मिथिलाञ्चलमा झुलनोत्सवको रमझम, यस्तो छ पौराणिक परम्परा र जनविश्वास

Read Time = 6 mins

-पुरन साह

जनकपुरधाम । यतिवेला जनकपुरधाममा झुलन महोत्सवको रौनकता छाएको छ । साँझ पर्नासाथ रामजानकी, लक्ष्मण तथा राधाकृष्ण मन्दिरहरुमा झुल्नोत्सवको गितगान सहितको रमझम सुरु हुन्छ । दुल्ही झैँ सजाइएको झुलामा भगवान सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने यस महोत्सवको आफनै धार्मिक महत्व छ ।

अचेल साँझ पर्ना साथ जनकपुरधाम सहित यसक्षेत्रको रामजानकी र राधाकृष्ण मन्दिरहरुमा बेग्लै दृश्य देख्न पाइन्छ । श्रावण शुक्ल तृतियादेखि श्रावण पुर्णिमा रक्षाबन्धन सम्म परम्परागत रुपमा जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर र राधाकृष्ण मन्दिर लगायतकामा झुलन महोत्सव मनाइन्छ ।

अनेकौं झूलापर्वसम्बन्धी गीत गाउँदै जनकपुरधाम स्थित जानकी मन्दिर लगायतमा तीज झुला मनाईदैछ । पौराणिका कालमा मिथिलावासीको अराध्यदेव सीताराम दैनिक रुपमा झूला झूल्ने गरेका थिए । झुलन पर्वको अवसरमा जनकपुरधामका मठ मन्दिरहरू सिंगारिएका छन् भने मन्दिरहरू अगाडि झुला बनाई सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने गरिन्छ । झुला पनि भनिने यो पर्व द्वापरकाल देखि नै मनाउँदै आएको जनविश्वास छ ।

झुलन पर्व हेर्न नेपालका साथै भारतबाट पनि श्रद्धालुहरू जनकपुरधाम आउने गरेका छन् । मठ मन्दिरहरूमा भजन कीर्तनका साथमा झुला महोत्सव गरिन्छ । झुलनमहोत्सव पर्व जनकपुरधामको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठ लगायत धनुषा, महोत्तरी, सर्लाहीका साथै भारतको विहार सहितका मिथिलाञ्चल क्षेत्रको मठ मन्दिरमा १५ दिनसम्म मनाइन्छ ।

झूलामा सहभागी हुनका लागि काठमाडौं, भारतको मधुवनी, सीतामढ़ी, जयनगर सहितका कालाकारहरु सुन्दर–सदनमा आउने गरेका छन । अयोध्याका प्रमोद वन र मिथिलाका कञ्चनवन झूलापर्वको लागि विशेष महत्व राख्दछ । झूलामा मिथिलाका सखीहरु सहभागी हुने गरेको कुरा धर्मग्रन्थहरुमा समेत उल्लेख रहेको छ । मिथिलावाटै यो परम्परा अवधमा पुगेको पनि बताइन्छ ।

मणिपर्वत पर्व विधिवत् सम्पन्न भए पश्चात् साँझ देखि स्थानीय मठ मन्दिरमा धार्मिक रीति अनुसार झुलनोत्सव गर्ने गरिएको छ । जनश्रुति अनुसार सीताको माईतीमा दाईजोका रुपमा प्राप्त मणिहरू महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृति स्वरुप झुला उत्सवको प्रारम्भमा रंगभूमिमा पनि मणिपर्वत मनाउने परम्परा रहेको छ ।

झुलन पर्वको भोलिपल्ट पूर्णिमाका दिन रक्षाबन्धन हुने गर्दछ । यद्यपि जनकपुरधामको सुन्दर–सदनमा अरु ठाउँ भन्दा तीन दिन बढी झूलापर्व मनाइने परम्परा रहेको छ । झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भ देखि नै भएको मानिन्छ । पौराणिक कालदेखि नै भूला पर्व मनाइने परम्परा रहेको भएपनि जनकपुरमा करिब १ सय ३० वर्ष भन्दा पहिला देखि झूला पर्व मनाउने गरिएको छ ।

सन्तहरुका अनुसार जनकपुरधाम स्थित सुन्दर–सदनका तात्कालिन महन्त स्व. सीताराम शरण (गुप्तरामजी) ले यहाँ झूलाको शुरुवात गरेका थिए । सो पश्चात अन्य मठमन्दिरमा झूलापर्व मनाउन थालियो । जानकी मन्दिर, राममन्दिर सहित अग्निकुण्ड स्थित सुन्दर–सदन, झुलनकुञ्ज, विहारकुण्डका युगल विनोद कुञ्ज प्रेममाईको कुट्टीमा झुलापर्व धुमधामका साथ मनाइने गरिएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?