‘पढ्दै र कमाउँदै’ एनआरएनए परियोजना

Read Time = 6 mins

काठमाडौं । विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘पढ्दै र कमाउँदै’ परियोजना सञ्चालनमा ल्याउने भएको छ । परियोजनाका संयोजक तथा एनआरएनएका उपमहासचिव रामशरण सिंखडाले विद्यालयस्तरका बालबालिकालाई व्यावसायिक शिक्षामार्फत् आत्मनिर्भर बनाउन एनआरएनएले परियोजना सञ्चालन गर्न लागेको जानकारी दिनुभएको छ ।

एनआरएनएको ‘पढ्दै र कमाउँदै’ परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजना अवधि छ वर्षको हुने संयोजक सिंखडाले बताउनुभएको छ । परियोजनाको मुख्य उद्देश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीलाई व्यावसायिक शिक्षा प्रदान गर्दै आर्थिकरूपमा समेत सबल बनाउने रहेको एनआरएनएले जनाएको छ । अभावका कारण बिचैमा पढाइ छोडेर वैदेशिक रोजगारीमा जाने विपन्न वर्गलाई लक्षित गर्दै परियोजना अगाडि सारिएको एनआरएनएको भनाइ छ । परियोजनाबाट विद्यार्थीले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत् आर्थिक उपार्जनका लागि सहयोग पुग्ने एनआरएनएले जनाएको छ ।

परियोजनाले त्यस्ता विद्यार्थीका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सीप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनका लागि आवश्यक सहयोग गर्नेछ । ‘पढ्दै र कमाउँदै’ परियोजना सम्पन्न गर्न एनआरएनएले एक कार्यदलसमेत गठन गरेको छ । कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिंखडा र उपाध्यक्षमा रविन्द्र खड्का (डेनमार्क), मिलन छन्त्याल (आयरल्यान्ड) रहनुभएको छ ।

सदस्य-सचिवमा बाबा राजेश्वरी थापा अस्ट्रिया र सदस्यमा राजु अर्याल नर्वे, दिपक शर्मा अस्ट्रेलिया, विष्णु रानामगर अमेरिका, तेजबहादुर थापा साउदी, नवीन विक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजील्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके, ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, संगीता अधिकारी सुवेदी जापान, राजकुमार उपाध्याय अस्ट्रिया, सुभा एल्मेर लामा स्विजरल्यान्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइप्रस, सन्तोष भट्ट जर्मनी र डा. विनोद पौडेल टर्की रहनुभएको छ ।

कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा. विष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा. बद्री केसी, जनज्योति उमाविका प्रधानाध्यापक नारायण सिग्देल रहनुभएको एनआरएनएका समाचार संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।

सरकारले पनि चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत् पढ्दै र कमाउँदै कार्यक्रमलाई जोड दिएको छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यका साथ विद्यार्थीलाई कक्षाकोठाबाटै व्यावसायिक ज्ञान र सीप प्रदान गर्न कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । अघिल्लो आवमा एक सय ४० विद्यालयमा सञ्चालित पढ्दै र कमाउँदै कार्यक्रम सयवटा विद्यालयमा विस्तार गर्न सरकारले बजेट विनियोजन पनि गरेको छ ।

शिक्षासँगै सीप भन्ने अभियानका साथ माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गरिने, माध्यमिक तह उत्तीर्णसँगै स्वावलम्बी बन्न सक्ने गरी विद्यार्थीलाई कुनै एक व्यावसासिक दक्षता हासिल गराई रोजगार वा स्वरोजगार बन्न सक्षम बनाइने बजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै प्राविधिक विषयको स्नातक तह र अन्य विषयमा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई स्थानीय तहको योजना निर्माण र ग्रामीण विकासमा योगदान गर्ने गरी न्यूनतम ९० दिनको स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?