-प्रकाश नेपाल
इलाम । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताले २०७५ पुसमा तामझामका साथ राँके-रवि-भेडेटार सडकको कालोपत्रे गर्ने कामको शिलन्यास गर्नुभयोे । शिलान्यास हुँदै गर्दा इलाम र पाँचथरका बासिन्दाको मुहारमा हर्ष र उमंग थेगिनसक्ने गरी भरियो । आशा थियो अब चाँडै कालोपत्रे सडकमा हुइँकेर तराईका जिल्ला साथै राजधानी पुग्न पाइने तर त्यो चाहना बुनेको पनि वर्षौं बित्यो, सडकको अवस्था अझ दयनीय बन्यो, सपना सपनामै बिलाएर गयो ।
राँके-रवि-भेडेटार सडकको अवस्था अहिले दयनीय बनेको छ । ओलीसहितका नेताले कालोपत्रे गर्ने कामको शिलान्यास गरेसँगै समयमा सडक कालोपत्रे हुन्छ भन्नेमा सर्वसाधारण ढुक्क थिए । तर, ठेकेदारले सम्झौताअनुसार तीन वर्षमा सक्नुपर्ने कालोपत्रे सुरुवात नै गर्न सकेन ।
समयमा नै काम सक्ने वातावरण मिलाउन इलाम र पाँचथरका नागरिकले जिल्लाको प्रतिनिधित्व गरेर केन्द्रमा रहेका एमाले नेताद्वय सुवासचन्द्र नेम्वाङ र वसन्तकुमार नेम्वाङलाई पटक-पटक आग्रह गरे । तर, उहाँहरूले कुनै पहल नै नगरेको स्थानीयको आरोप छ । समयमा सडक कालोपत्रे नभएपछि नेताप्रति सर्वसाधारणको विश्वास घट्दो रहेको पाँचथरका स्थानीय सिंहराज नेम्वाङको भनाइ छ । नेम्वाङले पाँचथर र इलामका दुवै नेताले चुनाव जितेर गएपछि काम नगरेको बताउनुभयो ।
इलाम र पाँचथरका धेरै नेताले यो सडकलाई चुनावका बेला चासोका साथ हेर्छन् । उनीहरूले विकास निर्माणका धेरै भाषण गरे पनि चुनाव जितेर गएपछि जनताका दुःख बिर्सने गर्छन् । सडक नबनेकै कारण यस क्षेत्रका नागरिककोे जीवनस्तरमा कुनै परिवर्तन हुन सकेको छैन । सडक कालोपत्रे भएपछि आमनागरिकको दैनिकीमा ठूलो परिवर्तन हुने अपेक्षा थियो । तर, आधारभूत आवश्यकताबाट नै यहाँका नागरिक वञ्चित हुनुपरेपछि धेरैले आफ्नो थातथलो छोडेर अन्यत्रै स्थानमा बसाइ सरेका छन् ।
भारतीय एक्जिम बैंकको ऋण सहयोगमा कालोपत्रे गर्ने कामको जिम्मा भारतीय कम्पनी एप्को इन्फारिचलाई सुम्पिएको थियो । तर, ठेकेदारले यतिका वर्ष बित्दासमेत १८ प्रतिशतमात्र काम गरेको छ । राँक-रवि हुँदै भेडेटारसम्म एक सय किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा हाल निर्माण कार्य ठप्प छ भने उक्त निमार्ण कम्पनीलाई कारबाही गर्नुपर्ने फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको भनाइ छ ।
यता चुनावको मुखमा सडककै कारण नेताप्रति आमनागरिकको वितृष्णा चुलिएपछि इलाम, पाँचथर, धनकुटालगायतका नेताले यो कम्पनीसँगको सम्झौता रद्द गर्न माग गर्दै सरकारलाई पत्र लेखेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका