‘काँडेतार’ लाई शीर्ष नेताहरूद्वारा शुभकामना

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘काँडेतार’लाई विभिन्न दलका शीर्ष नेताहरूद्वारा शुभकामना दिनुभएको छ । बुधबार राजधानीमा आयोजना गरिएको ‘चलचित्र काँडेतार, नेपाल र छिमेकीसँगको सम्मुनत सम्बन्धको लागि प्रस्तावना’ भन्ने कार्यक्रममा उनीहरूले शुभकामना दिनुभएको हो । कार्यक्रममा बोल्ने वक्ताहरू एमाले नेता डा. भीमबहादुर रावल, माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले उक्त चलचित्रको सफलताको कामना गर्नुभएको थियो ।

काँडेतारका नायक तथा निर्माता नवल खड्काले आफूहरूले देशको सिमाना रक्षाका लागि चलचित्र बनाएको र वर्षौंदेखि अभियान चलाउँदै आएको बताउनुभयो । उहाँले खुला सिमाना नेपालका लागि घातक छ भन्ने कुरा घामजत्तिकै छर्लङ भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘काँडेतार चलचित्र बनिसकेको छ । देशभक्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट पाउनुपर्ने साथ र सहयोग पाएका छैनौं । दशगजा, भीमदत्तजस्ता चलचित्रमा सेन्सर लगाउने काम भएको थियो । देशभक्तहरूमाथि प्रहार हुने गरेको छ । पुर्खाहरूले लडेर जोगाएको भूमि हामीले जोगाउनुपर्छ । यदि हामीले समयममै यी कुरा समाधान गर्न सकेनौं भने हाम्रो नियती प्यालेस्टाइनजस्तो हुन्छ । समुन्द्र नभएका देशहरूले काँडेतार लगाएका छन् । सिमानामा काँडेतार नहुँदा कोरोनाकालमा महामारी छिर्ने सुरुङमार्ग भयो । यो चलचित्र जनजनमा पुग्नुपर्छ । यो प्रस्तावलाई चलचित्र हेरेर अनुमोदन गर्नुपर्छ ।’

कार्यक्रमको सञ्चालन पत्रकार नारायण शर्माले गर्नुभएको थियो । उहाँले भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ भनेर देशभक्तिपूर्ण भावका साथ चलचित्र नायक तथा सामाजिक अभियन्ता नवल खड्काको ‘सिमानामा काँडेतार’ पहलकदमी चलिरहेको बताउनुभयो । कार्यक्रमको समन्वय गायिका सत्यकला राईले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?