कांग्रेस र कम्युनिष्ट : बीपी र पुष्पलालको मार्गदर्शनबाट विमुख

हिमालय टाइम्स
Read Time = 15 mins
A A- A+

✍️ नन्दलाल खरेल

नेपाली राजनीति मूलतः दुई कित्ताहरू कांग्रेस र कम्युनिष्ट घटकहरूले कहिले संयुक्त र कहिले एकल नेतृत्वबाट सञ्चालित भइरहेका छन् । हरेक वर्ष कांग्रेस र कम्युनिष्ट घटकहरूले साउनको पहिलो साता आफ्ना नेताहरूलाई सम्झने गर्छन् । यस पालि पनि कांग्रेसले बीपीलाई र कम्युनिष्ट घटकहरूले पुष्पलाललाई सम्झना गरेर विभिन्न स्मृतिदिवस मनाए । तर, उनीहरू (बीपी र पुष्पलाल) ले देखाएको बाटोबाट भने कांग्रेस र कम्युनिष्ट दुवै कोसौं टाढा रहेका छन् । आज पुष्पलालले निर्माण गरेको कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा छ । जनमत र शक्तिका हिसाबले कम्युनिष्ट जनमत बलियो रहे तापनि कम्युनिष्ट आन्दोलनभित्रका अनेकौं विकृति र द्वेषका कारणले एक आपसमा लड्ने अवस्था सिर्जना भएको छ ।

अर्कोतिर बीपी कोइरालाको सपनालाई पटक-पटक भजाएर सत्तामा गएको कांग्रेस पनि विभिन्न गुट-उपगुटमा विभाजित छ । यतिसम्म कि पटक–पटक आफ्नै कारणले सत्तासमेत ढलेको छ । उसले बीपीको सपनालाई एक छेउसम्म पनि समेटेको छैन । दुर्भाग्य नै भन्नु पर्छ आज कम्युनिष्टमै पुष्पलाल खोज्नुपर्ने अवस्था छ भने कांग्रेसमा बीपी खोज्नु पर्ने । अझ यस्तो कांग्रेसमा बढी छ । जीवनको अन्तिम क्षणमा गणेशमान र कृष्णप्रसादले पार्टी नै छोड्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

पुष्पलाल र बीपी नेपाली राजनीतिका दुई शिखर व्यक्तित्व हुन् । यिनै दुई शिखर व्यक्तित्वको शाखलाई भजाएर नेपाली कांग्रेस र कम्युनिष्ट घटकहरूले सत्ता सञ्चालन गरिरहेका छन्, नेपाली राजनीतिक इतिहासमा । यद्यपि नेपाली कांग्रेस र कम्युनिष्ट घटकहरूले राष्ट्र र जनताको पक्षमा ती शिखर पुरुषले देखाएको मार्ग दर्शनलाई हजारौं कोस टाढा राखी शासन गरिरहेका छन् । पञ्चायत कालमा नेपाली कांग्रेसले बीपी स्मृति दिवसका अवसरमा रचनात्मक कामहरू गर्दथ्र्यो । तर, प्रजातन्त्र पुनर्वहालीपछि भने बीपी स्मृति दिवस कर्मकाण्डमै सीमित हुने गरेको छ ।

त्यस्तै गरेर हालको सत्तारूढ कम्युनिष्ट घटकले पनि पुष्पलालको आदर्श, दर्शनलाई त्यागी दलाल पुँजीवादी राजनीतिक व्यवस्था अवलम्बन गरी राज्यको दोहन गर्ने कार्यमै अगाडि बढेको छ । अन्य नेपालका सानातिना कम्युनिष्ट विचारक शक्तिहरूमा पनि पुष्पलालको राजनीतिक दर्शनको कमी छ । तैपनि सत्तारूढ कम्युनिष्ट घटकहरू र अन्य कम्युनिष्ट शक्तिहरूले एकदिन भए पनि पुष्पलाललाई सम्झिने गरेका छन् । बीपी कोइराला नेपाली राजनीतिका प्रजातान्त्रिक योद्धा हुन् । उनी नेपाली कांग्रेसका सभापति हुन् । बीपीले संघर्षलाई सर्वोपरी ठाने । मुलुकको मुहार फेर्न उनले सशस्त्र क्रान्ति गरे । उदार लोकतान्त्रिक शासन प्रणाली, स्वतन्त्र र भयरहित समाजका खातिर थियो ।

उनले राजनीतिक स्वतन्त्रताको मात्र कुरा गरेनन् समाजवादी अवधारणाको नीति बनाई अगाडि बढेका थिए । बीपीको विचार कहिल्यै जड रहेन । उनले आफ्नो विचारलाई समयानुकूल बदलेका पनि हुन् । त्यसै अनुरूप लोकतान्त्रिक आन्दोलनको स्वरूप र ढाचामा पनि परिवर्तन गरेका थिए ।

