विद्युत् प्राधिकरणको नाफा १६ अर्बभन्दा बढीे

Read Time = 6 mins

काठमाडौं । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणको नाफा हृवात्तै बढेको छ । विद्युत् प्राधिकरणको वार्षिक नाफा करिब एक सय ६४ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/०७८ मा छ अर्ब १० करोड खुद नाफामा सीमित प्राधिकरणले आव २०७८/०७९ मा नाफा बढाएर १६ अर्ब नौ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । उक्त नाफासँगै प्राधिकरण सरकारी सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी आम्दानी र नाफा आर्जन गर्ने संस्था बन्न पुगेको छ । प्राधिकरणको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत् निर्यात वृद्धि भयो, प्राधिकरण स्वामित्वका विद्युत् गृहहरूबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौँ, विद्युत् चुहावट घट्यो, प्रभावकारीरूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा खुद नाफा बढेको हो ।’ घिसिङका अनुसार आव २०७२/०७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । आव २०७३/०७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव २०७६/०७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्‍याएको थियो । तर, आव २०७७/०७८ मा घटेर छ अर्ब १० करोड रुपैयाँमा झरेको थियो । प्राधिकरणले विद्युत् बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत् महसुल संकलन विनियमावलीबमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिएको छ । जसका कारण विद्युत् बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

त्यस्तै प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालित अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झरेको छ । विद्युत् प्रणालीमा आव २०७२/०७३ मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षमा निरन्तर घटेर आव २०७६/०७७ मा १५.२५ प्रतिशतमा झरेको भए पनि आव २०७७/०७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो । आव २०७८/०७९ मा चुहावट नियन्त्रण थप व्यवस्थित र प्रभावकारी बनाई चुहावट अघिल्लो वर्षको तुलनामा १.८० प्रतिशतले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ । चुहावट नियन्त्रणबाट मात्रै प्राधिकरणलाई अघिल्लो वर्षको तुलनामा करिब दुई अर्ब रुपैयाँ थप आम्दानी भएको छ ।
त्यसैगरी गत आवमा भारततर्फको विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । हाल नेपालमा खपत गरी बढी भएको विद्युत् दैनिकरूपमा करिब तीन सय ६४ मेगावाटदेखि करिब चार सय मेगावाटसम्म निर्यात भइरहेको छ । आव २०७७/०७८ मा चार करोड ४० लाख युनिट विद्युत् निर्यात भएकोमा गत आवमा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । निर्यातबाट तीन अर्ब ८८ करोड रुपैयाँ आम्दानी भएको छ ।

प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा आव २०७८/०७९ मा आन्तरिक विद्युत् खपत २१.२८ प्रतिशतले वृद्धि हुँदासमेत घट्दोक्रममा रहेको छ । आन्तरिक माग धान्न आव २०७७/०७८ मा दुई अर्ब ८० करोड ६० लाख युनिट आयात गरिएकोमा गत आवमा ४५.०५ प्रतिशत घटेर एक अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ । आव २०७७/०७८ मा २१ अर्ब ८२ करोडको विद्युत् आयात भएकोमा गत आवमा घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । आयातित विद्युत्बाट निर्यात विद्युत् घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ । जुन रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाँमात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ । गत आवमा विद्युत् पिक डिमान्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ भने विद्युत् प्रयोग गर्ने ग्राहक संंख्या ५३ लाख पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?