आध्यात्मिक क्षरकलाहरू

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 19 mins

परात्पर ब्रहृमलाई महाचैतन्य भनिन्छ र यो महाचैतन्यको व्यष्टिरूप एक एक जीवात्मामा रहेको हुन्छ भन्ने वैदिक संकेत भेटिन्छ । त्यसको समग्र व्याख्या क्षर/अक्षर पुरुष व्यवस्थामा गरिएको देखिन्छ । तिनलाई आध्यात्मिक कला भनेर पनि बुझ्न सकिन्छ । आज म यो आत्मालाई केन्द्र मानेर आध्यात्मिक क्षरकलाहरूका सम्बन्धमा केही कुरा गर्न खोज्दै छु । प्रत्येक जीवको आत्म एउटा महान आत्माको अंश हो । यही महान आत्मालाई परमात्मा, ईश्वर, जगदीश्वर, परात्परब्रहृम आदि नामबाट सम्बोधन गर्ने गरिएको छ पौरस्त्य वाङ्मयिक र दार्शनिक जगत्मा । यसरी नै हाम्रा आध्यात्मिक कलाहरू पनि आधिदैविक र आधिभौतिक कलाका नै अंश हुन् ।

यिनै अंशका सम्बन्धबाट एउटै मुख्य जीवात्माबाट अनेकौं जीवात्माका आत्मा प्रादुर्भूत हुन्छन् । क्षर पुरुषको आध्यात्मिक कलालाई बीजचिति, देवचिति, भूतचिति, प्रजा र वित्त भनिन्छ । यी कलाका सम्बन्धबाट जुन आत्माहरू भिन्नाभिन्नै रूपमा प्रकट हुन्छन् व्यावहारिक किसिमले हामी तिनैलाई आत्मा मान्दछौँ र यिनलाई व्यवहारमा शान्तातात्मा, महानात्मा, विज्ञानात्मा, प्रज्ञानात्मा र प्राणात्मा भनेर बुझ्ने गरिएको देखिन्छ । यिनै पाँच वटाले जीवतन्त्रलाई परिचालन गर्दछन् । इन्द्रियलाई शक्तिप्रदान गरेर तिनलाई परिचालन गर्ने चाहिँ प्राण हो । त्यही प्राणबाट परिच्छिन्न (छरिएको) चैतन्यलाई नै प्राणात्मा भनिन्छ ।

यसैगरी मनबाट परिछिन्न या मनसहितका चैतन्यलाई प्रज्ञानात्मा र बुद्धिगर्भित या बुद्धिसहितको चैतन्यलाई विज्ञानात्मा भनिन्छ । विज्ञानात्मा भन्दा पर यसलाई पनि नियमन गर्ने महत्वबाट परिछिन्न चैतन्यलाई महानात्मा र यी सबैमा अनुप्रविष्ट भएर यिनलाई एकसूत्रमा बाँधेर राख्ने अन्तर्यामी रूपचैतन्यलाई शान्तात्मा भनिन्छ भनेर कठोपनिषद्मा यसरी उल्लेख गरिएको भेटिन्छ–
इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः ।
मनसस्तु परा बुद्धिर्बुद्धेरात्मामहान् परः ।।
महतः परमव्यक्तमव्यक्तात्पुरुषः परः ।
पुरुषान्न परं किञ्चित् सा काष्ठा सा परागतिः ।।
इन्द्रिय पर अर्थात् उत्कृष्ट छन् । इन्द्रियभन्दा उत्कृष्ट मन छ । मनभन्दा उत्कृष्ट बुद्धि छ । बुद्धिभन्दा उत्कृष्ट महानात्मा छ । महानात्माभन्दा उत्कृष्ट अव्यक्तात्मा छ भने अव्यक्तात्माभन्दा उत्कृष्ट पुरुषलाई मानिन्छ र पुरुषभन्दा पर या उत्कृष्ट चाहिँ कोही या केही पनि छैन । यहीँ आएर प्रकर्षता समाप्त हुन्छ र यही नै परमगति पनि मानिन्छ । योगले ब्रहृमभूयता प्रदान गर्ने भनेको पनि यही हो र कैवल्य या मुक्ति र मोक्ष भनेको पनि यही नै हो । यो बुझ्ने र आफूलाई कुनै पनि सांसारिक वस्तुमा अस्पृष्टवत् वर्तनुलाई नै योगमय जीवन भनिन्छ ।

