आँखा अस्पताल स्थापना गर्दै हिमा 

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले गाउँका स्थानीय बासिन्दाको सहजताका लागि गाउँमै आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । हिमालय आँखा उपचार केन्द्र पोखराले हिमा गाउँपालिकालाई गाउँपालिकास्तरीय आँखा उपचार केन्द्र स्थापनाका लागि निःशुल्क स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

हिमा गाउँपालिका जुम्ला र हिमालयन आँखा उपचार केन्द्र पोखराबीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौताअनुसार आँखा उपचार केन्द्र स्थापनाका लागि निःशुल्क स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । पालिकाले आँखा उपचार केन्द्र स्थापना गर्ने निर्णयसमेत गरेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनुभयो ।

गाउँपालिका र हिमालय आँखा उपचार केन्द्र पोखराबीच भएको दुईपक्षीय सम्झौताअनुसार केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । पालिकामा आँखा उपचार केन्द्र स्थापना नहुँदा यहाँका स्थानीयवासीलाई सास्ती भएको थियो ।

आँखामा केही समस्या आयो भने जुम्ला सदरमुकाम खलंगा जानका लागि खर्च पनि बढी हुने गरेको थियो । अब गाउँपालिकाले आफ्नै आँखा उपचार केन्द्र स्थापना गरी छिट्टै सञ्चालन गरिने गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो । स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयको सात करोड ११ लाख रुपैयाँको लागतमा हिमा गाउँपालिकामा पालिकास्तरीय आँखा अस्पताल निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?