विकाससँग जोडिएपछि उज्यालिँदै ज्यामरुककोट

हिमालय टाइम्स
Read Time = 8 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको इतिहास १५औँ शताब्दीको विरासतसँग जोडिएको छ । करिब ६ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, खड्गभवानी कोत पुरातात्विक र पर्यटकीय महत्वले समेत जिल्लाकै महत्वपूर्ण कोत मानिन्छ । समुद्री सतहदेखि १ हजार ६४८ मिटर उचाइमा रहेको ज्यामरुककोटमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण र यातायात तथा सञ्चारको विकासको उज्यालो छिरेपछि बल्ल जिल्लाकै महत्वपूर्ण ऐतिहासिक स्थल उज्यालिँदै छ ।

१५औँ शताब्दीमा थापाहरूले राज्य गरेको ज्यामरुककोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले गण्डकी प्रदेश, बेनी नगरपालिका, वडा कार्यालय र स्थानीयले पूर्वाधार निर्माणमा तीव्रता दिएका छन् । थापा र मल्लकालीन विरासत बोकेको ऐतिहासिक र पुरातात्विक महत्वले युक्त खड्भवानी कोत परिसरका ऐतिहासिक सम्पदाहरू विकाससँग जोडिन थालेका छन् । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७६/७७ मा २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो ।

यसैगरी गत आर्थिक २०७७/२०७८ मा नगरपालिकाको पर्यटनतर्फबाट पाँच लाख र वडा कार्यालयको दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको बेनी नगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

त्यसैगरी २०७८/०७९ मा बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको करिब आठ लाखको लगानीमा प्रवेशद्वारसहित पक्की सिँढी निर्माण गरेपछि ऐतिहासिक स्थल खड्गभवानी कोत चिटिक्क देखिएको उहाँको भनाइ छ । यस्तै चालु आर्थिक वर्षमा खड्गभवानी कोतको विकास र पूर्वाधार निर्माणका लागि नगरपालिका र गण्डकी प्रदेशबाट गरी आठ लाख बजेट प्राप्त भएको र सो बजेटले कन्थराजथानदेखि कोत परिसर जोड्ने बाँकी पदमार्ग निर्माण गरिनुका साथै फूलपातीदेखि कोत प्रवेशद्वारसम्म पक्की सिँढी निर्माण गर्ने योजना रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्कीका अनुसार जिल्लाकै महत्वपूर्ण ऐतिहासिक स्थल खड्गभवानी कोत परिसर केवल ऐतिहासिक स्थलमात्रै नभएर प्रशस्तै पर्यटकीय सम्भावना रहेको सदरमुकाम बेनी बजारदेखि नजिकैकै महत्वपूर्ण ठाउँ पनि हो ।

यस ठाउँको महत्व उजागर गरेर प्रचारप्रसार गर्नुका साथै थप आवश्यक पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सक्ने हो भने यहाँ प्रशस्तै पर्यटकहरू आउन सक्ने प्रवल सम्भावना रहेको अध्यक्ष कार्कीले बताउनुभयो । यस स्थानको विकास र पर्यटन विस्तारका लागि भूतपूर्व वडाध्यक्ष हिराबहादुर थापा र वर्तमान अध्यक्ष कार्कीको धारणा समान रहेको छ । ‘भौतिक पूर्वाधार निर्माणसँगै अँध्यारोमा रहेको ज्यामरुककोट विस्तारै उज्यालिँदै छ, अब खड्गभवानी कोतको आधुनिक शैलीमा पुनर्निर्माण गरी प्राचीन सम्पदाहरूलाई सुरक्षित राख्न सक्ने हो भने यो स्थान जिल्लाकै उत्कृष्ट स्थान बन्न सक्छ,’ पूर्व वडाध्यक्ष थापाले बताउनुभयो ।

‘मन्दिरलाई आधुनिकरूपमा पुनर्निर्माण गरेर आवश्यक पर्यटक लक्षित पूर्वाधार निर्माण गर्न सक्ने हो भने यहाँ धार्मिकमात्र नभएर विदेशी पर्यटकहरूसमेत आउन सक्ने प्राकृतिक सुन्दरता छ,’ वडाध्यक्ष कार्कीको भनाइ छ । पूर्वअध्यक्ष थापाका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरूसमेत रहेका छन् । अध्यक्ष कार्कीका अनुसार ज्यामककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगमस्थल बनाउने प्रयास गरिएको छ ।

विक्रम सम्वत १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा थापा राजाहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायत हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् । पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको ऐतिहासिक स्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको वडाध्यक्ष कार्कीको भनाइ छ । वडाध्यक्ष कार्कीले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।

पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत दर्जनौँ हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौँ ग्रामीण बस्ती देखिन्छ । गुरुयोजनासहित धार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयवासीले सक्रियता देखाउन सके ग्रामीण भेगमा आन्तरिक तथा बाहृय पर्यटकको आगमनले स्थानीयलाई होमस्टे सञ्चालनमा टेवासँगै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावनाहरू रहेका स्थानीय समाजसेवी टीकाबहादुर कार्कीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?