असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरूको अर्थ मन्त्रालयमा धर्ना

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायव सुब्बाहरूले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालय अगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नासुहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

असमान ढंगले तलब वृद्धि गरिँदा आफूहरू मर्कामा परेको भन्दै नासुहरूले सोमबार सिंहदरबारभित्र ‘पेन डाउन’ गरेका छन् । असमान तलवृद्धिको विरोधमा मंगलबार देशैभरका नासु बिदामा बस्दैछन्, यो आन्दोलनकै कार्यक्रमअन्तर्गत हो । उनीहरूले भइपरी आउने बिदा लिने भएका छन् । असमान तलब वृद्धिविरुद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा कर्मचारीले उठाएका माग पनि सम्बोधन गर्न दबाब दिन उनीहरूले आन्दोलनलाई तीव्रता दिएका हुन् । नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले दुई कारणले नासुहरू आन्दोलनमा उत्रनुपरेको बताउनुभयो । पहिलो, कर्मचारीको तलब वृद्धि समान ढंगले नहुने देखिएपछि विरोध गरिएको हो ।

दोस्रो भने निजामती सेवा ऐनमै कर्मचारी सरुवा चक्रिय र पूर्वानुमान हुनुपर्नेजस्ता व्यवस्था हुनुपर्छ भन्नेछ । तलब वृद्धि गर्ने भए राजपत्रांकित र राजपत्र अनंकित, श्रेणीविहीनको पनि समान हिसाबले गरिनुपर्ने उहाँले बताउनुभयो । होइन भने बजेट भाषणमा भनेअनुसार १५ प्रतिशत तलब वृद्धि लागू हुनुपर्ने उनीहरूको भनाइ छ । नासुहरूले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर पनि असमान तलब वृद्धि नगर्न माग गरेका छन् । कर्मचारीको मर्यादा मिलाउने भन्दै अर्थको प्रस्तावमा शाखा अधिकृतमाथिको तलब वृद्धि गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको थियो ।

बजेटमा कार्यालय सहयोगीदेखि मुख्यसचिवको तलब १५ प्रतिशतले वृद्धि भए पनि केही दिनअघि सार्वजनिक तलब स्केलमा शाखा अधिकृतमाथिको तलब २४ देखि २६ प्रतिशतसम्म वृद्धि भएको पाइएकाले विरोध गरिएको उहाँले बताउनुभयो । ‘नासु, खरिदार र त्यस तलका कर्मचारीको १५ प्रतिशत मात्रै तलब वृद्धि भएको पाइयो, तर अधिकृतमाथिको तलब २६ प्रतिशतसम्म बढ्ने देखियो । यो असमान भयो,’ उहाँले भन्नुभयो, ‘यसको विरुद्धमा हाम्रो आन्दोलन हो, असन्तुष्टि जनाएको हो ।’

अर्कोतर्फ निजामती सेवा ऐन छिटो जारी गर्न र आफूहरूका माग सम्बोधन गर्न नासु बचाऊ अभियानले आन्दोलन गरिरहेको भट्टराईले बताउनुभयो । ‘प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था लागू छ । संघमा पनि तहगत व्यवस्था लागू हुनुपर्छ र यो व्यवस्था संघीय निजामती ऐनमै व्यवस्था गरिनुपर्छ,’ उहाँले भन्नुभयो । उनीहरूले शाखा अधिकृत र सोसरह पदपूर्तिमा ३० प्रतिशत बढुवाको व्यवस्था राख्नुपर्ने पनि बताएका छन् । साथै सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने उहाँले बताउनुभयो । ‘यो व्यवस्था ऐनमा नै राखियो भने पावरका आधारमा कर्मचारीको सरुवा र बढुवा रोकिन्छ,’ उहाँले भन्नुभयो ।

बजेट भाषणअनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलब लागू हुने बताउनुभएको छ । बजेट घोषणाविपरीत कर्मचारीहरूको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरूले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए ।

उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषणअनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिनुभयो । पाँच कर्मचारी संगठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणाअनुसार नै १५ प्रतिशत तलब वृद्धि लागू गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताउनुभयो । पोखरेलसहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्री शर्मालाई भेट्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?