आगामी निर्वाचनलाई निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढंगबाट सम्पन्न गर्छौं : आयोग

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढंगबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आयोगद्वारा मंगलबार आयोजित स्थानीय तह निर्वाचन, २०७९ निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा आयोगले निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिक रूपमा निर्वाचन सफल बनाउने दृढता व्यक्त गरेको हो ।

आयोगले गत स्थानीय तहको निर्वाचनमा दुर्गम गाउँबस्तीका अशिक्षित जनताको तुलनामा सहरी क्षेत्रका शिक्षित जनताबाट मतदान कम भएकामा चिन्ता व्यक्त गर्दै त्यसतर्फ जिम्मेवार आमसञ्चार माध्यमको ध्यान जानुपर्नेमा जोड दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समयावधि कम भएकाले गत स्थानीय तहको निर्वाचनमा सोचेजति काम गर्न नसकिएको स्पष्ट गर्दै यसअघिका राम्रा पक्षलाई समेत समेटेर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरल, सहज र मितव्ययी ढंगबाट सम्पन्न गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनको सर्वमान्य सिद्धान्त अवलम्बन गरी सबैलाई समान व्यवहार गर्ने गरी काम कारबाही हुनेछ, बढीभन्दा बढी जनताको सहभागितमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध आयोगले सम्बद्ध सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आमसञ्चार माध्यमसहित राज्यका जिम्मेवार सबै निकायसँग साझेदारी र सहकार्य गरी आसन्न आमनिर्वाचन सम्पन्न गर्ने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो । निर्वाचन प्रचारप्रसारका क्रममा राज्यद्वारा सञ्चालित आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले आफ्नो स्रोतसाधनको अधिकतम सदुपयोग गरी निर्वाचन प्रक्रियामा सरिक हुन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो । निर्वाचन आयुक्त जानकी तुलाधरले निर्वाचन कार्यतालिकाअनुसार अब द्र्रूतगतिमा निर्वाचन कार्यक्रमअघि बढ्ने भन्दै आसन्न आमनिर्वाचनलाई ऐतिहासिक रूपमा सम्पन्न गर्ने काममा मुलुकका जिम्मेवार सार्वजनिक सञ्चार माध्यमबाट यसअघि जस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन आयुक्त सगुनशमशेर राणाले निर्वाचन आयोगसँग सम्बन्धित संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुअघि पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयोे ।

असोज २३ गते उम्मेदवारी दर्ता हुने
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका क्रममा आइतबार स्वीकृत गरेको निर्वाचन कार्य तालिकाअनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुनेछ । उक्त दिन दसैँको कोजाग्रत पूर्णिमा पर्दछ ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दसैँपछि हुने भए तापनि समानुपातिक तर्फको बन्दसूची भने दसैँअघि नै पेश गर्नुपर्ने छ । आयोगद्वारा स्वीकृत आन्तरिक तालिका अनुसार असोज २ र ३ गते दलहरूले समानुपातिक तर्फको बन्दसूची पेश गर्नुपर्ने छ ।

भदौ २५ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्न लागेको आयोगले चुनाव सफल बनाउनका लागि दसैँका बेलामा पनि काम जारी राख्ने भएको छ । यसका लागि घटस्थापनाको भोलिपल्ट, अर्थात् असोज ११ गते निर्वाचन अधिकृतहरूको नियुक्ति गरिने छ भने टीकाको दुई दिनपछि असोज २१ गते निर्वाचन कार्यालय स्थापना गरिने स्वीकृत कार्यतालिकामा उल्लेख छ । आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई सोमबार अनौपचारिक जानकारीसमेत दिइसकेको बताएको छ । तर, आयोगले हाल यो कार्यतालिका बाहिर सार्वजनिक गरिसकेको छैन । दसैँसँगै जुधाएर कार्यतालिका आए पनि यो आन्तरिक तालिकालाई सामान्य फेरबदल गरेर मात्रै प्रकाशित गरिने आयोगका अधिकारीले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?