बुटवलमा जग्गा नापजाँचको काम शुरु

Read Time = 5 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । बुटवलमा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको काम उद्घाटन गर्नुभएको हो ।

नापजाँचको काम शुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने बताउनुभयो । जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो ।

बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम शुरु भएको बताउनुभयो । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।

उहाँले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम शुरु गर्न सम्भव भएको बताउनुभयो । कार्यक्रममा बोल्दै वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले नापजाँचमा वडाको तर्फबाट समन्वय र सहकार्य हुने बताउनुभयो ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गर्नुभयो । नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीब्र गतिमा अघि बढ्ने बताउनुभयो ।

सडक निर्माणमा देखिएका अड्चन हटाउने निर्णय

बुटवल–बेलहिया व्यापारिक सडकअन्तरगत बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा देखिएका समस्या समाधानका लागि बनेको विशेष अनुगमन समितिको बैठकले सडक विस्तारको काममा देखिएका अड्चन हटाउने निर्णय गरेको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा समितिका संयोजक टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले चौराहादेखि गोलपार्कसम्म सडक निर्माण गर्ने क्रममा सडकको दायाँबायाँ निर्माणाधीन नालाको ढक्कन लगाउने कार्य शुरु गर्ने निर्णय गरेको छ ।
यस्तै विद्युतको पोलहरु सबै जडान गरी आगामी बैठकसम्म कार्य सम्पन्न गरिसक्ने, खानेपानीको पाइप व्यवस्थापन गर्न खानेपानी संस्थानले निर्माण कम्पनीसँग समन्वय गरी पूरा गर्ने र आगामी बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको समितिका संयोजक टेकराज पन्थीले जानकारी दिनुभयो ।

यस्तै बैठकले टेलिफोन पोल र क्याबिनेट सबै कार्य तुरुन्त व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकमा बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका योजना प्रमुख दीपक कुमार झा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्ट, वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभी कन्स्ट्रक्सनका सुवित श्रेष्ठको उपस्थिति थियो ।

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रामचन्द्र
रामचन्द्र
2022-08-10 6:42 am

बैठक कम काम धेरै गर्नु पर्छ । साबै निकायहरु ठेकदारको अगाडि निकम्मा भएका छन , सायद उसले खरिद गरेर होला ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?