रुविका र दिनेश वर्षका उत्कृष्ट

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । नेपाल आइटिएफको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । महोत्सव पोखरा रंगशालाअन्तर्गत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा भएको हो ।

सो अवसरमा आइटिएफका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट र नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाँडादेवी गाउँपालिकाका पूर्वअध्यक्ष तथा एकेडेमीका संरक्षक प्रेमबहादुर तामाङलाई सम्मान गरियो ।

बागमती प्रदेशकी रुविका खड्का र नेपाल आर्मीका दिनेश बुढा मगर वर्षका उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवैले १० हजार रुपैयाँ पुरस्कार पाउनुभयो । मोरङका राजेन्द्र धिमाल वर्षको उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँले पनि १० हजार रुपैयाँ पुरस्कार पाउनुभयो । नेपाल आइटिएफका पहिलो व्याचका ब्ल्याक बेल्ट गोपाल श्रेष्ठले आउट स्ट्यान्डिङ अवार्ड पाउनुभयो । नवलपुर उत्कृष्ट जिल्ला घोषित भयो । काभ्रेका रिक्सन तामाङ राइजिङ स्टार घोषित हुनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तेज गुरुङ, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेप सदस्य मानदेव हजारा, राजेश गुरुङ, राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक तथा नवौँ राष्ट्रिय खेलकुदका सचिवालयका प्रमुख फणिन्द्र पौडेललगायतको उपस्थिति थियो ।

नेपाल आइटिएफका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाको सभापतित्वमा कार्यक्रम भएको थियो । सो अवसरमा धमलाले गण्डकी प्रदेशको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रमको व्यवस्थापन गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघले गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?