पाँच महिनापछि ज्ञानेन्द्रको पुनरागमन

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पाँच महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गर्नुभएको छ । अर्को महिना केन्यासँग हुने पाँच टी-२० आई र तीन एकदिवसीय अभ्यास खेलका लागि ज्ञानेन्द्रलाई नेपाली टोलीमा बोलाइएको हो ।

लगातार खराब प्रदर्शनपछि ज्ञानेन्द्र गत मार्चमा युएईमा सम्पन्न आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजपछि टोलीबाहिर हुनुहुन्थ्यो । पछिल्लो समय टोलीको लगातार खराब प्रदर्शन र युवा खेलाडीले राम्रो प्रदर्शन नगरेपछि ज्ञानेन्द्र टोलीमा फर्किनुभएको हो ।

यस्तै, घोषित टोलीबाट युवा ओपनर कुशल भुर्तेल र विकेटकिपर विनोद भण्डारी बाहिरिनुभएको छ । कुशल नेपाली क्रिकेट टोलीबाट झण्डै डेढ वर्षपछि बाहिरिनुभएको हो । २०७८ को वैशाखमा (२०२१ अप्रिल) कुशलले नेदरल्यान्ड्स र मलेसियाविरुद्धको टी-२० आईबाट डेब्यु गर्नु भएयता उहाँ टोलीबाट छुट्नुभएको थिएन ।

युवा विकेटकिपर अर्जुन साउदले भने टोलीमा स्थान बनाउनुभएको थियो । विवेक यादव र साहब आलमले पनि पुनरागमन गर्नुभएको छ । विवेक नेपाली घरेलु क्रिकेटका उत्कृष्ट अलराउन्डर हुनुहुन्छ । टोलीमा रहेपछि खेल्ने मौका पाउनुभएको छ ।

केन्या र नेपालबीच पाँच टी-२० अन्तर्राष्ट्रिय (आई) र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय हुनेछन् । पहिलो खेल भदौ ९, दोस्रो भदौ १०, तेस्रो भदौ १२, चौथो भदौ १३ र पाँचौँ भदौ १४ गते हुनेछ । यस्तै तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुने तालिका तय भएको छ । नेपाल केन्यामा भदौ ७ मा (अगस्ट २३) मा जाने कार्यक्रम छ ।

घोषित नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव रहनुभएको छ । वैकल्पिक खेलाडीमा जितेन्द्र मुखिया, भिम सार्की, प्रतिश जिसी र हरिशंकर शाह हुनुहुन्छ ।

नेपालले अगस्ट अन्तिम साता एसोसिएट टोलीमध्येको सर्वाधिक सफल देश केन्यासँग सिरिज खेल्न लागेको हो केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँचपटक एकदिवसीय विश्वकप खेलेको थियो । केन्याले सन् २००० देखि २००४ सम्म गरी तीनपटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्याको स्तर धेरै खस्किएको छ । असल नेतृत्वको कमी र आन्तरिक राजनीतिका कारण कमजोर बन्दै गएको छ ।

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘बी’ खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् ।

केन्यासँग सिरिज हुने भएपछि नेपाली खेलाडीहरूसमेत उत्साहित रहेका छन् । नेपालको एकदिवसीय स्टाटसका लागि यो सिरिज महत्वपूर्ण हुने कप्तान सन्दीप लामिछाने बताउनुहुन्छ । केन्याविरुद्धको सकारात्मक नतिजाले नेपाली क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।

वरीयता
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टी-ट्वान्टीको ब्याटिङ वरीयता यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र ४२औँ स्थानमा यथावत् रहनुभएको छ ।

अलराउन्डरतर्फ पनि दीपेन्द्र ८औँ स्थानमा यथावत् रहनुभएको छ । ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८औँ स्थानमा यथावत रहनुभएको छ । ब्याटिङतर्फ आसिफ शेख एक स्थान तल झर्दै ९८औँ स्थानमा रहनुभएको छ ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१औँ स्थानमा यथावत् रहनुभएको छ । बलिङमै अविनाश बोहरा दुई स्थान तल झरेर ९४औँ स्थानमा रहनुभएको छ ।

नेपाली राष्ट्रिय टोलीका सदस्य सीता राना मगरको आइसिसी महिला टी-ट्वान्टी वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा सीताको ब्याटिङ वरीयतामा दुई स्थान सुधार भएको हो । ब्याटिङ वरीयतामा सीता ६२औँ स्थानमा उक्लिनुभएको छ ।

ब्याटिङतर्फ नै नेपालकी ज्योति पाण्डेले शीर्ष १०० को स्थान गुमाउनुभएको छ । यस्तै बलिङतर्फ नेपालकी कविता कुँवर दुई स्थान तल झर्दै ७८औँ स्थानमा रहनुभएको छ । बलिङमा सीता चार स्थान तल झरेर ८७औँ स्थानमा रहँदा कप्तान रुविना क्षेत्री चार स्थान तल झरेर ८८औँ स्थानमा रहनुभएको छ । आइसिसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?