बेसहारा, अनाथ र मानसिक विरामीहरुको सहारा बनेको अभियान नेपाल आफैँ सहारा खोज्दै

Read Time = 9 mins
A A- A+

-रामचन्द्र रायमाझी
पाल्पा । दातृ निकायहरुको सहयोगमा २०६१ सालदेखि तानसेनमा रहेर बेवारिसे÷अनाथ बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सहारा बन्दै आएको अभियान नेपाल यति बेला आफै बेसहारा जस्तै भएको छ । बेवारिसे, अनाथ र मानसिक सन्तुलन गुमाएकाहरुको संख्या दिनप्रति दिन बढ्दै गएपछि संस्थालाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ ।

विगतमा सहयोग र समन्वय गर्ने गरी साझेदारी गरेका केही संस्थाहरुबाट नै सहयोग नभएपछि व्यवस्थापनमा समस्या हुँदै गएको हो । कयौं बेवारिसे, अनाथ बालबालिका र व्यक्तिहरुको उद्दार गरिसकेको अभियान नेपालमा अहिले कहिँ कतैबाट पनि सहयोग नभएपछि बेसहारा जस्तै बनेको हो । सडकमा बेवारिसे अवस्थामा रहेकाहरुको उद्दार गर्ने गरी दुई दशक अघि स्थानीय केही प्रभुत्व व्यक्तिहरुले अभियान नेपाल नामक संस्था स्थापना गरेर २०६१ देखि विधिवत रुपमा काम गर्दै आएका थिए ।

अभियान नेपालले अनाथ बालबालिका र मानसिक विरामीहरुको छुट्टाछुट्टै व्यवस्थापन गर्दै आएको छ । संस्थाले अनाथ, बेवारिसे बालकालिकाहरुको लागि सिलोम आवसीय बाल गृह र मानसिक विरामीका लागि नवजीवन पुर्नस्थापना केन्द्रमा राखेर व्यवस्थापन गर्दै आएको छ । सुरुमा सिलोम आवसीय बाल गृहमा रहेका बालबालिकाहरु लागि मिसन अस्पतालका तत्कालिन निर्देशक डा. डिग्वे हिलले सहयोग गरे पनि पुर्नस्थापना केन्दका लागि भने केही दातृ संस्थाहरुले सहयोग गर्ने गरी अभियान नेपाल अगाडि बढेको थियो । तत्कालीन समयमा बेवारिसे, अनाथ र मानसिक विरामीहरुको संख्या न्यून भए पनि अहिले भने धेरै नै रहेका छन् ।

मानव सेवामा सक्रिय रहेको अभियान नेपालसँग तानसेन नगर सरकार, तत्कालिन जिल्ला विकास समिति (जिल्ला समन्वय समिति) र युनाइटेड मिसन अस्पतालले साझेदारी गर्ने गरी नवजीवन पुर्नस्थापना केन्द्र सञ्चालन गरिएको थियो । सुरुका दिनमा यिनीहरुबाट केही सहयोग भए पनि अहिले तानसेन नगर सरकार र जिल्ला समन्वय समितिले भने चासो देखाएका छैनन् । जसका कारण संस्थालृ व्यवस्थापन गर्न सहारा खोजेको छ । अहिले युनाईटेड मिसन अस्पतालले सहयोग गर्दै आए पनि अनाथ बालबालिका र मानसिक विरामीहरुको संख्या धेरै भएकाले समस्या उत्पन्न भएको नेपालका अध्यक्ष पुन नारायण श्रेष्ठले बताउनुभयो । अभियान नेपालले बेवारिसे, अनाथ बालबालिकाहरुको पठन–पाठनसँगै लालन पालन र मानसिक विरामीहरुको स्वास्थ्य उपचार गर्दै आएको छ । अहिले १९ जना अनाथ,बेवारिसे बालबालिका र १० जना मानसिक विरामीहरुको व्यवस्थापन गर्दै आएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यस्ता व्यक्तिहरुको संख्या बढ्दै गएको छ ,आर्थिक अभावका कारण उनीहरुको पालन पोषण, शिक्षा र स्वास्थ्यको व्यवस्थापनमा चुनौती बन्दै गएको छ ।’ नेपालले यहाँ रहेका बालबालिकाहरुलाई शिक्षा समेत प्रदान गर्दै आएको छ । धुर्वघाटमा आफ्नै भवन निर्माण गरी नेपालले बालबालिकाहरुको संरक्षण गर्दै आएको हो । तानसेन बौघा गुम्हाकी पवित्रा राना विगत १४ वर्षदेखि यसै संस्थाको संरक्षणमा रहँदै आउनुभएको छ । उहाँ हाल दमकडा माविमा आइटी इञ्जिनियरिङ विषयमा अध्ययन गर्दै आउनुभएको छ । भविष्यमा उहाँले आफू जस्तै बेसहारा बालबालिकाको उद्दारमा लाग्ने उद्देश्य राखेको बताउनुहुन्छ । उहाँ जस्ता यहाँ १९ जना बालबालिकाहरु रहेका छन् । उनीहरु सेन कपितानियो र भूषलडाँडा माविमा अध्ययन गर्दै आएका छन् । विभिन्न कारणले अनाथ जीवन गुजारिरहेका बराङ्दीकी प्रेरणा भण्डारी, नवलपुरकी मति सारु र रिब्दीकोटकी सलिना मल्ले आफूहरुले नयाँ जीवन पाएको भन्दै भविष्यमा राम्रोसँग अध्ययन गरी सामाजिक सेवामा लाग्ने बताउँछन् । सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिकाहरुको उद्दार गरी उनीहरुको शिक्षा, दिक्षा र पालनपोषणमा सहयोग भएपछि अनुसाशासनसँगै पढाईमा अब्बल बन्दै गएको संस्थाकी कर्मचारी अम्बिका सारु बताउनुहन्छ ।

