लोपोन्मुख जातिको भाषा र पेसा संकटमा, परम्परा जीवन्त राख्ने चुनौती बढ्दै

हिमालय टाइम्स
Read Time = 6 mins

विवेक खड्का/हिटा
दाङ । दाङ लोपोन्मुख कुसुण्डा जातिसहित कुमाल, कोरी, चमार जस्ता जातिहरूको पनि बसोबास भएको जिल्ला हो । तर, अहिले ती जातिहरूको भाषा, पेसा र परम्परा भने संकटमा पर्दै गएको छ । संरक्षणमा सम्बन्धित समुदाय र राज्यको पहल नहुँदा भाषा र पेसा संकटमा परिरहेको जानकारहरूको बताउँछन् ।

कुसुण्डा जातिमा अहिले भाषालाई जीवित राख्ने चुनौती बढ्दै गएको छ । विगतदेखि भाषा संरक्षणका लागि कैयन प्रयासहरू भए पनि भाषा जानकारहरूको अभावले भाषा संरक्षणमा चुनौती थपिँदै गएको अगुवाहरूको भनाइ छ । नेपालमै कुसुण्डा भाषा बोल्ने र त्यो भाषाका विषयमा पूर्ण जानकार, भाषा संरक्षक दाङकी ज्ञानीमैया कुसुण्डाको दुई वर्ष अघि ८५ वर्षको उम्मेरमा निधन भएपछि भाषा पुस्तान्तरण हुन नसक्दा संरक्षणमा समस्या देखिएको हो ।

भाषा संरक्षणका लागि उहाँको स्थान ओगट्ने अन्य कुसुण्डा समुदायमा देखिएका छैनन् । उहाँपछि भाषा संरक्षण लोप हुने अवस्थामा पुगेको कुसुण्डा विकास समिति केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डाले बताउनुभयो । लमही नगरपालिका-६ कुल मोहर र घोराही उपमहा-नगरपालिकाका विभिन्न वडामा गरेर ७४ जना कुसुण्डा बसोबास गर्दै आएका छन् । कुसुण्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसुण्डको भाषा जोगाउन हम्मेहम्मे भएको गुनासो छ । ‘ज्ञानीमैया आफ्नो भाषालाई संस्थागत बनाउन र पुस्ता हस्तान्तरण गर्न खोज्दै हुनुहुन्थ्यो, उहाँकै आग्रहमा भाषा संरक्षण र सिकाइका लागि कुसुण्डा जातिका अन्य व्यक्तिलाई सिकाउनसमेत थालिएको थियो’, अध्यक्ष धन बहादुरले भन्नुभयो, ‘उहाँले आफूले ल्याएको योजना पूरा गर्न सक्नुभएन तर हामीले धेरथोर मात्रै प्रयास गरेका छौँ, त्यो प्रयासको प्रभावकारिता के हुने अन्योलमा नै छौँ ।’

कुसुण्डा भाषामा दोहोरो कुरा गर्ने अहिले कोही छैन । ज्ञानीमैया र उहाँको एकजना बहिनी कमला भएर दोहारो सम्वाद गर्दै आउनुभएको थियो, ज्ञानीमैया अस्ताएपछि यो अभ्यास अहिले टुटेको छ । दुईजनाले मात्रै आफ्नै भाषामा कुराकानी गर्थे, अब भाषा जगेर्ना गर्न समस्या भइरहेको छ, समितिका अध्यक्ष धनबहादुरले भन्नुभयो, हामीले केही मात्र सिकेका छौँ, तर भाषा रुजु गर्ने भाषा संरक्षकको अभाव सधँै खड्किरहेको छ ।
कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राखेको र त्यसबाट नै केही आफूहरूले सिकेको धनबहादुर बताउनुहुन्छ । कुसुण्डा जातिको जंगली जीवनको समाप्तीसँगै भाषा संस्कृति पनि संकटमा परेको उहाँको भनाइ छ । कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले कुसुण्डा भाषाको लागि मूल स्रोत नै अहिले नरहेको बताउनुभयो । आलेले भन्नुभयो, ‘ज्ञानीमैया पछि भाषा संरक्षणको मूलस्रोत हराएको छ । लोपोन्मुख कुसुण्डा भाषा पूर्णरूपमा जान्ने व्यक्ति देशभर जम्मा एकजना मात्रै रहेको र त्यो पनि ज्ञानी मायाको संगतले केही भाषा उहाँमा सरेको बताउनुभयो ।

दाङमा कुसुण्डा जातिको संख्या ७४ रहेको छ । देशभर १५६ जना रहेको कुसुण्डा जातिका मानिसहरू रहेको समाजका अध्यक्ष धनबहादुरले जानकारी दिनुभयो । अहिले दाङमा २३ जनाले दोस्रो चरणको भाषा सिकेका छन् । भाषा आयोगको आयोजनामा भाषा सिकाइएको उहाँले बताउनुभयो ।

एकीकृत बस्ती निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिले छरिएको बस्ती हुँदा भाषा संरक्षण नहुने उहाँको धारणा छ । सबै एकै ठाउँमा हुँदा मात्रै भाषाको अभ्यास हुने र संरक्षण हुने हुँदा एकीकृत बस्ती आवश्यक रहेको उहाँले बताउनुभयो । अहिले दैनिक ज्यालादारीको श्रम गरेर जीवन निर्वाह गरिरहेका छन् । लोपोन्मुख कुसुण्डा जातिको शब्दकोष निर्माण भएको छ । अहिले भाषा संरक्षणको लागि त्यो शब्दकोषको प्रयोग हुन सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?