उनले राजनीतिक स्वतन्त्रताको मात्र कुरा गरेनन् समाजवादी अवधारणाको नीति बनाई अगाडि बढेका थिए । बीपीको विचार कहिल्यै जड रहेन । उनले आफ्नो विचारलाई समयानुकूल बदलेका पनि हुन् । त्यसै अनुरूप लोकतान्त्रिक आन्दोलनको स्वरूप र ढाचामा पनि परिवर्तन गरेका थिए । हरेक मानिसलाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने मान्यता बोक्थे । बीपीको सपना थियो–एउटा सानो घर होस्, खान पुग्ने गरी जग्गा होस्, एउटा दूध खाने गाई, भैंसी होस्, कुनै पनि बच्चाबच्ची स्कुल जानबाट वञ्चित नहुन् र सबै नागरिकको स्वास्थ्य सेवाको पहुँच होस् ।

उनको आफ्नो कार्यकालमा उनी राष्ट्रिय योजना आयोगका प्रमुखलाई बोलाएर भन्ने गर्दथे, ‘तपाईंहरूले आफ्नो कार्यकक्षमा राजामहाराजाको फोटोमात्र राख्ने होइन त्यहाँ हलो जोतिरहेको एक किसानको फोटो पनि राख्नुपर्छ अनि त्यही किसानलाई हेरेर योजना बनाउनुपर्छ ।’ नेपालको विकास भन्नु नै गाउँको विकास हो । गाउँको विकास नगरी देशको विकास हुँदैन भन्नुहुन्थ्यो बीपी तर आज नेपाली कांग्रेस बीपीको समाजवादी अवधारणलाई धोती लगाइदिएको छ । बीपीको समाजवाद एकादेशको कथामा परिणत भएको छ ।

नेपाली कांग्रेस सत्तामा होस्, प्रतिपक्षमा होस् उसको बाटो दलाल पुँजीवादी यात्रातिर छ । जसरी हुन्छ राज्यका स्रोतसाधनहरू साम्राज्यवादीलाई सुम्पी उसले दिएको जुठो पुरोबाट एकैचोटी अर्बाैं-खर्बौं कमाउने गरेको छ । आफ्नो शासन सत्तामा हुँदाखेरि सार्वजनिक स्वामित्वमा रहेका दर्जनौं उद्योगलाई कौडीको भाउमा बेचेको इतिहास साक्षी छ ।

बीपी लोकतान्त्रिक र समाजवादी आन्दोलनमा मात्र सीमित रहेनन् राष्ट्रियताको पक्षमा पनि खरो रूपमा उत्रन्थे । राष्ट्रियता मुलुकको राष्ट्रिय संस्था र जनजीवनसँग जोडिएको विषय हो भन्ने उनको बुझाइ थियो । बीपीले जहिल्यै पनि देशभक्तिपूर्ण राष्ट्रवादलाई जोड दिएको देखिन्छ । ‘राष्ट्रियताको चुरो नै छैन भने मैले के समात्ने ? भन्ने बीपीको भनाइले यसलाई इंगित गर्छ । बीपीले राष्ट्रवादी शक्ति र यसका धरोहरलाई आत्मसात् गरेका थिए ।

हाम्रा भाषा, भेषभूषा, पहिचान, संस्कृति एवं सम्पदाहरू नै हाम्रो राष्ट्रियता हो भन्ने बीपीको बुझाइ थियो । त्यो बुझाइ अझ बढी सान्दर्भिक हुँदै गएको छ । बीपीले नेपालको राष्ट्रहित र स्वाभिमानलाई पार्टी, पद र प्रतिष्ठाभन्दा निकै माथि राखेका थिए । तर, आज उनका अनुयायीहरू अर्थात् नेपाली कांग्रेसका नेताहरू पार्टी, नीति र सिद्धान्तभन्दा पद, प्रतिष्ठालाई केन्द्रमा राखेर काम गरेका छन् ।

नेपाली राजनीतिका अर्का शिखर पुरुष पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता हुन् । उनी महान् अमर शहीद गंगालालका सहोदर भाइ हुन् । पुष्पलाल नेपाली राजनीतिक इतिहासका एक राष्ट्रिय व्यक्तित्व हुन् । त्यतिमात्र होइन उनी शोषित, पीडित जनताका पक्षमा उभिने विचारक, सिद्धान्तकार र योजनाकार हुन् । पुष्पलालले त्यति बेलाको नेपाली समाजलाई राम्रोसँग चित्रण गरेका थिए । उनको प्रमुख उद्देश्य थियो : समाजको द्वन्द्वात्मक भौतिकवादी वैज्ञानिक दृष्टिकोणको आधारमा वर्गीय शोषण र जातीय उत्पीडनबाट नेपाली समाजको मुक्ति । पुष्पलाल जहिल्यै पनि तीन ‘स’ को विषयमा जोड दिन्थे : सिद्धान्त, संगठन र संघर्ष । सिद्धान्तविना संगठन हुँदैन, संगठनविना संघर्ष हुँदैन भन्ने उहाँको बुझाइ थियो ।

