कांग्रेस नेता निधि भारतीय नेताहरूसँगको भेटघाटमा व्यस्त

हिमालय टाइम्स
Read Time = 4 mins

नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले यहाँ विभिन्न दलका नेताहरूसँग भेटवार्ता गरिरहनु भएको छ । निधि र महाराष्ट्रका पूर्वमुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित पवार निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो । एक घण्टा लामो भेटघाटमा नेपालको विकास तथा नेपाल भारत सहयोगका विषयमा कुराकानी भएको जनाइएको छ ।

निधि र पवारबीच कृषि र सहकारी तथा नेपाल-भारत सम्बन्ध र विकासलगायत विषयमा कुराकानी भएको थियो । तीन कार्यकाल महाराष्ट्रका मुख्यमन्त्री हुनुभएका पवार कृषि र सहकारीका ख्यातिप्राप्त अभियन्ता हुनुहुन्छ । आधुनिक कृषिमा महाराष्ट्रको मोडल सह्रानीय मानिन्छ ।

निधिसँगको भेटमा पवारले नेपालमा कृषिका विद्यार्थीलाई उहाँको गृहनगर बारामतीमा कृषि र सहकारीको अध्ययनका लागि निम्तो दिनुभएको छ । निम्तोका लागि धन्यवाद दिँदै निधिले निकट भविष्यमा नेपाली विद्यार्थीलाई अध्ययन भ्रमण गराउने जनाउनुभएको छ । यसैबीच, नेता निधि र भारतका अर्थराज्यमन्त्री पंकज चौधरीबीच नयाँदिल्लीमा भेटघाट भएको छ । नयाँदिल्लीस्थित मन्त्री चौधरीको निवासमा भएको भेटमा नेपाल-भारत सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

यस्तै, उहाँले मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानसँग भेटघाट गर्नुभएको छ । मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासमा सहयोग गर्ने लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

१६ वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहनुभएका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिनुभएको छ । जवाफमा उहाँले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताउनुभएको छ । त्यस्तै नेता निधि र राष्ट्रिय स्वयंसेवक संघ ( आरएसएस) का महामन्त्री (शर कार्यबाह) दत्तात्रेय होसबोलेबीच भेटघाट भएको छ ।

मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माणगरी राख्ने विषयमा कुराकानी भएको बताइएको छ । यस्तै दुई देशको धर्म, संस्कृति, राजनीति, आर्थिक विकास तथा आपसी सम्बन्धबारे छलफल भएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?