पश्चिम सेती र सेती नदी-६ को अध्ययन अनुमति

Read Time = 5 mins

काठमाडौं । लगानी बोर्डको पछिल्लो बैठकले विभिन्न जलविद्युत् आयोजनाको काम अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बोर्डको ५२औँ बैठकले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी-६ संयुक्त जलविद्युत् परियोजनाको विकासका लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपिसी लिमिटेड, भारतीय सरकारसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ ।

त्यसैगरी बैठकले छ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अघि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ भने तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी-२ (युएम-२) जलविद्युत् परियोजनाको अध्ययनका लागि हिमाताल हाइड्रोपावर कम्पनी प्रालिलाई सर्वेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै बैठकले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा निर्णय गर्नुका साथै नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर दोस्रो साता सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरम-२०२२ आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बोर्ड अध्यक्ष प्रधानमन्त्री देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण-३, तल्लो अरुणजस्ता राष्ट्रिय प्राथमिकताका परियोजना तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ । जसका लागि उहाँले अर्थ मन्त्रालयल, ऊर्जा, भूमिसुधार तथा वन मन्त्रालय एवं अन्य सरोकारवाला निकायलाई प्रभावकारीरूपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । साथै सिमेन्ट उद्योग परियोजना विकास गर्दा वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने प्रविधिको अवलम्बन गर्न, ठूला पूर्वाधार निर्माणमा लगानी भित्र्याउन तथा परियोजना सहजीकरणमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत र लगानी बोर्डको कार्यालयबाट सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै अझ गतिशीलताका साथ अघि बढ्न पनि उहाँले निर्देशन दिनुभएको बोर्डका सहसचिव तथा प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभएको छ ।

बैठकमा अघिल्लो बैठकले निर्देश गरेबमोजिम परियोजना विकासमा भएका प्रगति र बोर्डको कार्यालयले अघि बढाएका लगानी प्रवद्र्धन, परियोजना विकास, संस्थागत क्षमता विकास एवं साझेदारीलगायतका क्षेत्रमा भएका गतिविधिबारेमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराउँदै परियोजनाहरूको विकास र सहजीकरणका सन्दर्भमा बोर्डको निर्देशनअनुसार बोर्डको कार्यालय उच्च मनोबलसाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, वन तथा वातावरणमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, बोर्डका विज्ञ सदस्य भवानी राणा, राजेशकाजी श्रेष्ठ र बालकृष्ण सिवाकोटीलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?