गीताले ‘पद्मपत्रमिबाम्भसि’ भनेर बताएको पनि यस्तै बोधको अवस्थालाई हो । यसमा इन्द्रियहरूलाई शरीरात्मका अपेक्षा उत्कृष्ट भनेर बताएको देखिन्छ भने शान्तात्मालाई ‘अव्यक्त’ संज्ञाबाट सम्बोधन गरिएको छ । यसैगरी अर्को एउटा भनाइ हेरौँ-
यच्छेत् वाङ्मनसि प्राज्ञस्तद्यच्छेज्ज्ञान आत्मनि ।
ज्ञानमात्मनि महति नियच्छेत् तद्यच्छेच्छान्तात्मनि ।।
यो श्रुतिमा शान्तात्माको नाम स्पष्टसँग लिइएको देखिन्छ भने इन्द्रिय, मन र बुद्धि त झनै प्रसिद्ध भइगए । महानात्माका सम्बन्धमा पाश्चात्य विज्ञान र दर्शन पनि शून्यप्रायः रहेछन् । पश्चिमाका चिन्तनमा महानात्मा नआएकै भए पनि पौरस्त्य दर्शन सार श्रीमद्भागवद्गीताले स्पष्ट गरेको भेटिन्छ-
मम योनिर्महद्ब्रहृमतस्मिन्गर्भंदधाम्यहम्
सम्भवः सर्वभूतानाम् ततो भवतिभारत ।।
सर्वयोनिषु कौन्त्येयमूर्तयः सम्भवन्ति या ।
तासाँब्रहृममहद्योनिरहं बीजप्रदःपिता ।।
प्रत्येक प्राणीका शरीरको जुन आकार बनिन्छ त्यस आकारको सम्पादक महानात्मा नै हो । महानात्मामा बीज रूपबाट अनुप्रवेश गर्नेवाला अव्ययपुरुष नै हो । यो आकार बनाउने चैतन्य सत्तालाई ‘आकृतिमहान्’ भन्ने संज्ञा प्रदान गरिएको स्पष्टै छ । यस्तै प्रकारले प्रत्येक प्राणीको जुन एउटा प्रकृति (स्वभाव) हुन्छ त्यो बनाउने पनि महानात्मा नै हो जसलाई ‘प्रकृतिमहान्’ शब्दबाट बुझाइएको देखिन्छ । सबै प्रकारका आयतनमा अहं भाव प्रसारित गराउनेलाई चाहिँ ‘अहंकृतिमहान्’ भनेर चिनाउन खोजेको देखिन्छ । अब फेरि आउने व्यक्तात्मा चाहिँ शान्तात्माकै सूक्ष्म सूत्ररूप छ जसले सबै आयतनलाई गाँस्छ । यसलाई शास्त्रले सूत्रात्मा पनि भनेको देखिन्छ कता कति ।
यी पाँच प्रकारका आत्मा या पुरुषपद वाच्यमूल आत्माको आयतन देवपरिस्थिति अन्तर्गत रहेका हुन्छन् । भूतबाट उत्पन्न हुनेलाई भूतात्मा या शरीरात्मा भनिन्छ । यद्यपि शरीर पञ्चमहाभूतका अंशबाटै बनेको हुन्छ-क्षिति, जल, पावक, गगन समीरा, पञ्चनिर्मित यह अधम शरीरा, भनेर सन्त तुलसीदासले आफ्नो ‘रामचरित’ नामक महाकाव्यमा लेखेका छन् । पृथीव्यपतेजोवायुराकाशपञ्चतत्वनिर्मितमिदं शरीरमिति भनेर न्यायदर्शनमा बताइएका कुरा सबैले जानेकै कुरा हुन् । महाभूतका अंशबाट बन्ने घट, पट, इँट, पाषाणादिका अपेक्षा प्राणी शरीरमा विलक्षणता निश्चयै छ ।

प्रत्येक प्राणीका शरीरको जुन आकार बनिन्छ त्यस आकारको सम्पादक महानात्मा नै हो । महानात्मामा बीज रूपबाट अनुप्रवेश गर्नेवाला अव्ययपुरुष नै हो । यो आकार बनाउने चैतन्य सत्तालाई ‘आकृतिमहान्’ भन्ने संज्ञा प्रदान गरिएको छ ।

