी कार्यका लागि प्रहरीलाई आग्रह गरिएको अधिकारीले बताउनुभयो ।

सुर्खेत र गुलरियामा प्रारम्भिक चरणमा केही रकम हिनामिना भएको देखिए पनि आन्तरिकरूपमा अनुसन्धान जारी रहेकाले सुर्खेत र गुलरियामा के भएको भन्ने थाहा हुने उहाँको भनाइ छ ।

उता परिवार स्रोतका अनुसार करिब एक हप्तादेखि नै सम्पर्कमा नरहेका न्यौपानेलाई शुक्रबार आफन्तले खोजतलास गरिपाऊँ भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा निवेदन दिएको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?