खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बागमती प्रदेश सरकारले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ । गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने सरकारको घोषणासँगै प्रतियोगिताको तयारीमा जुटेको बागमती प्रदेश सरकारले नवौँमा सहभागी हुने खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखेर तयारी गर्ने निर्णय गरेको हो ।

‘राष्ट्रिय खेलकुदमा सबैभन्दा बलियो टिम भनेकै विभाग हो । विभागभन्दा राम्रो नतिजा निकाल्न जिल्ला र प्रदेशबाट छनोट भएका खेलाडीलाई तयारी राम्रोसँग गराउनुपर्छ । सोही कारण विभागीय टिमभन्दा राम्रो नतिजा निकाल्न प्रदेश छनोटबाट आएका खेलाडीलाई लामो समय बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको हो,’ प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य-सचिव सूर्यलाल भण्डारीले बताउनुभयो ।

प्रदेश खेलकुद विकास परिषद्को पछिल्लो बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सम्पूर्ण तयारीलाई अघि बढाउने र सम्पूर्ण ३६ खेलमा खेलाडीलाई सहभागी गराउने निर्णय पनि गरेको छ । नवौँ राष्ट्रिय खेलकुदमा सरकारले ३६ खेलमा प्रतिस्पर्धा गराउने भएको छ । सोहीअनुसार बागमती प्रदेशले सबै खेलमा खेलाडीलाई उतार्ने औपचारिक निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारले नवौँ खेलकुदको तयारीका लागि भन्दै चालु आर्थिक वर्षका लागि बजेटसमेत घोषणा गरेको थियो । सोहीअनुसार नवौँ खेलकुदको तयारी अघि बढाउन प्रदेश खेलकुदलाई सहज भएको छ । प्रदेश सरकारले नवौँ खेलकुदको तयारीका लागि जिल्ला छनोटमा १ करोड ३० लाख, प्रदेश छनोटमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ खेलकुदको तयारीका लागि भन्दै प्रत्येक प्रदेशलाई ४९ लाख रुपैयाँ बजेट दिने निर्णय गरिसकेको छ ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीले नवौँ खेलकुदको जिल्ला छनोट भदौ १० गतेभित्र र प्रदेशको छनोट २० गतेभित्र सक्ने निर्णय गरेको छ । प्रदेश छनोट सकिएसँगै खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर नवौँ खेलकुदको तयारीमा लाग्ने प्रदेश सरकारको तयारी छ । गत आर्थिक वर्षमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने बागमती पहिलो र एकमात्र प्रदेश सरकार हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?