सडक छेउमा भुइँकटहरको व्यापार, कम लगानीमा आम्दानी मनग्ये(फोटोफिचर)

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 14 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको करकरे सडक छेउमा बिक्रीको लागि राखिएको छ । हेर्दै खाऊँखाऊँ लाग्ने दाना पहेँलै र केही हरिया देखिन्छन् । गाडी र मोटरसाइकल साइड लगाएर यात्रु रसिलो फल स्वादिलोसँग खाइरहेका भेटिन्छन् । फलको नाम हो, ‘भुइँकटहर’ । यसको बोट सानो झाडी आकारको हुन्छ । कतै-कतै यसलाई अनारस नामले पनि चिनिन्छ । यही फल कमलामाई नगरपालिका-८ करकरेका किसान र स्थानीय व्यापारीलाई यतिबेला बेच्ने हतारो छ । पाकिसकेको भुइँकटहर जंगली जनावरले सखापै बनाउन लागेकाले बिक्री गर्न हतारिएको किसान बताउँछन् । बेच्ने बेला भएको कटहर विषेशगरी दुम्सी र न्याउरी मुसाबाट जोगाउन नसकिएको किसान अमरबहादुर तामाङले गुनासो गर्नुभयो ।

उहाँले मकै र कोदो लगाउँदै आएको आठ कठ्ठामा कटहर खेती गर्नुभएको छ । अघिल्लो वर्ष १८ हजारको भुइँकटहर बिक्री गरेको उहाँले बताउनुभयो । ‘अन्नबाली लगायो लगानी नै नउठ्ने, दुःख बढी हुने । त्यसैले कटहर रोपे अहिले राम्रो आम्दानी भइरहेको छ । कटहर खेती धान, मकै, कोदो जस्तो खर्चिलो बाली होइन रहेछ, रासायनिक मल हालिरहनु नपर्ने, दुःख पनि धेरै हुने,’ उहाँले बताउनुभयो ।

आफूले लगाएको बाली आफैँले बेच्दा अझ राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । ‘किन्नेले दलाली गर्छन् धेरै, म बेच्न जान्दिनँ, घरमा किन्न आउने स्थानीय व्यापारीलाई अलि सस्तो मूल्यमा दिन्छु,’ उहाँले भन्नुभयो, ‘प्रतिगोटा ४०-५० रुपैयाँमा मैले दिन्छु, उनीहरू १०० रुयैयाँसम्ममा बेच्दा रहेछन् ।’

यहाँका किसान र व्यापारीले किन्ने, बेच्ने भुइँकटहरको दररेटमा एकरूपता छैन । मनलाग्दी हिसाबले किनबेच भएको पाइन्छ । यस्तो अवस्थामा उपभोक्ता बढी ठगीमा पर्नेे जनगुनासो छ । रुद्रबहादुर थापाको घर राजमार्गले छोएको छ । उहाँको घर अगाडिबाट सयौँ संख्यामा सवारीसाधन ओहोर-दोहोर गरिरहन्छन् । उहाँको आफ्नो जग्गा छैन । किनेर ल्याई पाँच देखि १५ रुपैयाँसम्म नाफा खाएर बेच्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार भुइँकटहर जोखेर, तौलेर होइन, आकार हेरेर गोटाको हिसाबले बेचिन्छ । बिपी राजमार्ग सञ्चालनमा आएसँगै स्थानीय उत्पादनले बजार पाउन थालेको छ । दिनमा ५०/६० वटा बेच्ने गरेको उहाँले बताउनुभयो ।

२० वर्षअघि बारीको काँल्लामा आफूलाई खान मात्र रोप्नुभएकी धनमाया बुढाथोकीले अहिले धान, कोदो र मकै लगाउने १० कठ्ठामा व्यावसायिक भुइँकटहर खेती गर्नु भएको छ । अघिल्लो वर्षको तुलनामा कटहर बढी उत्पादनको भयो । तर, यस वर्ष कम बिक्री भएको उहाँले बताउनुभयो । उहाँ आफ्नो जग्गामा उत्पादन भएको कटहर मात्र होइन, अरूले उत्पादन गरेको कटहर पनि कम मूल्यमा किनेर बेच्नु हुन्छ । करकरेस्थित सडक छेउमा कटहर बेच्न बस्नु भएकी बुढाथोकीले भन्नुभयो, ‘भुइँकटहरको त्यति राम्रो बजार छैन । अस्ति काटेर बेच्न राखेको बिक्री नभएर कुहिन थालिसक्यो । हिजो दुई डोका फाले खानै नहुने गरी कालो भएर, बिक्री गर्ने ठाउँ पनि भएन ।’

