नीलकण्ठ नगरपालिका धादिङले पायो नीलकण्ठ बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने अनुमति पत्र

हिमालय टाइम्स
Read Time = 4 mins

-बाबुराम श्रेष्ठ

धादिङ । नीलकण्ठ नगरपालिका धादिङले नीलकण्ठ बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने अनुमति पत्र प्राप्त गरेको छ । नगरपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति प्राप्त गरेसँगै कक्षा सञ्चालनका लागि अनुमति पाएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटिई) बाट नीलकण्ठ नगरपालिकाको बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि अनुमति पाएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साउन १२ गते बसेको १९० औँ बैठकबाट जारी भएको कार्यक्रम सञ्चालन गर्न बहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको हो । नीलकण्ठ नगरपालिकाले बहुप्रादेशिक शिक्षालय सञ्चालनका लागि सिटिइभिटिईसँग अनुमतिका लागि आवेदन दिएको थियो । स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको सिटिइभिटिईले भीमदत्त नगरपालिकालाई चालु शैक्षिक सत्र २०७९/०८० बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको छ ।

सिटिइभिटिईले प्रमाणपत्र तहका सात विषयका कार्यक्रम सञ्चालन गर्न, भौतिक सामग्री तथा मेसिन औजार र प्रशिक्षकको व्यवस्थापन पूर्वाधार निर्देशिका, पाठ्यक्रमबमोजिम गुणस्तरीय प्रशिक्षकका लागि व्यवस्था गर्न अनुमति दिएको नीलकण्ठ नगरपालिकाले जनाएको छ । नगरप्रमुख भीमप्रसाद ढुंगाना, उपप्रमुख दीपक विश्वकर्मासहितको टोलीले अनुमति प्राप्त भएको चिठी बुझ्नुभएको छ । नगरपालिकाले डिप्लोमा इन इन्जिनियरिङ (स्पेसल हाइड्रो पावर) ४० र अटोमोबाइल २४ सिटमा यसै शैक्षिक सत्रबाट कक्षा सुरु गर्ने भएको छ ।

फार्मेसी चिकित्सा शिक्षा भने आयोगको केही प्रक्रिया पूरा गरेपछि मात्र सञ्चालन गरिने भएको छ । भौतिक पूर्वाधार कक्षाकोठा, प्रयोगशाला, कार्यशालाहरू, पुस्तकालय, मानव संसाधन र प्रयोगात्मक अभ्यासको सम्पूर्ण तयारीका लागि नीलकण्ठ नगरपालिकाले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको नगरप्रमुख भीमप्रसाद ढुंगानाले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा आफूहरूले अघि सारेको प्रतिबद्धता र जनताको चाहना, समयसापेक्ष शिक्षाको मागअनुरूप बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको नगरप्रमुख ढुंगानाले बताउनुभयो । नीलकण्ठ बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाउनु र यसै आर्थिक वर्षबाट कक्षा सञ्चालन हुनु गौरवको कुरा भएको नगर उपप्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

आफ्नो एक दशकको सपना पूरा भएको भन्दै उपप्रमुख विश्वकर्माले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । बाहिर गएर बढी शुल्क तिरेर पढ्नुपर्ने बाध्यता हट्ने भन्दै विश्वकर्माले यसले दक्ष जनशक्तिसमेत उत्पादन हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?