बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

हिमालय टाइम्स
Read Time = 4 mins

-डम्मर बुढा मगर

बागलुङ । जिल्ला कारागार बागलुङमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । कारागारमा पुरुष ५० र महिला २० जना गरी ७० जनाको क्षमता रहेकोमा हाल १७६ कैदीबन्दी बस्दै आएका छन् । कारागारमा पुरुष १६६ र महिला १० गरी १७६ जना कैदीबन्दी रहेका छन् ।

महिला कैदीबन्दीसँग हाल तीनजना नाबालकसमेत कारागारमा रहेका छन् । कारागारमा हाल ८१ कैदी र ९५ जना थुनुवा रहेका छन् । कैदीतर्फ ७७ पुरुष र तीन महिला रहेका छन् भने थुनुवातर्फ ८७ पुरुष र सात महिला रहेका छन् । कारागारमा ठाउँको अभाव हुँदा महिलाभन्दा पुरुष कैदीबन्दीलाई समस्या भएको हो । पुरुष कैदी तथा थुनुवालाई जाडो र गर्मी सबैखाले मौसममा बस्न र सुत्नका लागि समस्या पर्ने गरेको छ ।

कारागारमा ठाउँको अभाव हुँदा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी बस्नुपर्ने बाध्यता रहेको छ । ठाउँ अभाव हुँदा कैदीलाई कोचाकोच गरेर सुत्न, बस्न, हिँड्डुलमा समस्या भएको छ भने शौचालय जान पनि पालो लगाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागार बागलुङ कार्यालयका प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो । ‘कैदीबन्दीहरू क्षमताभन्दा दोब्बर बढी छन्, ठाउँ सानो छ, पुरुष कैदीबन्दीहरूलाई सुत्न, चर्पी जानलगायतका कार्यहरूमा निकै अप्ठ्यारो भएको छ,’ कारागार प्रमुख केसीले भन्नुभयो, ‘महिला कैदीबन्दीहरूलाई अहिले समस्या छैन, २० जनाको क्षमतामा १० जनामात्रै छन् तर पुरुष कैदीबन्दीहरूलाई निकै समस्या छ ।’

कारागारमा सबैभन्दा धेरै करणी मुद्दाका कैदी तथा थुनुवा रहेका छन् । जसमध्ये जबरजस्ती करणीका २२ कैदी र २२ थनुवा, हाडनाता करणीका पाँच कैदी र दुई थुनुवा तथा जबरजस्ती करणी उद्योगमा पाँच कैदी र तीन थुनुवा गरी कुल ३२ कैदी र २७ थुनुवा रहेका छन् । त्यस्तै, कर्तव्य ज्यान मुद्दामा २२ कैदी र ३१ थुनुवा गरी ५६ जना रहेको केसीले जानकारी दिनुभयो ।

कर्तव्य ज्यानतर्फ पुरुषतर्फ २१ कैदी र २७ थुनुवा रहेका छन् भने महिलातर्फ तीन कैदी र चार थुनुवा रहेका छन् । लागूऔषध मुद्दामा कैदीतर्फ चार र पाँच थुनुवा गरी कुल नौजना रहेका छन् । सवारी ज्यानतर्फ कुल एक कैदी र सात थुनुवा रहेका छन् । ज्यान मार्ने उद्योगतर्फ एकजना कैदी रहेका छन् भने सातजना थुनुवा रहेका छन् । बहुविवाहतर्फ नौजना थुनुवा र एकजना कैदी रहेका छन् । नौजना थुनुवामध्ये दुईजना महिला रहेका छन् ।

चोरीको मुद्दामा हाल दुईजनाले कैदी जीवन बिताइरहेका छन् भने आठजना थुनुवा रहेका छन् । मानव बेचबिखन मुद्दामा एकजना कैदी रहेका छन् भने एकजना थुनुवा रहेका छन् । हातहतियार खरखजना मुद्दामा नौजनाले कैदी जीवन बिताइरहेका छन् भने एकजना थुनुवा रहेका छन् ।

त्यस्तै, ठगी मुद्दामा एक, वैदेशिक रोजगारी कसुरमा एकजना कैदी रहेका छन् । कारागारमा भएको समस्या समाधानका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको कारागार कार्यालयको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?