अविरल वर्षासँगै आएको बाढीले भक्तपुरमा लाखाैंकाे क्षति

हिमालय टाइम्स
Read Time = 3 mins

भक्तपुर । अविरल वर्षासँगै आएको बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनोहरा खोलाको डुवान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्बासी बस्तीमा लाखाैंकाे क्षति पुगेको हो ।

ती स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाका कारण मानवीय क्षति भने हुन नपाएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताउनुभयाे ।

वर्षाका कारण चाँगुनारायण नगरपालिका-४ मनोहरा खोला निलोपुल नजिक सुनसरी घर भई हाल सोही स्थानमा बसी बंगुर फर्म सञ्चालन गर्ने हरि राईको बंगुर फर्मबाट खोलाले चारवटा बंगुर बगाएको छ । चांगुनाररायण नगरपालिका-१ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घरटहरामा पानी पसेपछि मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

मध्यपुर ठिमी नगरपालिका-२ मनोहरा खोला किनार दिब्यश्वरी प्लानिङस्थित सोही स्थान बस्ने अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएकोमा फर्ममा रहेका पाँंच सयवटा हाँस, दुई सयवटा बंगुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घरटहरामा पानी पसेको छ । मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमी मनोहरा खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका-७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका वर्ष ७० को पेमा तामाङको टहराभित्र रहेको २६ बोरा चामलमा पानीले क्षति भएको र गिरिराज कुखुराको चल्ला ४५ वटा बगाएको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?