बालबालिकाको पालन पोषण र रेखदेख गर्दै आएकी इन्दिरा बुचा आफ्नै भाइबहिनीहरुको रुपमा सेवा गर्न पाएकोमा उत्साहित हुनुहुन्छ । अभियान नेपालले मानसिक विरामीहरुका लागि भने तानसेन ६ सन्ढाप रहेको आफ्नै भवनमा राखेर व्यवस्थापन मिलाएको छ । उसले मानसिक सन्तुलन गुमाएर सडकमा वेवारिसे अवस्थामा रहेका र आर्थिक अभावमा उपचार नपाएका असहाय, असशक्तहरुको व्यवस्थापन गर्दै आएको छ । यहाँ अहिले १० जना विरामीहरुको उपचार र संरक्षण हुँदै आएको छ । तर आर्थिक अभावका कारण उनीहरुको व्यवस्थापनमा भने अहिले समस्या भएको छ । संस्था बेसहारा बने पनि बेसहाराको उद्दारमा भने विचल्लित भएको छैन । उसले संस्थामा रहेकाहरुको संरक्षण, औषधी उपचार र दैनिक व्यवस्थापनमा सहयोगी हातहरु खुम्चिन लागेपछि व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती सञ्चालन गरेको छ । सहयोगी हातहरु नभएपछि व्यवसायिक कृषिमार्फत आम्दानीको स्रोत खोजी गरिएको संस्थाका उपाध्यक्ष डिलबहादुर ढुंगनाले बताउनुभयो । तानसेनका सडकमा विगत लामो समयदेखि मानसिक सन्तुलन गुमाएर हिड्ने साइला दाईदेखि विरगञ्जका हजारी महतो जस्ता ३३ जनाको संस्थाले उद्दार गरिसकेको छ । उद्दार गरिएका मध्ये अधिकांशलाई संस्थाले घरपरिवारसँग पुर्नमिलन गराइदिएको छ भने केहीलाई प्रहरीको सहयोमा मानव सेवाश्रममा पठाएको छ । बेवारिसे भएकाहरुको उद्दार गरी घर पठाउन पाँदा आफुहरुलाई अत्यन्त खुसी लाग्ने गरेको सोलुखुम्बु घर भई विगत ५ वर्षदेखि संस्थामा कार्यरत इन्चार्ज फुलु राई बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘यहाँ अनाथ बालबालिका र मानसिक विरामीका व्यक्ति बढ्दै जाँदा आर्थिक अभावमा व्यवस्थापनमा समस्या हुँदै गएको छ ।’ स्थानीय सरकार सहाराविहीनहरुको सहारा बन्नुपर्ने हो । तर विडम्बना न मानव सेवामा लागेका संस्थालाई कुनै सहयोग गरेका छन् नत सहाराविहीनहरुको सहारा नै बन्न सकेका छन् । उनीहरुको कुशल अभिभावकको दायित्व निर्वाह गर्नुपर्ने स्थानीय सरकार उनीहरु प्रति मौन देखिने गरेको पत्रकार प्रकाश नेपालले बताउभयो । उहाँ भन्नुहुन्छ ‘सरकार पहुँचावाला र सशक्त भएका व्यक्तिको लागि मात्रै हो जस्तो छ । सहाराविहीन दुःखी गरिवका लागि सरकार छैन । यो बिडम्वना हो ।’ मौलिक अधिकारको रक्षा र परिपूर्ति गर्ने कुरामा स्थानीय सरकार संवेदनशील बन्नुपर्ने नेपाल बताउनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?