परराष्ट्रमन्त्री खड्का चीनमा, चिनियाँ समकक्षी वाङलाई भेट्दै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । औपचारिक भ्रमणका क्रममा मंगलबार राति चीन प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री डा‍‍. नारायण खड्का बुधवार बिहान साङदोङ प्रान्तको छङ्दाओ सहर पुग्नुभएको छ । उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई विमानस्थलमा चिनियॉ विदेश मन्त्रालयका अधिकारी, नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयक सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल रहनुभएको छ ।

त्यस्तै चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख कौशल किशोर रायसमेत भ्रमण टोलीमा हुनुहुन्छ ।

त्यस्तै गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्र मन्त्रालयकी उपसचिवद्वय शिवानी बस्नेत र ललिता सिलवाल, परराष्ट्र मन्त्रालयकै शाखा अधिकृत बलिरामप्रसाद धामी, भुवन पौडेल र नायब सुब्बा तुलसी प्रसाद कोइराला भ्रमण टोलीमा रहनुभएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काले आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ। चिनियाँ विदेश मन्त्री यीले परराष्ट्रमन्त्री खड्काको सम्मानमा भोजको आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ। यो बाहेक अरु भेटवार्ताको आजका लागि नरहेको मन्त्रालयले जनाएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि नेपाल सरकारबाट पहिलोपटक चीनको औपचारिक भ्रमण भएको हो । वाङले गत २ कात्तिकको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिनुभएको थियो । परराष्ट्र मन्त्रालयले शुक्रबार खड्काको चीन भ्रमणबारे औपचारिक जानकारी दिएको थियो । औपचारिक भेटवार्ता सकेर परराष्ट्रमन्त्री खड्का बिहीबार स्वदेश फर्किनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?