क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा प्रभाकर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक वर्षका लागि प्रभाकरलाई नियुक्त गरेको जनाएको छ ।

पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो । पूर्वभारतीय क्रिकेटरसमेत रहनुभएका प्रभाकरले भारतबाट ३९ टेस्ट र १३० ओडिआई खेल खेल्नुभएको छ । ओडिआईमा उहाँले दुई शतक र ११ अर्धशतकसहित एक हजार ८५८ रन बनाउनुभएको छ । टेस्टमा उहाँले १५७ विकेट लिनुभएको छ । टेस्टमा ९६ विकेट लिँदा उहाँले एक शतकसहित एक हजार ६०० रन बनाउनुभएको छ ।

उहाँले प्रशिक्षकका रूपमा अफगानिस्तानसँगै रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेशको टोली सम्हालिसक्नुभएको छ । ५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई क्रिकेटमा बलियो बनाउनका लागि काम गर्न चाहन्छु,’ क्यानसँगको सम्झौतापछि उहाँले भन्नुभएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले उहाँसँग एक वर्षको सम्झौता भएको बताउनुभयो । उहाँले भारतीय टोलीको ओपनिङ सम्हालिसकेको तथा बलिङ र ब्याटिङ दुवैमा राम्रो दख्खल भएकाले नेपाली टोलीलाई फाइदा पुग्ने मल्लको जिकिर छ ।

प्रभाकर सन् २०१५ अन्तिममा अफगानिस्तानको बलिङ प्रशिक्षकमा नियुक्त हुनुभएको थियो । अफगानिस्तानले २०१६ को टी-२० विश्वकपमा पनि उहाँकै बलिङ प्रशिक्षकत्वमा खेलेको थियो । नेपालले अगस्ट चौथो सातादेखि केन्यामा गएर पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज र तीन एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । उक्त भ्रमण प्रभाकरको पहिलो नेपाली टोलीबाट भ्रमण हुनेछ ।

नेपालले अगस्ट अन्तिम साता एसोसियट टोलीमध्येको सर्वाधिक सफल देश केन्यासँग सिरिज खेल्न लागेको हो । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँचपटक एकदिवसीय विश्वकप खेलेको थियो । केन्याले सन् २००० देखि २००४ सम्म गरी तीनपटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्याको स्तर धेरै खस्किएको छ । असल नेतृत्वको कमी र आन्तरिक राजनीतिका कारण कमजोर बन्दै गएको छ ।

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘बी’ खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् ।

नेपाललाई सबैभन्दा ठूलो चुनौती अब आइसिसी विश्वकप लिग-२ बाट १६ खेल खेल्दै ओडिआई मान्यता जोगाउनुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन १६ मध्ये कम्तीमा १० खेल जित्नुपर्ने हुन्छ । त्यसका लागि क्यानले उच्चस्तरको प्रशिक्षक नियुक्त गर्नुबाहेक अन्य विकल्प छैन ।

नेपाली टोलीका लागि मुख्य प्रशिक्षक प्रभाकरले अब निभाउनुपर्ने मुख्य भूमिका गुटबन्दीको अन्त्य हो । पछिल्लो समय आएको खराब नतिजाको कारण नेपाली टिम एकताबद्ध भएर जान नसकेकोलाई लिन सकिन्छ । यस्तै नेपालको कमजोर ब्याटिङ सुधार्नु अबको प्रशिक्षकको मुख्य चुनौती हुनेछ ।

त्यसबाहेक २०१८ देखि २०२३ सम्म नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई आगामी पाँच वर्षसम्म निरन्तरता दिनु नयाँ प्रशिक्षकलाई चुनौती हुनेछ । यसका लागि जारी रहेको विश्वकप लिग टुको शीर्ष पाँचमा रहनु जरुरी रहेको छ । शीर्ष पाँचमा रहन नेपालले लिग टुका बाँकी रहेका १६ खेलमा कम्तीमा पनि आठ-नौ खेल जित्न आवश्यक रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?