मानव शरीरका अवयवको एक प्रकारको उचित सन्निवेश (घट्नु, बढ्नु जस्ता) रूपलाई नै विलक्षण भनिएको हो । इँट नबढ्छ न त घट्छ, यसरी नै सबैतिर स्थिरता देखिन्छ तर जीवको शरीर चाहिँ तिनकै अंशबाट बनेको भए पनि अरूभन्दा विलक्षण छ नै । यसैगरी हामीले भक्षण गरेका अन्नादिका रस पनि रगत, मासु, बोसो, वीर्य, हाड, आदिमा परिणत हुन्छ । यो पनि त शरीरकै विलक्षणता हो नि । अतः शरीराकारमा परिणत हुनेवाला भूतमा पनि त्यही चैतन्यशक्ति अनुस्यूत भएर नै काम गरिरहेको हो । त्यसैलाई भूतात्मा या शरीरात्माका नामबाट बुझ्नु नै उचित हुन्छ । यही शरीरमा अनुस्यूत आत्माले शुभ या अशुभ कर्म गर्दछ । जाग्रत्, स्वप्न र सुषुप्ति नामाका तीनवटै अवस्था पनि यसैका हुन् । अब पृथ्वीकै पहिला मानिएका राजा मनुको कुरो सुनौँ -
योऽस्यात्मनःकारयिता तं क्षत्रज्ञं प्रचक्षते ।
यः करोति तु कर्माणि स भूतात्मोच्यते बुधैः ।।
जीवसंज्ञोऽन्तरात्मान्यः सहजः सर्वदेहिनाम् ।
येन वेदयते सर्वं सुखं दुःखं च जन्मसु ।।
नावुभौ भूतसम्पृक्तौ महान् क्षेत्रज्ञ एव च ।
उच्चावचेषु भूतेषु स्थितं तं व्याप्य तिष्ठतः ।।
शरीरबाट जसले काम गर्छ त्यसलाई क्षेत्रज्ञ भनिन्छ । यसैलाई यस लेखका पहिला अनुच्छेदमा मैले विज्ञानात्मा भनेको थिएँ । जो काम गर्छ त्यो भूतात्मा कहलिन्छ । यी दुवैको अन्तरात्मा नै जीवात्मा मानिन्छ । जसबाट सुख र दुःखको अनुभव हुन्छ । महान् र क्षेत्रज्ञ यी दुवै भूतात्मासँग सधै मेल राखेर बस्छन् । चाहे कुनै पनि भूत शरीरमा आंशिक रूपबाट कुनै पनि योनिमा आत्मा रहेको होस् यी दुवै त्यसैका साथमा मिलेर व्याप्त भएर काम गर्दछन् । यहाँ पहिला श्लोकमा नै भूतात्मा र विज्ञानात्माको उल्लेख भएको देखिन्छ । अन्तिम श्लोकमा महानात्माका सम्बन्धमा पनि भनिएको देखिन्छ ।

सबैमा चैतन्यप्रदाता जीवात्मालाई बताइएको देखिन्छ । प्रज्ञान र प्राणलाई पनि पृथक पृथक मानेको छैन । शान्तात्मालाई पनि महानात्माबाट पृथक भनिएको छैन । यो ठीक र बेठीक अर्को शास्त्रीय जञ्जालको विषय भएको हुनाले त्यता नलागीकन कर्म गर्ने भूतात्मा र भोग गर्ने विज्ञानात्मा या जीवात्मा नै हो भन्ने कुरो मनुले भनेका कुराबाट स्पष्ट भयो । व्याकरण महाभाष्यमा पनि यस्तै प्रसंग आएको छ भूतात्माले गरेका कर्मको फल जीवात्माले भोग्नु पर्दछ । जसरी भूतहरूको परिणाम शरीर देखिन्छ त्यसैगरी भूतमा अनुस्यूत प्राणशक्तिरूप अग्निको अंश यो भूतात्मा हो ।

यिनको फेरि भित्री तीनवटा भेद हुन्छन् । वैश्वानर, तैजस र प्राज्ञ । यसमध्ये वैश्वानरले शरीरका अवयवलाई यथास्थान संगठित गरेर रक्षण गर्दछ । यो वैश्वानर आत्मा जड चेतन सबै प्रकारका पार्थीव पदार्थमा व्याप्त हुन्छ । यसो भएको हुनाले अवयवको संगठन सर्वत्र ढुंगामाटामा पनि स्पष्ट देखिन्छ । तैजस अग्निले आत्माको काम गर्दछ र नै शरीर क्रमिक रूपमा बढ्छ र यो सरिसृपादिदेखि वृक्षपर्यन्त रहेको हुन्छ । वैज्ञानिक पनि हरिया खरपात वृक्ष वनस्पतिलाई लिभिङथिङ्स मान्छन् । जहाँ जहाँ क्रमिक वृद्धि देखिन्छ त्यहाँ यसका सत्ताको अनुमान स्वतः नै हुन्छ । तेस्रो प्राज्ञात्मा जो ज्ञान, इच्छा, सुख, दुःखादिको आश्रय बनेर रहेको हुन्छ ।

