कांग्रेस शीर्ष नेताहरूको बैठक : एक सय सिटको बटमलाइन, स्थानीय चुनावलाई आधार बनाउन सुझाव, सिट बाँडफाँट कार्यदलको संयोजकमा सिटौला

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका दलहरूसँगको तालमेलमा सिट बाँडफाँटबारे आन्तरिक छलफल सुरु गरेको छ । चुनावी तालमेलको लागि कांग्रेस मुख्यगरी प्रतिनिधिसभाका १६५ सिटको बाँडफाँटमा केन्द्रित देखिएको छ । आगामी निर्वाचनमा वर्तमान पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय भएसँगै गठबन्धनको नेतृत्व गरिरहेको दल कांग्रेस सिट बाँडफाँटको छलफलमा जुटेको हो । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिट बाँडफाँटबारे सोमबार पार्टीका वर्तमान र पूर्व–पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरूले आगामी चुनावमा पार्टीको भागमा एक सय सिट राखेर देशैभर गठबन्धन गर्न सुझाव दिनुभएको छ । कांग्रेसले एक सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुने सुझाव दिँदै नेताहरूले कांग्रेस खुम्चिएर चुनावमा जान नहुने र यस्तो अवस्था आए पार्टीको आन्तरिक व्यवस्थापनमा समस्या आउने जिकिर गरेका छन् । बैठकमा सहभागी पार्टीको संस्थापनइतर पक्षका नेताहरूले तालमेल गर्दा कांग्रेसले १०६ सिट जित्ने अवस्था रहे पनि सुरुमै ६०-४० को कुरा गरेर कांग्रेसलाई कमजोर पार्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले सभापति देउवालाई गठबन्धनका नाममा अन्य दलहरूलाई ६०-४० प्रतिशतको पोजिसनमा गठबन्धन गर्ने बचन दिइसकेको हो ? भनी प्रश्नसमेत गरेका छन् । बैठकमा संस्थापनइतर समूहका नेता एवं सहमहामन्त्री जीवन परियारले तालमेलको उद्देश्य प्रष्ट पार्न नसके परिणाम उल्टो आउने चेतावनी दिँदै भन्नुभयो, ‘तालमेलको बाटो पेचिलो छ । कांग्रेसको सांगठनिक अवस्थाअनुसार मतको भारलाई ध्यान दिन सकेनौँ भने गठबन्धनका उम्मेदवारलाई सोचेअनुसार मत खस्दैन । कतिपय क्षेत्रमा हाम्रो ३० हजार मत छ । गठबन्धनका अर्को दलको तीन हजार मत छ । विजयी सांसद भने गठबन्धनका अरू दलबाट छन् । तीन हजार मत भएको पार्टीलाई ३० हजार मत खन्याउने कुरा सजिलो हुँदैन ।’

संस्थापन समूहका नेता एवं सहमहामन्त्री महेन्द्र यादवले मधेशमा पनि कांग्रेसको अवस्था राम्रो रहेको दाबी गर्दै त्यहाँ पनि धेरै सिट नछोड्न नेतृत्वलाई सुझाव दिँदै भन्नुभयो, ‘मधेशमा पहिलेभन्दा अहिले बलियो अवस्थामा छौँ । अरूलाई धेरै सिट छोड्न थाल्यौँ भने दीर्घकालीन रूपमा कांग्रेसलाई क्षति पुर्‍याउँछ ।’ पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका तर्फबाट गठबन्धनको कार्यदलमा रहेका सदस्यहरूलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व-पदाधिकारीको बैठक राखेको र २०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन नेताहरूले सुझाव दिएको जानकारी दिँदै भन्नुभयो, ‘नेताहरू देशव्यापी तालमेलको पक्षमा देखिनुभएको छ । अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिनुभएको छ । कसले कति सिट पायोभन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्छ भन्ने मत छ ।’

तर, बैठकमा सभापति शेरबहादुर देउवाले भने यसबारे प्रतिक्रिया नदिनुभएको सहभागी नेताहरूले जानकारी दिएका छन् । गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर व्यावहारिक, वैज्ञानिक र स्वाभाविक प्रकृतिको चुनावी तालमेल गर्नुपर्ने सुझाव दिएको जानकारी दिँदै पूर्व-उपसभापति विमलेन्द्र निधिले भन्नुभयो, ‘गठबन्धन गरौँ तर त्यसले पार्टीभित्रको आन्तरिक एकतामा कुनै पनि किसिमको असर नपरोस् । त्यसमा बढी जोड दिएर जाऔँ । अस्वभाविक देखिने गठबन्धन नगरौं । सबैलाई न्याय हुनेगरी गठनबन्धन गरौँ ।’

