सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा सिटौला चयन, अर्को बैठक २६ साउनमा बस्ने

Read Time = 3 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो तीन बजेदेखि बसेको कार्यदलको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै सूचना तथा सञ्चार मन्त्री समेत रहनु भएका  कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अर्को बैठक साउन २६ गते फेरि बस्ने बताउनु भयो ।

कार्कीले  आजको बैठकमा सबैले आआफ्नो दृष्टिकोण राखेको बताउनु भयो । नेता कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजक तोकेको उहाँले जानकारी दिनु भयो ।

यसैगरी उहाँले बैठकमा सबैले दलगत धारणा राखेको बताउनु भयो । गठबन्धनको सिट बाँडफाँटका विषयमा छलफल भएको र चुनाव पछि पनि गठबन्धनलाई कसरी लिएर जाने भन्ने विषयमा छलफल भएको बताउनु भयो ।

बैठकमा लोसपालाई पनि गठबन्धनमा सामेल गर्नेबारे छलफल भएको र उक्त निर्णयको जिम्मेवारी शीर्ष नेताहरूको रहेको कार्कीले बताउनु भयो ।

साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले कार्यदल बनाएको थियो ।

अहिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । काँग्रेसका केही नेताहरुले १०० सिट पाउनु पर्ने दाबी गरिरहेका छन् । यस्तै, अन्य दलहरुले भने ८० देखि ८५ सम्म सिट दाबी गरेका छन् ।

कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की हुनुहुन्छ । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?