कमरेड पुष्पलाल अत्यन्त सादा विचार र सादा जीवनका प्रतिमूर्ति थिए । पार्टी प्रशिक्षण दिँदा उनले सदैव ‘जसले आफ्नो देशको इतिहास, संस्कृति, भूगोल र समाजका बारेमा यथेष्ठ अध्ययन गर्दैन त्यसले नेपाली समाजको अग्रगामी तथा आमूल परिवर्तनका लागि कुनै सार्थक योगदान दिन सक्दैन’ भन्ने कुरा एकदमै प्रष्टसँग आंैल्याउँदथे र सबै परिवर्तनका कार्यलाई कम्तीमा पनि नेपाल र विश्वको अमेरिकी स्वतन्त्रता संग्रामको इतिहास, बेलायतको औद्योगिक क्रान्ति तथा विश्वमा चलिरहेका साम्रज्यवाद तथा उपनिवेशवाद विरोधी आन्दोलनहरूको ज्ञान, परिवर्तनकामी शक्तिहरूमा हुनै पर्दछ भन्ने कुरामा जोड दिन्थे ।

बीपी उदारवादी लोकतन्त्रको राजनीतिक संरचनामा समाजवादी आर्थिक-सामाजिक नीतिका पक्षमा थिए भने पुष्पलाल साम्यवादी राजनीतिक एवं आर्थिक संरचनाका पक्षमा । सिद्धान्ततः दुवै माक्र्सवादी विचारबाट प्रभावित तर राजनीतिक र पार्टीगत बाटो भिन्न थियो ।

पुष्पलाल जनतामाथि शोषण र अन्याय गर्ने व्यक्तिविरुद्ध निरन्तर संघर्षशील र कहिले नझुक्ने दृढता, परिवर्तप्रतिको दृढ संकल्प, उच्च साहसले उनी ओतप्रोत थिए । उनको यो व्यक्तित्वले गर्दा उनलाई भेट्ने नेता कार्यकर्ता पुष्पलालप्रति सम्मान र आदरको दृष्टिले हेर्दथे र प्रभावित हुन्थे । राजनीतिक विश्लेषक कृष्ण खनालका शब्दलाई सापटी लिँदै भन्नु पर्दा बीपी र पुष्पलाल दुवैको राजनीतिक प्रारम्भ समान उद्देश्य-निर्देशित थियो-राणा शासनको समाप्ति र लोकतान्त्रिक समाजको निर्माण । यद्यपि राणाशासन समाप्तिपछि राजनीति र लोकतन्त्रको बाटोका बारेमा दुवैमा मौलिक भिन्नता थिए ।

बीपी उदारवादी लोकतन्त्रको राजनीतिक संरचनामा समाजवादी आर्थिक-सामाजिक नीतिका पक्षमा थिए भने पुष्पलाल साम्यवादी राजनीतिक एवं आर्थिक संरचनाका पक्षमा । सिद्धान्ततः दुवै माक्र्सवादी विचारबाट प्रभावित तर राजनीतिक र पार्टीगत बाटो भिन्न थियो । झट्ट हेर्दा कहिल्यै नमिल्ने समानान्तर शत्रुगत जस्तो पनि लाग्छ । त्यस बेला कांग्रेस-कम्युनिष्ट द्वन्द्व तीव्र सैद्धान्तिक प्रतिद्वन्द्विता र तत्कालीन विश्व राजनीतिको स्वाभाविक प्रभाव थियो । तर, निर्दलीय पञ्चायतको प्रभाव र दरबार-निर्देशित कांंग्रेस-विरोधबाट मुक्त थियो उनको राजनीति । त्यसैले राजाको निरंकुशता विरुद्धको आन्दोलनमा बीपी र पुष्पलालबीच कुनै सैद्धान्तिक वा पार्टीगत मतभिन्नता थिएन ।

अन्त्यमा आज कांग्रेस र कम्युनिष्ट घटकहरूले सत्ता सञ्चालन गरिरहेका छन् । नेपाली कांग्रेस बीपीको आदर्श सिद्धान्त र समाजवादको बाटोमा चिप्लिसकेको छ । संसदीय कम्युनिष्टहरूले देश, जनता, गरिब, मजदुर, किसान र उत्पीडित जातजातिहरूका मुद्दाहरू छोडिसकेका छन् । राजनीतिक तथा आर्थिक नीतिमा अहिले कम्युनिष्ट घटकहरू र नेपाली कांग्रेसमा कुनै भिन्नता नभए जस्तो देखिएको छ । यी दुवै कांग्रेस र कम्युनिष्ट घटकहरूले बीपी र पुष्पलाल सम्झिनु भनैको बाहुनले श्राद्ध गर्दा बिरालो बाँधेको जस्तो कर्मकाण्डमात्र देखिएको छ ।
(खरेल अर्थ राजनीतिक विश्लेषक हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?