निरन्तरताले सफल बनाउँछ : गायिका अनिता

Read Time = 12 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । गायनको क्षेत्रमा आफूलाई स्थापित गर्नुपर्छ भन्ने सोंच गायिका अनिता चलाउनेलाई डेढ दशक नै आइसकेको थियो । सोहीअनुरूप गायनका लागि आवश्यक विभिन्न प्रशिक्षणमा सहभागी हुँदै गायिका अनिताले स्वरलाई निर्खाँदै लानुभयो । फलस्वरूप विसं २०६७ सालमा उहाँले आधुनिक गायनतर्फ रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुभयो ।

औपचारिक रूपमा रेडियो नेपालबाटै स्वर परीक्षा पास गरेपछि उहाँमा गायिका बन्ने रहर झनै बढेर आयो । त्यसपछि उहाँले अझै आफूलाई सिक्नेकुरामा कुनै कमी हुनु हुँदैन भन्ने लागेर विभिन्न ठाउँमा संगीतका क्लास लिने, आफैंले बढी अभ्यास गर्ने गर्नुभयो । त्यसपछि अब गीत रेकर्डमा लाग्नुपर्छ भन्ने सोंच बनाएर गायिका अनिताले आफ्नो स्वरमा विसं २०७२ मा पहिलो गीत रेकर्ड गर्नुभयो ।

सुशील विश्वकर्माको संगीत र विष्णुबाबु देवकोटोको शब्दमा रहेको ‘जति अघि बढे पनि’ बोलको आधुनिक गीत रेकर्ड गर्नुभयो । गायनको यात्रामा आधुनिक गीतबाट पहिलो पाइला चाल्नुभएकी अनिता अहिले लोक तथा दोहोरी गीतकी गायिकाको रूपमा आफूलाई स्थापित गरिसक्नुभएको छ । उहाँलाई आउने अफर र विभिन्न साथीभाई तथा दर्शक, श्रोताबाट आएको प्रतिक्रियाको आधारमा उहाँले लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिनुभयो ।

‘निरन्तरताले सफल बनाउँछ’
गायिका अनिता चलाउनेले कुनै पनि निरन्तरता दियो भने सफलता हाँसिल गर्न सकिने धारणा राख्नुहुन्छ । हरेक क्षेत्रमा बुझाइको आवश्यकता पर्ने र पूर्णरूपमा बुझ्न समय लाग्ने भएकाले निरन्तरता हुनु जरुरी रहेको उहाँले बताउनुहुन्छ । ‘आफूले गर्ने कुनै काममा निरन्तरता हुनैपर्छ । छोटो समयमै मैले सफलता हाँसिल गर्छु भनेर हुँदैन । आफ्नो क्षेत्रलाई राम्रोसँग बुझन् सकियो भने भने प्रगति निश्चित छ’, गायिका अनिताले हिमालय टाइम्ससँग भन्नुभयो, ‘त्यसका लागि निरन्तर रूपमा लाग्नुपर्ने रहेछ ।’ त्यसो त गायिका अनिताले आफ्नो पेशामा आफूले सफलता पाउन अझै बाँकी रहेको बताउनुहुन्छ । अझै गायनको क्षेत्रमा आफूले धेरै कुरा सिक्न बाँकी रहेको र ठूलो सफलता हाँसिल गर्न मिहिनेत गरिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मुख्य कुरा त सफलता केलाई मान्ने भन्ने कुरा हो । यो क्षेत्रमा एकदशक बिताएँ भनेर खुशी भएर सफलता मान्नेकि, यति धेरै गीत गाएँ भनेर सफलता मान्नेकि, अथवा दुई-चारवटा गीत चल्यो म सफल भएँ भनेर मान्ने ? मानिसको मन हो, एकपछि अर्को कुरामा सफल हुन पाए हुन्थ्यो भन्ने लाग्छ ।’

