जगन्नाथ धाममा रथयात्रा, ३७ पाथी चामलको खिर भोग लगाइयो

हिमालय टाइम्स
Read Time = 7 mins

ध्रुवसागर शर्मा 

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-५ गाजेनमा अवस्थित गण्डकी प्रदेशको एकमात्र जगन्नाथ मन्दिरमा मंगलवार सरकारी भोज र रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।

कार्यक्रमका अतिथिहरू, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासी लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन् ।

जगन्नाथको रथयात्रा भजनकीर्तन गरी मन्दिर परिसरमा परिक्रमा गराइएको थियो । सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ ।

रथयात्रा कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगर क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले जगन्नाथ मन्दिरको महत्व ऐतिहासिक रहेको भन्दै नगरपािलका मार्फत मन्दिरको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

नगरपािलकामार्फत बेनी लभ्लीहि र पुलस्त्य पुलहाश्रम हुँदै जगन्नाथ, केभहिलसम्म केबुलकार संचालन गर्न आवश्यक तयारी थालिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बेनी नगरपालिका ५ पुलाचौरका वडाअध्यक्ष गोविन्द बानियाँ र गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दीपक पौडेलले जगन्नाथधामलाई धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा सरकारी भोजको समेत आयोजना गरिएको थियो । जनप्रतिनिधि, सरकारी अधिकारी, भक्तजन र संचारकर्मीले सरकारी भोज खाएका थिए । सरकारी भोजमा ३७ पाथी चामलको खिर पकाएर भगवान जगन्नाथलाई भोग लगाएपछि उपस्थित भक्तजन, जनप्रतिनिधि र अतिथीहरुले प्रसादस्वरुप भोज खाएका थिए । सरकारी भोज खानका लागि म्याग्दी, पर्वत, बागलुङ, पोखरा, चितवन, नवलपुर लगायतका ठाउँहरूबाट भक्तजनहरू आएका जगन्नाथ मन्दिर गुठी संचालन तथा व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिनुभयो ।

सिंजा साम्राज्यको पतनपछि कर्णाली प्रदेशमा बाइसी राज्यहरू र गण्डकी प्रदेशमा चौबीसे राज्यहरू आस्तित्वमा आएपछि चौबिसे राज्यमध्ये एतिहासिक पर्वत राज्यका समालबंशी तृतीय मल्लराजा दिलिप बम मल्ल (डिम्बले) अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको भनाइ रहेको छ । गाजने गाउँको बीच भाग हलहलेचौरमा भगवान् जगन्नाथको मन्दिर रहेको छ ।

मन्दिरबाट १० मिनेटको पैदलयात्रामा केभहिल पर्दछ । जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याएर मन्दिरको स्थापना गरेको किंवदन्ती पाइन्छ ।

पर्यटकीयस्थल केभहिल र डढेकोटको डिलबाट मौसम खुलेको समयमा चारैतिरको मनोरम दृश्यहरु अवलोकन गर्न पाइन्छ । यहाँबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण, निलगिरी, माछापुच्छ्रे, मानापाथी, गणेश, गूर्जा लगायतका दर्जन बढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । म्याग्दीको बेनी नगरपालिकासहित ६ वटै पालिकाहरु देखिने केभहिलबाट म्याग्दी जिल्लाको साविकका ४१ मध्ये ३६ वटा गाविसहरु प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।

केभहिल पुग्न म्याग्दी सदरमुकाम बेनीदेखि गाजने गाउँका लागि जीप पाइन्छ । जीपबाट ४५ मिनेटमा पुगिने गाजनेमा जगन्नाथको दर्शनपछि केभहिल गएर रमाउन सकिन्छ । झण्डै ४ घण्टाको पैदलयात्रामा गाजने पुग्न सकिन्छ भने पदयात्रा गर्न रुचनाउनेहरुका लागि बेनी-गुफा-पुलहाश्रम-ढोल्ठान हुँदै जगन्नाथ र केभहिलमा पुगिन्छ । यस रुटमा धौलागिरि बेसक्याम्प जाने जिल्ला सदरमुकाम बेनी र पर्यटकीयस्थल टोड्केबाट पदमार्ग निर्माण थालिएको छ ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर क्षेत्रभित्र पर्ने पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुमा भौतिक पूर्वाधारहरुको विस्तार गरी पर्यटन प्रवर्द्धन गरिने बताउनुभयो । उहाँले बेनीको लभ्लीहिल हुँदै पुलस्त्य पुलहाश्रम, जगन्नाथ र केभहिल जाने केबुलकार निर्माण गर्नका लागि आवश्यक तयारी थालिएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?