पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा ल्याइने : मन्त्री श्रेष्ठ

Read Time = 4 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

बुधवार समाजवादी प्रेस संगठनले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नागरिक उडड्यन प्राधिकरणको सोमवारको बोर्ड बैठकले अंग्रेजी नयाँ वर्ष जनावरी १ तारिक अर्थात पुस १७ गते सञ्चालनमा ल्याउने निर्णय गरेको बताउनु भयो । उहाँले विमानस्थल सञ्चालन गर्नुभन्दा पहिला रिठ्ठेपानी डाँडा कटान र ल्याण्डफिल साइट स्थानान्तरण अनिवार्य रुपमा गर्नुपर्ने देखिएको बताउनु भयो ।
मन्त्री श्रेष्ठले रिठ्ठेपानी डाँडा कटान तत्काल अघि बढाउने निर्णय भइसकेको बताउनु भयो । उहाँले पोखराको फोहोर व्यवस्थापन गर्ने स्थान ल्याण्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिवद्धता जनाएको बताउनु भयो । पर्यटन मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि एयर रुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीसँग समन्वय गर्ने कुरा सँगसँगै अघि बढ्ने जानकारी दिनुभयो । पोखराको ब्राण्डको रुपमा परिचित शाहसिक प्याराग्लाइडिङ जोगाउन सकेसम्म उपाय खोजिने बताउनु भयो ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि हालको विमानस्थलबारे के गर्ने भन्ने कुनै निर्णय नभएको तर सञ्चालनमा नभएका एयरपोर्टलाई वैकल्पिक व्यवस्थापन गर्ने, पर्यटनमा आधारित शाहसिक खेलको रुपमा र पर्यटनमा आधारित रहेर विकास गर्ने नीतिगत निर्णय भएको बताउनु भयो ।
पोखराको चाउथेमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म टर्मिनल भवन, पेरीफेरि रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङका लागि भौतिक संरचना बनिसकेका छन् । विमानस्थलको बाधक रुपमा रहेको पूर्वको रिठ्ठेपानी डाँडा कटानका लागि इआइए स्वीकृत भई हालसम्म ६ सय रुख कटान भइसकेको छ । परीक्षण उडानका लागि डाँडा कम्तीमा १४ मिटर काट्नुपर्छ । डाँडा कटान गरेर निस्किएको माटोले ल्याण्डफिल साइट पुर्ने तयारी छ । तर पोखरा महानगरले पटक–पटक ल्याण्डफिल स्थानान्तरणमा तयारीमा रहे पनि ठोस निर्णय गर्न सकेको छैन । विमानस्थलभन्दा करिव २ किलोमिटर नजिकको ल्याण्डफिल साइटमा पोखराको दैनिक २ सय टन फोहोर पुग्ने गरेको छ । नागरिक उड्डयन प्राधिकरणले १ वर्ष समय थप गरेर सन् २०२२ जुलाई १० को समयसीमा कायम थियो । विमानस्थलबाट दैनिक ६ अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?