गायिका अनिताको आफ्नो स्वरमा रेकर्ड भएको दोस्रो गीत ‘नाँचिदेऊ झिल्के भाँचिदेउ कम्मर’ बोलको लोकगीत हो । विसं २०७३ सालमा लोकप्रिय गायक पशुपति शर्मासँग स्वर दिनुभएकी अनितालाई यही गीतले बढी दर्शक तथा श्रोतामाझ चिनाउन सफल भयो । यही गीतका कारण विभिन्न स्टेजमा चढ्ने मौका पाउनुभयो । गायक पशुपति शर्मा आफैंमा निकै लोकप्रिय भइरहेको समयमा आफ्नो स्वर मिसाउन पाउँदा त्यो बेलामा अनिताले आफूलाई भान्यमानी ठान्नुभएको थियो । त्यो समयलाई सम्झिँदै भन्नुभयो, ‘आजभन्दा पाँच वर्षअघि गीत रेकर्ड गर्न सजिलो थिएन । गीत रेकर्ड गर्न त सकिन्थ्यो होला तर भिडियो बनाएर सार्वजनिक गर्ने बेलासम्मको बजेट ठूलो लाग्ने भएकाले गाह्रो थियो । त्यसमाथि पशुपति शर्मा दाइसँग गीत गाउने इच्छा धेरैलाई हुन्थ्यो । त्यो इच्छा मेरो पूरा भएको थियो ।’

अनिताले सोही वर्ष गायक रामजी खाँडसँग मिलेर ‘आहा मेरो मायालाई’ बोलको लोकगीत सार्वजनिक गर्नुभयो । उक्त गीतले पनि राम्रो चर्चा बटुल्यो । त्यसपछि मेला महोत्सवमा हिँड्न अनितालाई झनै सजिलो भयो । नेपालभित्र अत्यधिक व्यस्त हुँदै गर्दा अनितालाई विदेशको सांगीतिक कार्यक्रमका लागि अफर आयो । त्यो क्षण उहाँका लागि ठूलो थियो । ‘मलाई विसं २०७४ सालमा विदेशको पहिलो स्टेज कार्यक्रमको रूपमा माल्दिप्सको बाँके-बर्दियाली समाज माल्दिप्सले निमन्त्रणा गर्‍यो । त्यो पहिलो पहिलो कार्यक्रमलाई भुल्न सक्दिन । तीज विशेष कार्यक्रममा पुगेकी थिएँ ।’

स्टेजको रोजाईमा अनिता
नेपाली सांगीतिक क्षेत्रमा गीत गाउँदै पनि जाने र विभिन्न स्टेज कार्यक्रममा प्रस्तुतिका लागि पुग्ने भएकाले गायिका अनिताको दैनिकी तालिका व्यस्त हुन थाल्यो । विशेषगरी सबैसँग मिठो बोल्ने, विभिन्न स्टेज कार्यक्रम सञ्चालक टिमसँग सम्बन्ध सुमधुर राख्ने र स्टेजको प्रस्तुतिले दर्शक तान्न सक्ने भएकाले एकपछि अर्को सांगीतिक कार्यक्रमबाट अफर आउन थाल्यो । अनिताले अहिलेसम्म माल्दिप्ससँगै जापान, कोरिया, कतार र दुबईमा आफ्नो सांगीतिक प्रस्तुति दिइसक्नुभएको छ । अब केही समयमा अष्ट्रेलियाको यात्राका लागि आयोजक टिमसँग कुरा भइरहेको जानकारी गायिकाले दिनुभएको छ ।

अनिताले देशभित्रका दर्जन बढी जिल्लामा प्रस्तुतिकै लागि पुगेको बताउनुभयो ।गायिका अनिताले स्वर दिनुभएका ५० बढी गीतमध्ये ‘नाँचिदेऊ झिल्के’, ‘आहा मेरो मायालाई’, ‘देउडा खेल्छु चट्टै’, ‘विदेशको पिआर छ’, ‘फुटेको चुरा’, ‘यस्तो बनोस मेरो तीज’ बढी चर्चामा आएका गीत हुन् ।