अझै ५० डोका बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो । यहाँका किसान बिचौलीयादेखि सजक छन् । सस्तोमा दलालीलाई नबेच्ने भएकाले कहिलेकाँही बिक्री गर्न समस्या आउने उहाँको भनाइ छ । बजार व्यवस्थापन राम्रो भए कटहरमा आम्दानी असाध्यै राम्रो रहेको उहाँले बताउनुभयो ।

धान, मकै खेति गर्दा रासायनिक मलको अभाव र विभिन्न रोगले हैरानी व्यहोरेका यहाँका किसान पछिल्लो समय भुइँकटर खेतीमा आकर्षित भएका छन् । अन्य बालीहरूको तुलनामा कटहर खेती गर्न झन्झट नहुने र आम्दानी पनि राम्रो हुने भएकाले यता किसान आकर्षित भएका हुन् । कमला भुइँकटहर उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काका अनुसार कमलामाई नगरपालिका-८ को २० बिघामा भुइँकटहर खेती गरिएको छ । १५ बिघाबाट फल प्राप्त भइरहेको उहाँले बताउनुभयो । आगामी वर्ष ३० बिघामा विस्तार गर्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।

कम लगानी, कम परिश्रमबाट गरिएको भुइँकटहर खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि अघिल्ला बर्षहरूमा थोरै जमिनमा विरुवा रोपेका किसानले खेतीपातीबाट निराश बनेका अन्य किसानहरूको बाँझो जमिन भाडामा खोजेर कटहर खेती विस्तार गर्न थालेका छन् । ‘उत्पादित कटहरबाट जेली, जाम र जुस बनाएर बजार पठाउने हाम्रो योजना छ । यसो गरेमा कटहर बिक्री गर्न समस्या हुँदैन । स्थानीय रुपमा रोजगारी सिर्जना पनि हुन्छ । यसको कृषकले प्रत्यक्ष लाभ लिन सक्नेछन्,’ करकरे भुँइकटहर संयोजक तथा कमला भुइँकटहर उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काले भन्नुभयो । कटहरको फलबाट मात्र होइन, विरुवाबाट पनि राम्रो आम्दानी हुने गरेको छ । हालै मात्र ४० हजारको विरुवा तनहँु पठाएको उहाँले बताउनुभयो । चितवनबाट पनि कटहरको विरुवा माग भइरहेको उहाँले सुनाउनुभयो ।

यहाँका किसानले जायन्ट क्यु र क्विन जातका भुइँकटहर लगाएका छन् । पहेँलो दाना देखिने क्विन र हरियो देखिने क्यु भनेर चिनिन्छ । क्विन जातको भुइँकटहरमा काँडा बढी हुन्छ । यो खाँदा अलिअलि अमिलो हुने गर्दछ । क्युको रस बेसी हुन्छ । यसका आँखा र काँडा कम हुन्छन् । खाँदा गुलियो हुन्छ ।

