उर्लिएको निसीखोलामाथि आधारभूत अस्पताल

हिमालय टाइम्स
Read Time = 7 mins

-डम्मर बुढा मगर

बागलुङ । यतिबेला एउटा तस्बिर सामाजिक सञ्जालमा खुब भाइरल छ । जुन तस्बिर हो, निसीखोला गाउँपालिका-४ झिम्पामा निर्माणाधीन पालिकास्तरीय आधारभूत अस्पतालको । एक वर्षअगाडि निसीखोला गाउँपालिकाले केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट अस्पताल निर्माण गर्न थालेको थियो । गत वर्ष मंसिर १५ गते अस्पतालको शिलान्यास गरिएको थियो । अस्पताल निर्माणका लागि गाउँपालिकाले १० करोड ९४ लाखको स्टिमेट गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरी जिम्मा लिएको छ । अस्पताल १० शøयाको निर्माण हुने जनाइएको छ ।

आगामी २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको अस्पताल निसीखोलाको छेउमा छ । हिउँदको समयमा खासै जोखिममा नहरे पनि वर्षातको समयमा भने निसीखोला उर्लिएर निर्माणाधीन अस्पतालको नजिक पुग्ने गर्छ ।

केही दिनअगाडि सामाजिक सञ्जाल फेसबुकमा आएको एउटा तस्बिरमा निर्धाणाधीन अस्पताल र त्यसनजिकै निसीखोला उर्लिएको देखिन्छ । यस विषयमा केही व्यक्तिहरूले हस्पिटल जोखिममा रहेको भन्दै निर्माण कार्य रोक्नुपर्ने प्रतिक्रिया दिएका छन् भने केहीले तटबन्ध बनाई निर्माणलाई तीव्रता दिनुपर्ने मत राखेका छन् ।

निःशुल्क जग्गा व्यवस्थापन र सबैको सहमतिमा अस्पताल निर्माण

निसीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले कार्यपालिकाको निर्णय र सबैको सहमतिमा झिम्पामा अस्पताल निर्माण गर्न थालेको बताउनुभयो । उहाँले अहिले निर्माणाधीन अस्पताल आठ रोपनीभन्दा बढी क्षेत्रफलमा रहेको भन्दै यो जग्गा निःशुल्क प्राप्त भएको बताउनुभयो । ‘अस्पताल कसैको व्यक्तिगत स्वार्थमा बन्न लागेको होइन, केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन थालेको हो, पालिकाका प्रत्येक वडामा गौरवका योजनाहरू निर्माण गर्ने नीतिअनुसार यहाँ अस्पताल बन्न थालेको हो, अन्य ठाउँमा पनि जग्गा खोजियो, निःशुल्क पाउन सकिएन, यो ठाउँमा यहाँका स्थानीयहरूले निःशुल्क आठ रोपनीभन्दा बढी जग्गा दिनुभयो,’ निवर्तमान अध्यक्ष पौडेलले भन्नुभयो, ‘खोलाको सेन्टरको हिसाबले पनि यो ठाउँ सेन्टरमा रहृयो त्यसले गर्दा यहाँ अस्पताल निर्माण गर्न सुरु भएको हो ।’

पौडेलले अस्पताल खोलाको छेउमा भए पनि त्यसको संरक्षणका लागि गाउँपालिकाले तटबन्ध गर्न सके सुरक्षित हुने बताउनुभयो । उहाँले गाउँपालिकाले जग्गा छनोट गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलगायतको टोलीले त्यस ठाउँको निरीक्षण गरी अस्पताल निर्माणका लागि उपयुक्त भएको भनेपछि आफूहरूले निर्माण अगाडि बढाएको बताउनुभयो ।

‘अहिले बन्न थालेको अस्पताल खोलाको छेउमा छ, अहिले विरोध गर्नेहरूले पनि यहाँ अस्पताल बनाउने बेला सहमति जनाएका थिए, अस्पताललाई जानाजान जोखिममा पार्ने काम त कसले गर्छ र ?, अहिले जसरी जोखिम-जोखिम भनेर एउटा तस्बिरलाई हेरेर वादविवाद भएको छ नि फिल्डमा आएर हेर्दा त्यस्तो छैन,’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाले तटबन्ध ग¥यो भने अस्पताल कुनै पनि हालतमा जोखिममा पर्दैन, हामीले पनि गत वर्ष तटबन्धन गर्ने छलफल गरेका थियौँ, पालिकाले अब तटबन्धनलाई जोड दिनुपर्छ ।’

अस्पताल बनाउन १५ जना स्थानीयले निःशुल्क जग्गा प्रदान गरेका छन् । अस्पताल विशेष गरी गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । झिम्पा गाउँको फेदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका हजारौँ नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने अपेक्षा लिइएको छ ।

अस्पताल क्षेत्रको संरक्षण जसरी पनि गछौँ : वडाध्यक्ष पौडेल

निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टिकानिधि पौडेलले जग्गा व्यवस्थापन नहुँदा यो ठाउँमा अस्पताल निर्माण गर्न थालेको बताउनुभयो । उहाँले अस्पताल बन्ने स्थल खोलाको जोखिममा रहे पनि त्यसको संरक्षणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो ।

‘अस्पताल बनाउनका लागि धेरै ठाउँमा जग्गा हेरियो, अन्तिममा यहाँ जग्गा निःशुल्क पाइयो, नागरिकलाई सेन्टर पनि पर्ने, अलिकति खोलाको डर हो, त्यसका लागि त्यति धेरै समस्या छैन,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘अस्पतालको संरक्षणका लागि गाउँपालिकाले तटबन्धन गर्ने भएको छ, यहाँ तटबन्धन गर्नका लागि २० लाख रुपैयाँ विनियोजनसमेत भएको छ, सामाजिक सञ्जालमा हो-हल्ला गरेर केही हुँदैन, बरु यसको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरे राम्रो हुन्छ ।’

उहाँले अस्पताल क्षेत्रलाई खोलाको जोखिमबाट बचाउन गाउँपालिका गम्भीर भएर लागेको भन्दै यस विषयमा अनावश्यक अफवाह नफैलाउनसमेत आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?