फुटेको चुराले दिलाएको उचाइ
नेपाली सांगीतिक क्षेत्रमा केही समय निकै हिट भएको गीत हो ‘फुटेको चुरा’ । यो गीतमा अनिता चलाउनेसँगै प्रकाश सपुतको स्वर छ । नोभेम्बर ३०, २०२० मा प्रकाश सपुतको युट्युब च्यानलमा अपलोड भएको यो गीतलाई डेढ करोड पटक हेरिएको छ ।

गायिका अनिताले ‘फुटेको चुरा’ गीत बन्नुभन्दा अघिका केही हिस्सा सम्झिनुहुन्छ । उहाँले गायक प्रकाशसँग गीत गाउने इच्छा पहिलेदेखि नै भएको र त्यो अवसर पछिल्लो समयको निकटताले दिलाएको बताउनुभयो । ‘कोरोनाका कारणले लकडाउन भएपछि फुर्सदको समयमा प्रकाश दाइसँग हामी अन्य एक–दुईजना एकै जिमहलमा जिम गर्न जान्थ्यिौं । त्यसैले निकट हुँदै गइयो । मैले एउटा गीत तपार्इंसँग गर्नुपर्छ है भनिरहन्थे । प्रकाश दाइले एक दिन फुटेको चुराको कन्सेप्ट सुनाउनुभयो । मलाई पनि एकदम मनप¥यो र प्रोजेक्ट अगाडि बढेको हो’, अनिता भन्नु हुन्छ, ‘अहिले यही गीतकै कारण अधिकांश दर्शक- श्रोताले चिन्नुहुन्छ । खुशी लाग्छ ।’ यसैगीतबाट गायिका विसं २०७८को वेष्ट म्युजिक अवार्डमा उत्कृष्ट गायिकाको अवार्डसमेत पाउनुभएको थियो ।

यस्तै उहाँले त्यो भन्दा अघि २०७६ मा देउडा खेल्छु चट्टै गीतबाट पनि सर्वोत्कृष्ट देउडा गायिकाको अवार्ड हात पारिसक्नुभएको थियो । यस्तै २०७७ को सातौं तीज म्युजिक अवार्डमा यस्तो बनोस् मेरो गीतबाट उत्कृष्ट मौलिक गीतको अवार्ड पाइसक्नुभएको छ । साथै नेपाल जेसिस उत्कृष्ट युवा छनौट समिति २०२०मा ५० हजार रुपैयाँको नगद राशि र स्वर्ण पदकसहितको उत्कृष्ट युवा पुरस्कार पनि पाइसक्नुभएको छ ।

नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोता
गायिका अनिताले नेपाली कला, साहित्य र संगीतको प्रबद्र्ध गर्ने उद्देश्यले तयारी पारिएको नेपाल टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘सिर्जनाका सारथी’ र ‘संगीत तरंग’मा सञ्चालिकाको भूमिकामा अहिले पनि काम गरिरहनुभएको छ । गीतसंगीतकै क्षेत्रमा लागिरहेकाले टेलिभिजनमार्फत पनि सोही कामको प्रबद्र्धन हुन्छ भन्ने उद्देश्यले आफूलाई कार्यक्रम प्रस्तोता बन्न रुचि बढेको अनिताको भनाइ छ । उक्त कार्यक्रममा नेपाली कला साहित्यमा दशकौं समय बिताउनुभएका साहित्यकार, सर्जकसँग अन्तक्र्रिया गर्नुहुन्छ ।

अहिले भने दुई दिनअघिमात्रै ‘राख लेखेर’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । उक्त तीजगीत अनिताले आफ्नै युट्युबमार्फत सार्वजनिक गर्नुभएको हो । अनिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजीवन सदस्य हुनुहुन्छ भने बर्दियाली कलाकार समाजको कोषध्यक्ष र लायन्स क्लब अफ साधनाको अध्यक्षसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?