चुनौती बन्दै फोहोर व्यवस्थापन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापन हालको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखा परिरहेको छ । यसले गर्दा जनस्तरमा त प्रत्यक्ष प्रभाव पर्ने नै भयो दल तथा राजनीतिक वृत्तमा पनि यो एउटा सशक्त विषय बनेको छ । फोहोरका कारण काठमाडौं उपत्यका यतिबेला कुरूप र दुर्गन्धित बनिरहेको छ । स्थानीय तहको निर्वाचनपछि काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित हुन पुग्नुभयो । उहाँले फोहोरलाई कुनै वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने चुनावी नारा नै बनाउनुभएको थियो । सम्भवतः यसले पनि उहाँको विजयका लागि सघाउ पुर्‍याएको हुनसक्छ । काठमाडौं उपत्यकाको फोहोरको एजेण्डा यस पहिले पनि प्रमुख समस्याका रूपमा रहेकै थियो र निर्वाचनपछि पनि यो सबैको टाउको दुखाइको विषय बनिरहेको छ ।

पहिलेदेखि फाल्दै आएको ठाउँका बासिन्दाको अवरोध पनि छँदैछ, उनीहरूले पनि उपत्यकालाई अप्ठ्यारो पारेर सम्भव हुनेभन्दा बढी नै माग अघि सार्दै आएका छन् । यो समस्या पनि त्यस्तै हो आजको आजै समाधान खोज्नुपर्ने । एक-दुई दिनमात्र ढिलो भएका खण्डमा फोहोरको चाङ बढ्दै जाने । अहिले त्यही भइरहेको छ । कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने पनि भनिएको छ । यसो गर्दा कुहिनेभन्दा पनि नकुहिने फोहोर नै बढी उत्पादन भएको देखिएको छ । जसले गर्दा कुहिनेलाई तुरुन्तै र नकुहिनेलाई विस्तारै व्यवस्थापन गर्दा पनि हुन्छ । तर, समयमा व्यवस्थापन नभएका कारण नागरिकहरूले सबै प्रकारको फोहोर पहिले जसरी नै एकै ठाउँमा मिसाएर सडकमा थुपारेका छन् ।
यसो गर्दा सडकमा फोहोरका थुप्राहरू जताततै थुप्रिएका छन् । अहिले वर्षात्को समय छ । गर्मी महिना भएका कारण दुर्गन्धबाट रोगहरू फैलिने सम्भावना त्यत्तिकै छ भने अर्कातिर पानीले सडकमा त्यसरी राखिएका फोहोरलाई बगाउने र सडकमा छिन्नभिन्न पार्ने गरेको छ ।

फोहोरको यो समस्या अहिलेको सबैभन्दा ठूलो समस्या हो । एकातिर नागरिकको स्वास्थ्यको कारण र अर्कातिर सहरको सुन्दरता यी दुवै दृष्टिकोणबाट यो तुरुन्तै समाधान गरिहाल्नु पर्ने खालको समस्या भएका कारण यसतर्फ सबैको ध्यानाकर्षण हुनैपर्छ । यो राजनीति गर्ने विषय होइन । पार्टीहरूबीच समर्थन र विरोध गर्ने विषय पनि होइन । यसैगरी, काठमाडौं महानगरपालिकाको मात्र जिम्मेवारीमा पनि यसलाई राखिनु हुँदैन । महानगरपालिका अरू विभिन्न स्थानीय निकाय जस्तै एउटा निकाय हो ।

सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने सन्दर्भमा यो महानगरकै जिम्मेवारीमा पर्छ तर महानगरले समाधान गर्न नसकेका खण्डमा सरकारले पनि यसका लागि पहल गर्नुपर्छ । हाल जब यो समस्या जटिल बन्दै गएको छ यस अवस्थामा सरकारले नै यसको समाधानका लागि अगुवाइ गर्नुपर्छ । महानगरको जिम्मेवारी हो भनेर सरकार पन्सिने हो भने महानगरपालिकाले मात्र समाधान गर्न नसकेको यो समस्या अझै लम्बिनेछ । महानगरपालिकाका प्रमुखलाई पनि म स्वतन्त्र उम्मेदवारबाट विजयी भएर आएको कारण मलाई दलहरूले असहयोग गरे भन्ने पर्नु राम्रो होइन । फेरि संघीय संसद् तथा प्रदेशको निर्वाचन आउनै लागेको छ । काठमाडौंबाट उम्मेदवार बन्नेहरूका लागि त यही विषय चुनावी एजेण्डा बन्न सक्छ ।

यसो गर्दा साँढेहरूको जुधाइमा बाच्छाका रूपमा नागरिकहरू मिचिने हुन् । त्यसैले काठमाडौंलगायत उपत्यकाको यो फोहोरमैलाको समस्या चुनावी एजेण्डा बन्नु हुँदैन । नागरिकको स्वास्थ्य, सहरी सुन्दरता, पर्यटकीय आयआर्जन सबै दृष्टिकोणबाट यो समस्या तुरुन्त समाधान हुनुपर्छ । एकातिर फोहोर व्यवस्थापनमा ढिलाइ भइसकेको छ भने अर्कातिर महानगरपालिका अझै केही दिन ढिला हुनसक्छ भन्दैछ । यसले गर्दा नगरवासीहरू अझै केही दिन प्रतीक्षामै रहनुपर्ने बाध्यतामा छन् । जसले गर्दा नगरिकहरूले पनि आ-आफ्नो घरको फोहोर सकेसम्म आ–आफ्नै घरमा व्यवस्थापन गर्नुपर्ने देखिन आउँछ । त्यसैले फोहोर जस्तो संवेदनशील विषयमा राजनीति गरिनु हुँदैन र व्यवस्थापन पनि सकेसम्म छिट्टै गरिनुपर्ने हुन्छ । यो सबैको दायित्व हो भन्ने ठानेर यसको समाधान सबैबाट खोजिनु उचित हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?