एकरातको पानीले मनोहरा किनारको सुकुमबासी बस्ती तहसनहस, आठ सय बढी घर डुबानमा, पेप्सीकोला, प्लानिङको सडक भासियो, काँडाघारी प्रहरी कार्यालयमा समेत पानी पस्यो

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीले मनोहरा खोला आसपासका बस्ती डुबानमा परेका छन् । मंगलबार राति भारी वर्षापछि मनोहरा खोलामा आएको बाढीले आसपासका क्षेत्रमा डुबान र कटान गरेको हो । बाढीले केही घर टहराहरूमा समेत क्षति पुर्‍याइएको छ । महानगरीय प्रहरी कार्यालय भक्तपुरका अनुसार वर्षापछिको बाढीले मध्यपुरथिमि नगरपालिका-१ मनोहरा खोलाको किनारामा रहेका सुकुमबासी बस्तीका सयौँ घर डुबानमा परेका छन् । बस्तीका ८८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ । खोला किनारमा रहेको सुकुमबासी बस्तीमा कटान गरी माटोको ढिस्को खस्दा खोलाको बाढी बस्तीमा पसेको हो । मध्यराति बस्तीमा बाढी पसेपछि ज्यान जोगाउन भागाभाग मच्चिएको थियो । राति नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको थियो ।

सुकुमबासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको स्थानीयले बताएका छन् । सुकुमबासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीभित्रका बालबालिका र ज्येष्ठ नागरिक बढी मारमा परेका छन् ।

त्यस्तै, दुवाकोट बेंसीका २० वटा घर-टहरा डुबाएको छ भने आसपासका कृषि फर्महरूमा क्षति पुर्‍याएको छ । मनोहरा खोला नीलोपुलनजिक बंगुर फर्मबाट खोलाले चारवटा बंगुर बगाएको प्रहरी जनाएको छ । प्रहरीका अनुसार मध्यपुर ठिमी नगरपालिका-२ मनोहरा खोला किनारमा रहेको कृषि फर्म डुवानमा परेको छ । त्यहाँबाट ५०० वटा हाँस, २०० वटा बंगुर र दुईवटा गाई उद्धार गरिएको छ । एक अर्को फर्मबाट गिरिराज कुखुराका ४५ चल्ला बगाएको छ ।

चाँगुनारायण-१ दुवाकोट बेँसी मनोहरा खोला किनारका २० घरटहरामा पानी पसेको र एक टहरामा बस्ने चार जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनुभयो । वडा नम्बर १ मा रहेको सुकुमबासी बस्तीमा रहेका ६० घर पनि डुबानमा परेका छन् ।
मनोहरा खोलामा आएको बाढीले पेप्सीकोला, प्लानिङको सडक ठाउँ-ठाउँमा भासिएको छ । बाढीले पेप्सीकोलाबाट पुरानो ठिमी जोड्ने मनोहरा पुलमाथिको सडक पनि भत्काएको छ । पुलमाथिको सडक चर्किनुका साथै भासिएर ठूलो प्वाल परेको छ । बाढीले काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । भक्तपुरसँगै अविरल वर्षापछिको बाढीका कारण काठमाडौंका कतिपय ठाउँसमेत डुबानमा परेका छन् । वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरू डुबानमा परेका हुन् । बाढीमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

हिमालय टाइम्स छापिने आशुतोष प्रेसमा बाढी पस्यो, लाखौँको क्षति
ललितपुर बालकुमारीस्थित आशुतोष प्रिन्टर्सको कार्यालयमा मनोहरा र हनुमन्ते खोलाको बाढी पस्दा लाखौँकोे क्षति भएको छ । मंगलबार राति छापानाखामा बाढी पसेपछि छपाइमा प्रयोग हुने कागज र मसी गरी ३५ लाख बढीको क्षति पुगेको हो । आशुतोष छापाखानामा हिमालय टाइम्स राष्ट्रिय दैनिक छापिने गरेको थियो ।