बैठकमा पार्टीका पूर्व-उपसभापति विजयकुमार गच्छदारले थारू समुदायका माग र मुद्दालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने र निर्वाचनमा उम्मेदवारको निक्र्योल गर्दा थारू समुदायबाट यथाशक्य धेरै उम्मेदवार छनोट गरेर अघि बढ्नुपर्ने बताउनुभयो । बैठकमा नेताहरूले गठबन्धनका घटकहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने बताउँदै तालमेल स्वाभाविक खालको हुनुपर्नेमा पनि जोड दिएका छन् । गठबन्धनमा आबद्ध अन्य दलको कुरा सुनेर पुन छलफल गर्ने प्रवक्ता डा.महतले जानकारी दिनुभयो ।

लोसपालाई गठबन्धनमा ल्याउन निधिको प्रस्ताव
नेपाली कांग्रेसका पूर्व-उपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई पाँच दलीय गठबन्धनमा ल्याउन प्रस्ताव राख्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा हालै भारत भ्रमण गरेर फर्किनुभएका पूर्व–उपसभापति निधिले लोसपालाई पनि गठबन्धनमा ल्याउन प्रस्ताव राख्नुभएको हो । पाँच दलीय गठबन्धनका साथै सकारमा जानका लागि पनि लोसपा तयार रहे पनि गठबन्धनमा रहेका दलहरूबीच कुरा नमिलेको कारण लोसपाको गठबन्धनमा आबद्धता सफल हुन सकिरहेको छैन । आइतबार मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले लोसपालाई आफू सरकार र गठबन्धनमा ल्याउन तयार रहे पनि यो विषय गठबन्धनबाट निर्णय गर्नुपर्ने बताउनुभएको थियो । गठबन्धनको एकघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्केपछि यो विषयमा छलफल हुने नेताहरूको भनाइ छ ।

सिट बाँडफाँट कार्यदलको पहिलो बैठक
सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूले चुनावी तालमेलमा सिट बाँडफाँटको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कार्यदलको पहिलो बैठकले कांग्रेस नेता सिटौलालाई सिट बाँडफाँट कार्यदलको संयोजक चयन गरेको हो । कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलको संयोजक चयन हुनुका साथै सिट बाँडफाँटको खाकाबारे छलफल सुरु भएको जानकारी दिनुभयो ।

कार्यदलकी सदस्य एवं राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले कार्यदलको बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको र गठबन्धन दलमा आन्तरिक छलफल भएर फेरि बैठक बस्ने जानकारी दिनुभयो । कार्यदलको अर्को बैठक साउन २६ गते पुनः बस्नेछ । कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरूलाई बुझाउने छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहनुभएको छ । यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहनुभएको छ । गठबन्धनले प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रको सिट बाँडफाँटको मापदण्ड र मोडालिटी बनाउन कार्यदल गठन गरेको हो । कार्यदलले साउन मसान्तभित्रमा सिट बाँडफाँटको खाका बुझाउने कार्यादेश पाएको छ ।

चुनावी अभियान सञ्चालन गर्न केन्द्रीय सदस्यलाई पठाउने
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने भएको छ । आगामी भदौ २ गतेदेखि २४ गतेसम्म केन्द्रीय सदस्यहरूलाई जिल्लामा परिचालन गर्न लागिएको महामन्त्री गगन थापाले जानकारी दिनुभयो । आगामी निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरूलाई जिल्ला-जिल्ला खटाइने जानकारी दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘भाद्रको २ गतेबाट २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य साथीहरूलाई चुनाव केन्द्रित अभियानका क्रममा हामी जिल्ला जिल्ला पठाउँदै छौँ ।’ स्थानीय चुनावको पूर्व-सन्ध्यामा कांग्रेसले ‘घर-घर जाऊँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरेर कांग्रेसले भदौ २ गतेदेखि २४ गतेसम्म केन्द्रीय सदस्यलाई जिल्लामा परिचालन गर्न लागेको हो ।

स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने
नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताको बैठकले आउँदो साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिनुभयो । कांग्रेसले स्थानीय निर्वाचनमा ३२९ प्रमुख र तीन सय उपप्रमुख जितेको छ । उनीहरूलाई काठमाडौं बोलाएर स्थानीय सरकार सञ्चालनका सन्दर्भमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?