सिन्धुलीमा व्यावसायिक भुँइकटहर खेती गर्ने पहिलो व्यक्ति ‘चन्द्रबहादुर खड्का’
२०५७ सालमा एक हजार ६ सय क्यु जातको विरुवा सिन्धुलीमाढी सरमुकामबाट ल्याएर करकरेमा व्यावसायिक रुपमा कटहर खेती थालनी गर्नुभएको थियो, किसान चन्द्रबहादुर खड्काले । ‘धान, मकै, कोदोमा बाह्रै महिना खट्नु पर्थो । खेताला, खाजाभातको आवश्यक परिरहने, आफूले मात्र काम गर्न नसकिने, खेताला पाउन पनि मुस्किल, माटोमा बढी अम्लीयपन भएर अन्नबाली उब्जाउनै नहुने समस्या पनि थियो । बरु कटहर लगाउँदा फाइदा होला जस्तो लाग्यो,’ उहाँले भन्नुभयो, ‘अहिले २५ कठ्ठामा कटहर उत्पादन भइरहेको छ । मिहिनेतको हिसाबले पनि फाइदाजनक लाग्यो । कटहरलाई रोपेपछि बर्षदिनमा दुईपटक गोडे पनि पुग्ने रहेछ । आँप, लिची, कागती पनि रोपेकोे छु ।’

यो खेतीबाट काइदा मात्र होइन, सबै लगानी, परिश्रम लगायत सबै हिसाबले फाइदै फाइदा भएको उहाँले बताउनु भयो । उत्पादनको सिजनमा पाँच लाख कमाइ हुने उहाँको भनाइ छ । किसान खड्काले गाउँमै पहिलोपटक व्यावसायिक कटहर खेती सुरु गरेपछि धेरै किसानले यसमा चाँसो राखे । जसकारण अहिले यो वडा नै भुइँकटहर पकेट क्षेत्र घोषणा भएको छ । अहिले झण्डै ४० जना किसानले व्यावसायिक भुइँकटहर खेती गरेका छन् । अझै बढ्ने क्रम जारी छ । बिस वर्षअघि एकलरुपमा भुँइकटहर उत्पादन तथा बिक्री वितरण गर्दै आउनुभएका किसान खड्काले संस्था दर्ता गरेर वडाका सबै भुइँकटहर कृषकलाई कमला भुइँकटहर उत्पादन कृषि सहकारीमा आबद्ध गराउनुभएको छ । यसको नेतृत्व उहाँ आफैँले गरिरहनु भएको छ ।

यहाँ सिजनल भुँइकटहर मात्र उत्पादन हुन्छ । भुइँकटहरको सिजन असार र साउन महिना हो । यस वर्ष अफसिजनमा पनि उत्पादन हुने कटहरको विरुवा वितरण गर्ने योजना रहेको कृषि शाखा प्रमुख सरोज फुँयालले जानकारी दिनुभयो । कटहर उत्पादनका लागि हालसम्म नगरले १० लाख लगानी गरिसकेको उहाँको भनाइ छ ।

पहिले एकदुई जनाले आफूलाई खान मात्र रोपेको कटहर अहिले जीविकोपार्जनका लागि साहारा बन्दै गएको छ । यहाँका किसान र स्थानीय व्यापारीहरूले एक सिजनमा १० हजारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दछन् ।

अन्न रोप्यो बिउको मूल्य नै नआउने, काम गर्ने मान्छे पनि नपाइने समस्या भएर जमिन नै बाँझो राखेका किसानले सरकारी, गैरसरकारी कार्यालयहरूले विभिन्न सहयोग गरेपछि कटहर खेती गर्न थालेका हुन् । कमलामाई नगरपालिका, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति र उद्योग वाणिज्य संघले कटहर खेतीको लागि सिँचाइ, विरुवाको लागि सहयोग गरेको थियो । वडाको करकरे, तिनतले, पाँथीपरान, हर्दिया, सिस्नेरी, बागमारामा बिशेष गरि भुइँकटर उत्पादन हुँदै आएको छ ।

कृषि उत्पादनलाई प्रवद्र्धन गरी उत्पादनको व्यावसायीकरणतर्फ कमलामाई नगरपालिकाले जोड दिएको छ । नगरका १४ वटै वडामा ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन भएको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएकोे हो । सोही कार्यक्रमअन्तर्गत वडा नम्बर-८ र १ नम्बर वडालाई आर्थिक वर्ष २०७६/०७७ मा ‘भुँइकटहर पकेट क्षेत्र’ घोषण गरिएको कृषि शाखाले जनाएको छ । यस क्षेत्रलाई केही बर्षभित्रै भुइँकटहर पकेट क्षेत्रबाट ब्लकमा लैजाने लक्ष्य रहेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?