यी तीनवटैको आयतन चाहिँ क्रमशः अग्नि, वायु र सूर्यका अंश हुन् भनेर श्रुतिले बताएका छन् । कार्य भेदबाट प्रज्ञानात्मालाई फेरि तीन प्रकारमा विभाजन गरेको भेटिन्छ । कर्मात्मा, चिदाभास र चिदात्मा । राम्रानराम्रा उचित अनुचित काममा शरीरलाई प्रवृत्त गराउने चैतन्यांशलाई कर्मात्मा भनिन्छ । राम्री केटीको मन राम्रा केटामा र केटाको मन केटीमा सल्काउने पनि यही हो । कर्म जनित संस्कार पनि यसैमा रहेको हुन्छ र मीमांसामा यसलाई ‘अपूर्व’ पदबाट, न्यायमा धर्मअधर्म र लौकिक भाषामा पुण्यपाप जस्ता शब्दसंकेतबाट व्यवहार गरेको भेटिन्छ ।

सूर्यको प्रतिबिम्ब सरोवर आदिमा पर्दा त्यहाँका पानीले सूर्यकै चमक लिएर चमक विस्तार गर्छ भनेर चिदाभासको कुरो वेदान्तादि दर्शनले बताएका छन् । यसैलाई व्यावहारिक शरीर मानिन्छ किनभने शरीर, मन, बुद्धि आदिमा चैतन्यको सञ्चार नै चिदाभास हो ।

अब प्रश्न के उठ्छ भने कर्मात्मा भूतात्माकै एउटा अवस्था हो र भूतात्मा भूतमा अनुस्यूत अग्निको परिणाम हो । यस अवस्थामा भूतैभूतमा चैतन्य कहाँबाट आयो ? यसको उत्तर भने चित्तबुझ्दो भेटिँदैन किनभने हाम्रा वेदानुयायी दर्शन शास्त्रले अत्यन्त स्वच्छताका कारण यसमा चिदात्माको चैतन्य प्रतिबिम्बित भएको हुन्छ भनेका छन् । त्यसो भए त चन्द्रमाले तातो किन नदिएको ? किनभने चन्द्रमा स्वच्छ पनि छ र प्रकाश गुमाएको हुनाले सूर्यको प्रकाश ग्रहण गरेर चम्कन्छ भन्ने आधुनिक विज्ञानीको मत छ भनेर प्रश्न गरे उत्तर छैन ।

सूर्यको प्रतिबिम्ब सरोवर आदिमा पर्दा त्यहाँका पानीले सूर्यकै चमक लिएर चमक विस्तार गर्छ भनेर चिदाभासको कुरो वेदान्तादि दर्शनले बताएका छन् । यसैलाई व्यावहारिक शरीर मानिन्छ किनभने शरीर, मन, बुद्धि आदिमा चैतन्यको सञ्चार नै चिदाभास हो । यस चिदाभासलाई उत्पादन गर्ने मूलबिम्ब चिदात्मा नामबाट प्रसिद्ध छ र यही ईश्वरको अंश पनि मानिन्छ । यसलाई दार्शनिक भाषामा प्रत्यगात्मा भनिन्छ । ईश्वर सबै भूतका हृदयमा निवास गर्दछ । यो वास्तवमा यन्त्रारुढ प्राणी जस्तैगरी आफ्ना मायाले सबैलाई घुमाउँछ । भागवद्गीताले...यन्त्रारुढानि मायया.. भनेर पनि यसै प्रसंगलाई पुष्टि गरेको देखिन्छ ।

उपनिषत्मा पनि अन्तर्यामि रूपबाट सबैमा व्याप्त रहेर नियमन गर्ने तत्वका रूपमा यसैलाई औंल्याइएको देखिन्छ । मनुष्यादि प्राणीमा यो पनि तीन रूपमा अवस्थित रहेको मानिन्छ । विभूति, श्री र ऊज्र्जका नामबाट सम्बोधित भएको देखिन्छ । ईश्वरबाट उत्पादित प्राणीहरूमा व्याप्त अरू तीन प्रकारका बल छन् ब्रहृमबल, क्षत्रबल र विड्बल । ब्रहृमबल भनेको विभूति हो, क्षत्रबललाई ऊज्र्ज भनिन्छ भने विड्बललाई श्री भनेको देखिन्छ । यिनै बलको जहाँ विशेष अधिकता देखिन्छ त्यसैलाई ईश्वरावतार मानेको देखिन्छ शास्त्रमा । उदाहरणार्थ
यद्यद् विभूतिमत्सत्वं श्रीमदूर्जितमेव वा ।
तत्तदेवावगच्छ त्वं मम तेजोंशसम्भवम् ।।
गीताका यस पद्यमा भनिएका तीन बलका कारणले नै ईश्वरांश या ईश्वरावतार भनेर मान्नुपर्छ भनेर भनेको भेटिन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2022-08-10 7:57 am

manan yogya

छुटाउनुभयो कि ?