मंगलबार राति साढे १ बजेतिर खोलाको पानी तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हाताभित्र रहेको आशुतोष प्रिन्टर्स भवनमा पसेको थियो । पानीले तल्लो तलामा रहेका छापाखानासम्बन्धी लाखौँका सामग्रीमा कामै नलाग्ने गरी क्षति पुगेको हिमालय टाइम्सको प्रिन्टिङ हेर्दै आउनुभएका कर्मचारी धीरेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार हिमालय टाइम्सका ३५ बण्डल कागज पानीले कामै नलाग्ने गरी बिगारेको छ । त्यस्तै, प्रेसमा प्रयोग हुने मसीलगायत मेसिनमा समेत क्षति पुगेको ठाकुरले बताउनुभयो । छापाखानामा बाढी पसेर कागजसमेत नष्ट भएपछि हिमालय टाइम्स राष्ट्रिय दैनिक अर्को प्रेसमा छाप्नुपरेको ठाकुरले बताउनुभयो ।

बाढी/पहिरो प्रभावितको व्यवस्थापन र राहतमा ध्यान दिन आग्रह

राष्ट्रियसभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सांसद विमला घिमिरेले वर्षाका कारण किसानले गत वर्ष क्षति बेहोरेको धानको राहतसमेत नपाएको बताउनुभयो । उहाँले सरकारले क्षतिको अभिलेख मात्रै संकलन गरेर क्षतिपूर्ति नदिएको अवस्थामा अहिले फेरि धानका लागि मलसमेत नपाउनु विडम्बना भएको बताउनुभयो । उहाँले बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन र राहत दिन पनि आग्रह गर्नुभयो । त्यस्तै, सांसद शारदादेवी भट्टले यस वर्ष पनि वर्षाका कारण मुलुकका धेरै क्षेत्रमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै प्रभावित नागरिकलाई उचित राहत दिन आग्रह गर्नुभयो ।

‘चुनावमा भोट माग्न र आन्दोलनमा झण्डा बोक्न सुकुमबासी चाहिन्छन्, समस्या पर्दा कसैले हेर्दैन’
‘चुनावमा नेतालाई यिनै जनता चाहिन्छन् । यिनै सुकुमबासीको मत चाहिन्छ । तर, नेताले हाम्रा दुःख कहिल्यै बुझेनन्,’ उहाँले भन्नुभयो, ‘भोट चाहिने बेला नमस्ते गर्दै आउँछन् । आन्दोलन गर्न र झण्डा बोक्न यिनै सुकुमबासी जानुपर्छ । हामीले जितायौँ । तर, समस्या पर्दा कोही न कोही । हाम्रो पीडा नेताले बुझ्दैनन् ।’

बस्तीमा बाढी पसेपछि मनोहरा किनारका सुकुमबासीको विचल्ली भएको छ । मंगलबार राति बस्तीमा पसेको बाढीले घर डुबानमा पर्नुका साथै खाद्यान्न र लत्ता कपडासमेत भिजाएपछि सुकुमबासीको विचल्ली भएको हो । पुनः बस्तीमा बाढी बस्ने डरले उनीहरू घरमा समेत बस्न नसक्ने अवस्थामा पुगेका हुन् । बाढील रातभर सुत्न नपाएको गंगा लामाले बताउनुभयो । ‘राति १० बजेदेखि पानी पर्न थालेको हो । पानी परेदेखि नै चिन्ता लागेको थियो,’ उहाँले भन्नुभयो, ‘राति १२ बजेपछि बाढी नै बस्तीमा पस्यो । रातभरि उभिएरै काट्यौँ । रात काटियो । अब के खाने, कहाँ बस्ने ? फेरि बाढी पस्ने चिन्ताले पिरोलेको छ ।’

चुनावमा भोट माग्न बस्तीमा पुग्ने नेताहरूले बाढी पस्दा वास्तै नगरेको उहाँको गुनासो छ । चुनावमा सुकुमबासी चाहिने भए पनि समस्या पर्दा कसैले नहेरेको उहाँको आरोप छ । ‘चुनावमा नेतालाई यिनै जनता चाहिन्छन् । यिनै सुकुमबासीको मत चाहिन्छ । तर, नेताले हाम्रा दुःख कहिल्यै बुझेनन्,’ उहाँले भन्नुभयो, ‘भोट चाहिने बेला नमस्ते गर्दै आउँछन् । आन्दोलन गर्न र झण्डा बोक्न यिनै सुकुमबासी जानुपर्छ । हामीले जितायौँ । तर, समस्या पर्दा कोही न कोही । हाम्रो पीडा नेताले बुझ्दैनन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?